उपाधि होडबाट नेपाल बाहिरियो


साबिक विजेता तथा आयोजक भारतले राउन्ड रोविन लिगको अन्तिम खेलमा माल्दिभ्सलाई १–० ले पराजित गर्दै साफ यू–२० च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गर्दा नेपाल बाहिरिएको छ ।

नेपाललाई फाइनल प्रवेश गर्न भारतले अन्तिम खेलमा माल्दिभ्ससँग पराजित हुनुपर्ने थियो । तर, आपूm अनुकूल नतिजा ननिस्किएपछि नेपाल बाहिरिन पुग्यो । यो नतिजापछि बंगलादेश चार खेलबाट १० अंक जोडेर लिग चरणका शीर्षस्थानमा रह्यो । भारतले चार खेलबाट ९ अंक जोड्दै फाइनलमा स्थान पक्का ग¥यो । नेपाल ६ अंक जोडेर तेस्रो तथा माल्दिभ्स र श्रीलंकाले समान १ अंक जोड्यो । अब, फाइनलमा बंगलादेश र भारतबीच २० साउनमा प्रतिस्पर्धा हुनेछ । लिग चरणमा बंगलादेशले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो ।

मंगलबार लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । यो बराबरीसँगै बंगलादेश अपराजित रहेर राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ ।

भारतको भुवनेश्वरस्थित कालिंका स्टेडियममा प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा बंगलादेशका गोलरक्षक मोहमद आसिफले केही उत्कृष्ट बचाउ गरे । १६औं मिनेटमा कप्तान आयुष घलानको प्रयासलाई गोलरक्षक आसिफले विफल पारे ।

१८औं मिनेटमा सुमित श्रेष्ठले दुई डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारलाई अर्काे डिफेन्डरले ब्लक गरिदिए । ३४औं मिनेटमा दिपेश गुरुङको झन्डै ३० यार्ड टाढाको फ्रिकिकलाई गोलरक्षकले पन्च गर्दै बचाए ।

दोस्रो हाफको सुरुमै दुवै टोली झडपमा उत्रँदा रेफ्रीले मैदानमा रहेका दुई र बेन्चका एक गरी कुल तीन खेलाडीलाई रातो कार्ड देखाएका थिए । बंगलादेशका साहिदुल इस्लामले दोस्रो पहेंलो कार्डसँगै रातो कार्ड पाउँदा नेपालका दिपेश गुरुङ सिधै रातो कार्ड पाउँदै बाहिरिए ।

मैदानभित्र पसेर झगडा गरेका कारण बेन्चमा रहेका नेपालका रोहित सुब्बाले पनि रातो कार्ड पाए । ४८औं मिनेटमा बंगलादेशका कप्तान तनवीर सहायक रेफ्रीसँग आक्रोशित रूपमा प्रस्तुत भएपछि नेपालका कप्तान आयुष घलानले उनलाई पेलेका थिए । त्यसपछि दुवै टोलीका खेलाडी एकआपसमा झगडामा उत्रिए । केही बेरमा नै दुवै टोलीका बेन्चका खेलाडी पनि मैदान प्रवेश गरेर झगडा गर्न थालेका थिए ।

दुवै टोलीका बेन्चमा रहेका प्रशिक्षक र अफिसियलले झगडा साम्य पारेका थिए । त्यसपछि ६३औं मिनेटमा बंगलादेशले अग्रता लियो । मोहमद रफिकुल इस्लामको क्रसमा मोहमद पियास अहमद नोभाले गोल गर्दै बंगलादेशलाई अघि बढाए ।

त्यसको ५ मिनेटपछि नै नेपालले बराबरी गोल फर्कायो । वैकल्पिक खेलाडी निरन्जन मल्लले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार गोलरक्षक मोहमद आसिफले बचाउने कुनै अवसर पाएनन् । ८७औं मिनेटमा गोलरक्षक ईश्वर गुरुङले नोभासँग वन भर्सेस वनको स्थितिमा सुन्दर बचाउ गरे ।Source : Rajdhani 


प्रकाशित : २०७९ श्रावण १८, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित