नेपालमा काम गर्ने विदेशी १८ हजार नाघे, सर्वाधिक धेरै कामदार आउने मुलुकमा अमेरिका तेस्रो स्थानमा


श्रमस्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजारभन्दा माथि पुगेको छ । पछिल्ला वर्षमा श्रमस्वीकृति लिएर नेपालमा रोजगारी गर्न आउने विदेशीको संख्या बढ्दै गएको हो ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार हालसम्म नेपालमा श्रमस्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजार २३९ पुगेको छ । श्रमस्वीकृति लिएर काम गर्नेमध्ये १६ हजार ४४ जना पुरुष र २ हजार १९५ जना महिला छन् ।

आर्थिक वर्ष २०७८/७९ मा मात्रै नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन् । उक्त अवधिमा ९ सय ५० जनाले नयाँ श्रमस्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले श्रमस्वीकृतिको अवधि थप गरेका थिए । नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको छ ।

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा श्रमस्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीमा १ हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक छन् । २०७९ साल शुरू भएयता वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ गरी कुल ८८३ जना विदेशीले विभागबाट श्रमस्वीकृति लिएका छन् ।

यसैबीच, संसदीय समितिले नेपाली उद्योगहरूमा विदेशी मजदूर राखिएको विषयमा चासो देखाएको छ । हालै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार र श्रमसम्बन्धी समस्याका विषयमा श्रममन्त्री शेरबहादुर कुँवरसँगको छलफलपछि नेपाली उद्योगमा विदेशी मजदूर अत्यावश्यक भएमात्रै राख्न र नेपाली मजदूरलाई नै प्राथमिकता दिन निर्देशन दिएको छ ।

समिति सभापति विमलप्रसाद श्रीवास्तवका अनुसार नेपाली उद्योगमा विदेशी कामदारको लगत संकलन गरी विदेशी कामदारको ठाउँमा स्वदेशी कामदार राख्न भनिएको छ । नेपाली उद्योगमा स्वदेशी कामदार राख्ने विषयमा आपसी सहयोगका लागि समिति सदस्यहरूलाई पनि सहभागी गराउन निर्देशन दिइएको श्रीवास्तवले बताए ।

‘सम्बद्ध मन्त्रालयहरू उद्योग, भौतिक पूर्वाधार तथा अन्य निकायसँग समन्वय गरी श्रम मन्त्रालयको नेतृत्वमा उद्योग मजदूरको समस्या समाधानका विषयमा पहल गर्ने, विभिन्न कारखानामा विदेशी कामदार रहेको विषयमा श्रम विभागमार्फत त्यसको अनुगमन गरी लगत संकलन गरेर विदेशी कामदारको स्थानमा स्वदेशी राख्ने सम्बन्धमा आपसी सहयोग आवश्यक परेमा समितिका सदस्यहरूलाई समेत सहभागी गराउन निर्देशन दिन्छ,’ समितिले दिएको निर्देशनमा उल्लेख छ ।

यस्तै, समितिले कतार, इजरायल तथा दक्षिण कोरियामा अहिलेसम्म श्रम मन्त्रालयबाट भए, गरेका कार्य प्रगतिको विवरण पठाउन मन्त्रालयलाई निर्देशन दिएको छ ।Source :Abhiyan 


प्रकाशित : २०७९ श्रावण २९, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित