दैलेखका तीन पालिका र भूमि आयोगबिच सम्झौता


दैलेख । लामो समयदेखि भूमिहीन बनेका र अव्यवस्थित रूपमा बसोबास गरिरहेका भूमिहीन नागरिकहरूको व्यवस्थापनका लागि दैलेखका तीन नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् ।

लालपुर्जाबिहीन नागरिकहरूको व्यवस्थापनका लागि दैलेखका ११ वटा स्थानीय तहमध्ये तीनवटा तहले आयोगसँग सम्झौता गरेका हुन् । नारायण, दुल्लु र आठबिस नगरपालिका र राष्ट्रिय भूमि आयोगबीच गत मंगलबार सम्झौता भएको हो ।

लालपुर्जाविहीन नागरिकलाई लालपुर्जा वितरण तथा उचित रूपमा बसोबासको व्यवस्थापनका लागि भूमि आयोगसँग सम्झौता गरिएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्न बहादुर खड्काले जानकारी दिनुभयो ।

सम्झौता गरिएसँगै नारायण नगरपालिकाको रातामाटे, नमूना बस्तीलगायतका पालिकाभित्रका विभिन्न स्थानहरूमा बसोबास गरिरहेका लालपुर्जाविहीन नागरिकहरूले प्रक्रियाअनुसार जग्गा प्राप्ति गर्ने बाटो खुलेको प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्लले बताउनुभयो ।

यस्तै आठबिस नगरपालिकाले पनि लालपुर्जा वितरण गर्ने अभियानअन्तर्गत आयोगसँग सम्झौता गरिएको नगरप्रमुख खड्गराज उपाध्यायले बताउनुभयो । उहाका अनुसार आयोगसँग सम्झौता भइसकेको र अब प्रक्रियागतरूपमा भूमिहीन नागरिकहरूलाई छिटोभन्दा छिटो जग्गा प्राप्तिका लागि पक्रिया अगाडि बढाइनेछ ।

यस्तै दुल्लु नगरपालिकाले पनि सम्झौता भएसँगै नगरपालिकाभित्रका भूमिहीन दलित सुकुमबासी बस्तीको पहिचान गर्ने र उनीहरूको उचित व्यवस्थापन तथा जग्गा प्राप्तिका लागि काम सुरु गर्ने जनाएको छ ।

सम्झौता गरिएका तीनवटै पालिकाहरूमा अब तत्काल चरणबद्ध रूपमा अन्तरक्रियालगायतका कार्यक्रम गरेर भूमिहीन नागरिकहरूको पहिचान तथा व्यवस्थापनका काम सुरु गर्ने राष्ट्रिय भूमि आयोग दैलेखका अध्यक्ष नयाँराम थापाले बताउनुभयो ।


प्रकाशित : २०७८ चैत्र १२, शनिबार

प्रतिक्रिया
भर्खरै प्रकाशित