हलमा लागे आमिरको ‘लाल सिंह चड्ढा’ र अक्षयको ‘रक्षाबन्धन’


फ्राइडे रिलिजको परम्परा तोड्दै दुई बलिउड फिल्म बिहीबार नै नेपाली हलमा रिलिज भएका छन् । जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वको छेकोमा आमिर खान स्टारर ‘लालसिंह चड्ढा’ र अक्षय कुमारको ‘रक्षाबन्धन’ रिलिज भएका हुन् । यो साता हलिउड र नेपाली फिल्म प्रदर्शन हुने छैनन् ।

२ घण्टा ३९ मिनेट लामो ‘लाल सिंह चड्ढा’मा आमिर र करिना कपुरको मुख्य भूमिका छ । टम ह्यांक्स स्टारर सन् ११९९४ को हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक रहेको फिल्मले शारीरिक अक्षमताको बाबजुद लाल नामक पात्रले सैन्य, व्यावसायिक र पारिवारिक जीवनमा हासिल गर्ने उपलब्धिको कथा भन्छ ।

भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको हत्यादेखि अन्ना हजारेको भ्रष्टाचार आन्दोलनसम्मको राजनीतिक घटनाक्रमको पृष्ठभूमिमा बनेको यो फिल्मले एउटा पात्रको आन्तरिक यात्राको कथा समेत पेश गर्छ । किरण रावले निर्देशन गरेको फिल्ममा शाहरुख खान र नागा चैतन्यले पनि केमियो भूमिका निर्वाह गरेका छन् । ‘लाल सिंह चड्ढा ‘लाई हलिउड कम्पनी प्यारामाउन्ट पिक्चर्सले विश्वव्यापी  वितरण गरेको छ ।

१ घण्टा ४८ मिनेट लामो फिल्म रक्षाबन्धनमा अक्षयकुमार र भूमि पेड्नेकरको मुख्य भूमिका छ । दाजुबहिनीको सम्बन्धको कथा पेश गर्ने फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका हुन् । कमेडी ड्रामा फिल्मले रक्षाबन्धनको महत्वबारे समेत प्रष्ट पार्छ ।Source : online Khabar


प्रकाशित : २०७९ श्रावण २६, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित