अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा


अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित आफ्नो निवासमा एफबीआईले छापा मारेको छ । पूर्वराष्ट्रपति ट्रम्पले यसबारे वक्तव्य निकालेर ठूलो संख्यामा एफबीआईका एजेन्टहरू आएर आफ्नो निवासमा छापा मारेको बताएका छन् । पूर्वराष्टपति ट्रम्पले फ्लोरिडाको मार ए लागो रिसोर्टमा एफबीआईका एजेन्टहरु आएर छापा मारेको जनाएको समाचारमा उल्लेख गरिएको छ ।

उनीहरुले उहाँको त्यहाँस्थित घरलाई नै नियन्त्रणमा लिएर केही कागजात लगेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । एफबीआईको यो छापा उनी अमेरिकाको राष्ट्रपति हुँदा गरेका कतिपय कार्यहरुका बारेमा अनुसन्धान गर्न सरकारी कागजातहरू नियन्त्रणमा लिनका लागि गरिएको बताइएको छ । साथै गत वर्ष अमेरिकी संसद भवनमा भएको हिंसाको पनि अनुसन्धान थालिएकोले त्यस विषयका लागि पनि यो छापा मारिएको अनुमान गरिएको छ । यस विषयमा संसदीय छानबिन जारी रहेको छ । एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मार्दा पूर्वअमेरिकी राष्ट्रपति न्युयोर्कको ट्रम्प टावरमा थिए । उनका छोरा एरिक ट्रम्पले एफबीआईको छापाबारे उनलाई जानकारी गराएका थिए ।

शक्तिशाली देश अमेरिकाका पूर्वराष्ट्रपतिको घरमा छापा मारिएपछि अमेरिकामा ट्रम्पको दल रिपब्लिकन पार्टीले विरोध गरेको छ । उक्त पार्टीका सांसदहरुले समेत एफबीआईको कार्यको भत्र्सना गरेका छन् ।Source: Arthik


प्रकाशित : २०७९ श्रावण २६, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित