एसईई नतिजा आजै


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज बुधबार प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो ।

यो वर्षको कक्षा १० अर्थात् एसईई परीक्षामा ५ लाख १४ हजार विद्यार्थी सहभागी भएका छन् । जसमा २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र सहभागी छन् । गत ९ देखि २० वैशाखसम्म देशभर एकसाथ २ हजार परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो ।

यो वर्ष ५ लाख १४ हजार विद्यार्थी सहभागी

एसईई परीक्षा प्रकाशन पूर्वतयारीस्वरूप मंगबार बोर्डले ‘डेमोस्ट्रेसन’समेत गरेको छ । बोर्डका एक अधिकारीका अनुसार नतिजा बुधबार साँझसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ । ‘कुनै प्राविधिक वा त्यस्तै प्रकारको समस्या नआएको खण्डमा आज साँझसम्म नतिजा प्रकाशन हुनेछ,’ ती अधिकारीले राजधानीसँग भने ।

यसअघि, कोभिडका कारण दुई शैक्षिक सत्र विद्यालय तहको आन्तरिक मूल्यांकनबाटै सञ्चालित भएको एसईई परीक्षा यसपटक भने बोर्डले नै देशभर एकसाथ सञ्चालन गरेको थियो ।

अघिल्ला दुई वर्ष कोभिड महामारीका कारण विद्यालयले गरेका आन्तरिक मूल्यांकनकै आधारमा बोर्डले परीक्षाफल प्रमाणीकरण गरी सार्वजनिक गरेको थियो ।

लेटर ग्रेडिङ ३५ नल्याए फेल
एसईई परीक्षामा सहभागी कुनै परीक्षार्थीले ३५ प्रतिशत प्राप्त नगरे फेल हुने भएको छ । ‘लेटर ग्रेडिङ’ निर्देशिका, २०७८ मा सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी फेल हुने व्यवस्था छ ।

निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याए प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । विद्यार्थीले कुनै पनि विषयमा एनजी ल्याएको अवस्थामा कक्षा ११ मा पढ्न अयोग्य मानिने भएको छ ।

निर्देशिकाअनुसार कक्षा ८, १० र १२ मा सबै विषयको सैद्धान्तिक परीक्षामा न्यूनतम ग्रेड अर्थात् ३५ प्रतिशत अंक ल्याएपछि मात्रै विद्यार्थीले मूल प्रमाणपत्र पाउने छन् ।

त्यस्तै, प्रयोगात्मक परीक्षामा भने न्यूनतम ४० अंक ल्याउनुपर्नेछ । एसईईमा यसपटकदेखि सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्यांकन फरक÷फरक रूपमा गरिएको बोर्डले जनाएको छ ।

कसरी हेर्ने नतिजा ?
एसईई नतिजा राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकमलगायतको वेबसाइट तथा एसमएमएस र आईभीआरबाट पनि विद्यार्थीले नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।Source: Rajdhani


प्रकाशित : २०७९ श्रावण ११, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर