महाराजगञ्जमा भूकम्प प्रतिरोधी लक्जरी अपार्टमेन्ट बन्दै


काठमाडौंको महाराजगञ्जमा भूकम्प प्रतिरोधी अपार्टमेन्ट निर्माण हुने भएको छ। भूकम्प गएको ७ वर्षपछि करिब ६ अर्बको लगानीमा नयाँ अपार्टमेन्ट निर्माण गर्न लागिएको हो।

अपार्टमेन्ट निर्माण कम्पनी कर्मा ग्रुपले यसअघि बनेका अपार्टमेन्टको भन्दा फरक प्रविधि प्रयोग गरेर निर्माण गर्ने बताएको छ। पार्क भ्युबाट २ किलोमिटरभन्दा कम दूरीमा १५ तले टावर कर्मा रेसिडेन्सी निर्माण गर्न लागेको कम्पनीले जनाएको छ।

अपार्टमेन्टहरू सुरक्षित र सुविधा सम्पन्न हुने कम्पनीको दाबी छ। व्यवसायी कर्मा तेन्जिङको लगानीमा निर्माण हुन लागेको अपार्टमेन्ट ३ वर्षमा सकिने छ।

२०७२ सालको भूकम्पपछि बन्न लागेको यो अपार्टमेन्ट भूकम्प प्रतिरोधि पहिलो अपार्टमेन्ट भवन बन्ने कम्पनीको दाबी छ। २ र ३ बीएचके अपार्टमेन्ट रहने कर्मा रेसिडेन्सीमा प्राइभेट गार्डेनको समेत सुविधा उपलब्ध हुनेछ।

यस्तै हरेक समयमा चौबिसै घण्टा तातोपानी, विद्युतको सुविधा, २४० भन्दा बढी सवारी साधन पार्किङ स्पेस, हाइस्पिड इलेभेटर, स्वीमिङ पुल, जिम, साउना, जगिङ ट्रयाक, मेडिटेशन, योगा र बालबालिकाका लागि खेल्ने क्षेत्रका साथै  मन्दिरलगायतका सुविधा पनि रहने कम्पनीले जनाएको छ।

त्यस्तै निर्माणको जिम्मेवारी पाएको ए वान बिल्डर्सका अध्यक्ष भक्त लामाले करिब १२ रोपनी क्षेत्रफलमा फैलिने अपार्टमेन्टले ६ रोपनी मात्रै जग्गा ओगट्ने बताए।

नियम अनुसार ४० प्रतिशत अतिरिक्त जग्गा हुनुपर्नेमा यो भवनले ४२ प्रतिशत अतिरिक्त जग्गा छाड्ने उनको भनाइ छ।

 

अबको १८ महिनामा संरचना निर्माणको काम सकिने र बाँकी १८ महिनामा इन्टेरियर डिजाइनको काम पूरा गर्ने कर्माको योजना छ। अपार्टमेन्ट तीनवटा बिल्डिङमा निर्माण हुनेछ।

 

प्रत्येक भवनमा २ तला बेसमेन्टमा पार्किङ हुनेछ भने बाँकी १२ तलामा अपार्टमेन्ट र एक तलामा अन्य सुविधागरी १५ तलाको हुनेछ। भवनमा १६२ युनिट अपार्टमेन्ट हुनेछन्।Source :Annapurna Post

 

 

 


प्रकाशित : २०७९ श्रावण ४, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित