धरानका मेयर साम्पाङ खानेपानीका लागि श्रमदान गर्दै


सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ राई पछिल्लो समय खानेपानीका लागि पकुवा खोलामा पुगेर श्रमदान गरिरहेका छन् । असार पहिलो साताबाटै प्रत्येक शनिबार उनी धरान ११ र २० वडाको सिमाना सर्दु खोलापारि खानेपानीको पाइप विस्तारमा स्थानीय बासिन्दासँगै खटिइरहेका छन् ।

भीरको बाटो हुँदै पाइप बिछ्याउन सहयोगका लागि उनले ‘हर्क साम्पाङ अ रिभोल्युसन’ नामको फेसबुक अकाउन्टमार्फत धरानवासीलाई आह्वान गर्दै आएका छन् ।

११ र १७ वडाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन नगर प्रमुख राई आफैं पकुवा खोलामा खटिएका हुन् । उनले अरूलाई हौस्याउँदै आफैं ढुंगा बोक्ने, पाइप घिसार्ने, बेल्चा हान्ने, गारो लगाउने र गिट्टी कुट्ने काम गरिरहेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि धेरैले प्रशंसा गरिरहेका छन् भने कतिपयले उनलाई ‘कुल्ली मेयर’ को संज्ञा दिएका छन् । उपमहानगरको विकास निर्माण र उन्नतिका लागि नीति–निर्माण र निर्देशन गर्नुपर्नेमा आफैं दौडेको आरोप लगाएका छन् ।

उनको कामलाई स्थानीय युवायुवतीदेखि बुढापाकासम्मले साथ दिएका छन् । उनकै नेतृत्वमा पकुवा खोलामा खानेपानीका लागि ट्यांकी निर्माण भइसकेको छ भने पाइप बिछ्याउँदै आइरहेको ठाउँसम्म पानी परीक्षण पनि भइरहेको छ ।

स्थानीय तह चुनावमा उनले खानेपानीलाई मुख्य एजेन्डा बनाएका थिए । त्यसैका लागि पकुवा खोलामा धाइरहेका उनले सर्दु–खर्दु जलाधारको पानी संरक्षण गरेर नगरवासीलाई पानी खुवाउने योजना बनाएका छन् । त्यसले नपुगेमा सप्तकोसीको पानी ल्याउने बताएका छन् । सप्तकोसीबाट पानी ल्याउनका लागि सम्भाव्यता अध्ययनमा जुटिरहेको उनको भनाइ छ । खानेपानीका लागि जुटिरहे पनि प्रदेश र केन्द्रले असहयोग गर्ने र बजेट नदिने संकेत पाएपछि उनले सामाजिक सञ्जालमार्फत ‘खानेपानीको समस्या समाधान गर्न सहयोग हुँदैन भने प्रदेश सरकार र संघीय सरकारको खानेपानी मन्त्रालय बन्द गर्ने माग लिएर धर्ना बस्ने’ चेतावनी दिएका छन् ।

खानेपानी पाइपलाइन विस्तार गर्ने कामसँगै उनी अर्को काममा पनि जुटेका छन्– बाँदरका लागि फलफूलका बिरुवा रोप्ने । धरान–१, २, ३ र १२, १४ का बासिन्दालाई बाँदरले सताउँदै आएको छ । घरभित्र पसेर खाद्यान्न, लत्ताकपडा नष्ट गर्ने मात्र होइन, आक्रमण गर्ने र पसलका सामान पनि खाइदिने गर्छ । बाँदर आतंक सहन नसकेर अधिकांशले आफ्नो सुन्दर घरलाई अतिरिक्त खर्च गरेर वरिपरि फलामे ग्रिल लगाउने गरेका छन् । विजयपुर क्षेत्रको जंगलमा बासस्थान रहेका बाँदरले खाने फलफूलका रूखबिरुवा नभएकाले सहर पस्ने गरेको उनको निष्कर्ष छ ।

 



प्रकाशित : २०७९ असार २७, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित