आयात प्रतिबन्ध भदौ १४ सम्म प्रतिबन्धित वस्तुको अनधिकृत आयात बढ्ने चिन्ता


सरकारले अनधिकृत पैठारीको जोखिम बढाउँदै विभिन्न १० वस्तुको आयातमा गत वैशाख १३ गते लगाएको प्रतिबन्ध लम्ब्याएको छ । असार ३१ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिबन्ध आगामी भदौ १४ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भने असार ३१ कै राजपत्रमा सूचना प्रकाशित गरी ती १० वस्तुको आयातमा आगामी भदौ १४ सम्म पूर्ण प्रतिबन्ध लगाइएको जानकारी दिएको छ । मन्त्रालयले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी सोही उपदफाको खण्ड (ञ) को उद्देश्य प्राप्त गर्न यही साउन १ देखि आगामी भदौ १४ गतेसम्म ती वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।

यसअघि मन्त्रालयले वैशाख १३ गतेको राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न १० वस्तुको आयातमा असार मसान्तसम्मका लागि प्रतिबन्ध लगाएको थियो । उक्त म्याद नसकिँदै सरकारले भदौ १४ सम्म लम्ब्याएको हो ।

आयात प्रतिबन्धको म्याद थप्ने सिलसिलामा यसपटक सरकार एक कदम अघि बढेको देखिएको छ । यसअघि २५० सीसीभन्दा माथिका मोटरसाइकल र ६०० अमेरिकी डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाएको सरकारले अहिले १५० सीसीभन्दा माथिका मोटरसाइकल र ३०० डलरभन्दा बढी मूल्यका स्मार्टफोनलाई प्रतिबन्धको सूचीमा राखेको छ ।

आयात प्रतिबन्ध लागेका अन्य वस्तुमा कुरकुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका मदिरा (औद्योगिक कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (औद्योगिक कच्चा पदार्थबाहेक), हीरा (औद्योगिक कच्चा पदार्थबाहेक), रंगीन टेलिभिजन, जीप, कार र भ्यान, सबै प्रकारका खेलौना र खेल्ने तास छन् ।

सरकारले विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि यी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

आयातकर्ता व्यवसायीले भने यो प्रतिबन्धले अनधिकृत व्यापार बढाउने चेतावनी दिएका छन् । नेपाल समुद्रपार निकासी पैठारी संघले केही दिनअघि एक विज्ञप्ति जारी गरी असारसम्म लगाइएको प्रतिबन्ध नलम्ब्याउन आग्रह गरेको थियो । प्रतिबन्धले वैधानिक आयात रोकिए पनि अवैध आयात नरोकिने संघको दाबी छ ।

संघका वरिष्ठ उपाध्यक्ष विनोद सेठिया दक्षिणको खुला सीमाबाट मोटरगाडीबाहेक आयातमा प्रतिबन्ध लागेका हरेक सामान निर्बाध आइरहेको दाबी गर्छन् । ‘मोटरगाडी चाहिँ यहाँ ल्याएर दर्ता नगरी चलाउन नपाइने भएरमात्रै रोकिएको छ, त्यसबाहेक कुनै पनि वस्तुको आयात रोकिएको छैन,’ सेठियाले भने, ‘अवैध तरीकाले आइरहेको छ ।’

खुला सिमाना भएको कुनै पनि मुलुकमा प्रतिबन्धले आयात रोक्न नसक्ने उनी बताउँछन् । २०७६ असारमै पूर्ण प्रतिबन्ध लगाइएको इनर्जी ड्रिंक्सलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले भने, ‘विदेशी इनर्जी ड्रिंक्सको आयातमा प्रतिबन्ध लागेको ३ वर्ष भइसकेको छ तैपनि बजारमा विदेशी ब्रान्डको इनर्जी ड्रिंक्स सजिलै भेटिन्छ । त्यो कहाँबाट आयो ?’

१८ सय किलोमीटरभन्दा बढी खुला सिमाना भएको नेपालमा प्रतिबन्ध लगाउँदैमा आयातनिर्यात नरोकिने सेठियाको दाबी छ । सवारीसाधन, मोटरसाइकलजस्ता यहाँ ल्याएपछि पनि दर्ता गरेरमात्र प्रयोग गर्न मिल्ने सामानको आयातमात्र प्रतिबन्धले रोक्न सक्ने उनको तर्क छ । आयातमा प्रतिबन्धले हुन्डी कारोबार पनि बढाउने र सरकारी राजस्व गुम्ने सेठियाले बताए । ‘जुनसुकै बाटोबाट ल्याए पनि सामानको पैसा त तिर्नुपर्‍यो । औपचारिक माध्यमबाट पठाउन नमिल्ने भएपछि कानूनले प्रतिबन्ध लगाएको हुन्डी कारोबार बढ्छ,’ उनले भने, ‘आयात प्रतिबन्धबाट दोहोरो घाटा हुन्छ ।’ असार तेस्रो साता धनुषामा आलुको बोरामा राखेर ओसार्दै गर्दा प्रहरीले बरामद गरेको ८३ लाख रुपैयाँको सम्बन्ध अवैध आयातसँग जोडिएको सेठियाको आशंका छ । उक्त रकम अवैध आयातको भुक्तानीमा प्रयोग गर्ने उद्देश्यले ओसारपसार भएको हुन सक्ने उनले बताए । प्रतिबन्धले इनर्जी ड्रिंक्सको जस्तै अन्य वस्तुको पनि अवैध आयात बढाउने आशंका संघको छ । संघका महासचिव मदन मित्तल लम्बिएको प्रतिबन्धले तास, खेलौना, विदेशी ब्रान्डका मदिराजस्ता वस्तुको अवैध आयात बढ्ने बताउँछन् । मदिरामा उच्च दरमा कर लाग्ने र अवैध बाटोबाट ल्याउँदा धेरै नाफा हुने हुँदा चाडपर्वको बेला यसको अनधिकृत आयात चुलिने उनको आशंका छ । ‘मदिरा आयात गर्दा ३०० प्रतिशतसम्म कर लाग्छ । त्यो छलेर ल्याउँदा व्यापक नाफा हुन्छ,’ महासचिव मित्तलले आयातमा प्रतिबन्ध नलागेको बेला पनि काठमाडौंमा ठूलो परिमाणमा अवैध विदेशी मदिरा पक्राउ परेको घटना सम्झिँदै भने, ‘मदिरा बढी खपत हुने चाडपर्व नजिकिँदै गर्दा प्रशासनले कडाइ गर्‍यो भने निकट भविष्यमा तपाईंहरूले कल्पना नै नगरेको परिमाणमा अवैध मदिरा बरामद भएको समाचार लेख्नुपर्छ ।’

गत माघको दोस्रो साता प्रहरीले काठमाडौंको बानेश्वर, कपन र रामकोटबाट २१६ कार्टुन विदेशी मदिरा बरामद गरेको थियो । रेडलेबल, एब्सोलुट, चिभास रिगलजस्ता ब्रान्डका विदेशी मदिरा त्यसबेला बरामद भएको थियो । त्यो बेला विदेशी मदिरा आयातमा प्रतिबन्ध लागेको थिएन ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले पनि सवारीसाधन आयातमा प्रतिबन्ध लम्ब्याइएकोप्रति असन्तुष्टि पोखेका छन् । थापाले कर्मचारीलाई कार्यालय पुग्न, उद्योगधन्दा र व्यवसाय चलाउन, खाद्यान्न ओसारपसार र मानिसको आवागमनका लागि नभई नहुने वस्तुलाई विलासिता र अनुत्पादक मानेर आयातमा प्रतिबन्ध लगाइन्छ भन्दै आफ्नो फेसबुक पेजमा स्टाटस लेखेर असन्तुष्टि पोखेका छन् ।Source 


प्रकाशित : २०७९ श्रावण २, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित