मिटरब्याजीविरुद्ध देशभरबाट दुई हजारभन्दा बढी उजुरी संकलन


मिटरब्याजीविरुद्ध देशभर दुई हजारभन्दा बढी उजुरी दर्ता भएका छन् ।

 

सरकारले गठन गरेको कार्यदलले भदौ पाँच गतेसम्मको समय सीमा दिएर उजुरी आह्वान गरेपछि २ हजार ४३ जनाले उजुरी दिएको गृह मन्त्रालयले जनाएको छ ।

 

मधेश प्रदेशबाट मात्रै एक हजार एक सय ८२ उजुरी दर्ता भएका छन् । बागमती प्रदेशबाट ३ सय ५६ र लुम्बिनी प्रदेशबाट २ सय ११ वटा उजुरी परेको छ ।

 

पीडितहरुले जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयमार्फत अन्य प्रदेशमा दर्ता भएका उजुरीको विवरण आउन बाँकी रहेको कार्यदलले जनाएको छ ।

 

उजुरीमाथि कार्यदलले भोलीदेखि स्थलगत अध्ययन थाल्नेछ । स्थलगत अध्ययनको क्रममा अझै उजुरी आउने सम्भावना देखिएमा म्याद थप गर्ने तयारी छ ।

 

सरकारले साउन २७ गते मिटरब्याजबाट पीडितको सम्बन्धमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो ।

 

कार्यदलको सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युरोमा कार्यरत वरिष्ठ उपरीक्षक दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत उपरीक्षक कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् ।

 

कार्यदलले मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने, मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने छ ।


प्रकाशित : २०७९ भाद्र ६, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित