रुस, स्पेन र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त


रुस, स्पेन र डेनमार्कका लागि नेपाली राजदूत नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले रुसका लागि मिलनराज तुलाधर, स्पेनका लागि शर्मिला पराजुली र डेनमार्कका लागि प्रा. रामस्वार्थ रायलाई मंगलबार राजदूत नियुक्त गरेकी हुन् ।

उनीहरूलाई यसअघि नै मन्त्रिपरिषद्ले सिफारिस गरेर संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाइएको थियो । अग्रिमो आएपछि उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेकी हुन् ।

अब उनीहरू आ-आफ्नो जिम्मेवारी सम्हाल्न सम्बन्धित मुलुकमा जाने छन् । यस्तै, भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ ।Source: Kantipur


प्रकाशित : २०७९ श्रावण ११, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित