नेपालले एक सच्चा र असल नेता गुमायो: प्रधानमन्त्री


उपचारको क्रममा शनिबार राति निधन हुनुभएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको अन्त्येष्टि आइतबार गरिने भएको छ ।

क्यान्सर रोगबाट पीडित नेता गिरीको स्वास्थ्योपचारको क्रममा शनिबार राति ९ः३० बजे ७५ वर्षको उमेरमा निधन भएको थियो । यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले गिरीको निधनसँगै नेपालले एक सच्चा र असल नेता गुमाएको बताउनुभयो ।

उहाँले भन्नुभएको छ, नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु ।उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।

कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माका अनुसार उहाँको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म श्रद्धाञ्जलिका लागि ललितपुरको मेडिसिटी अस्पताल परिसरको शिवालयमा राखिनेछ ।

त्यसपछि ११ः३० बजेदेखि २ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपाको बी.पी. स्मृति भवनमा श्रद्धाञ्जलि लागि राखिने जानकारी दिनुभयो । त्यसपछि अन्त्येष्टिका लागि पशुपति लगिनेछ । स्वास्थ्य जटिल बन्दै गएपछि उहाँ गत साउन ८ गते अस्पताल भर्ना हुनुभएको थियो। Source: Gorkhapatra 


प्रकाशित : २०७९ भाद्र ५, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित