सानैमा बिहे, छिट्टै बेमेल


लुम्बिनी, कपिलवस्तु, नेपालगन्ज र दाङ — दुई साताअघि जिल्ला प्रहरी रूपन्देहीको मुद्दा शाखामा एक किशोरी प्रवेश गरिन् । शाखा प्रमुख प्रहरी निरीक्षक दीपक कुँवरतर्फ फर्केर उनले भनिन्, ‘सर ! उसलाई छाडिदिनूस्, तपाईंले मागेजति पैसा दिन्छु ।’ किशोरीले १३ वर्षको उमेरमै सिद्धार्थनगरका एक किशोरसित प्रेमविवाह गरेकी रहेछन् ।

उनीहरू एक वर्ष जति केटाको घरमा बसे । किशोरी पहाडी जनजाति समुदायकी हुन् भने किशोर मधेसकैबासिन्दा हुन् । केटाका परिवारले बिहे रुचाएका थिएनन् । किशोर–किशोरीको जिद्दीपछि दुवै परिवार बसेर कागजी बिहे गराइदिएका रहेछन् । आम्दानी थिएन । ‘त्यसैले म गाउँकै एक घरमा काम गर्न थालें,’ किशोरीले भनिन्, ‘एक दिन यही विषयमा हाम्रो झगडा भयो । उसले चक्कु तताएर मेरोगाला डामिदियो ।’

किशोरी बुबाको घर फर्किइन् । ‘बाबा–छोरी आएर केटाविरुद्ध जाहेरी दिएपछि हामीले पक्राउ गरेर हिरासतमा लियौं,’ प्रहरी निरीक्षक कुँवरले भने, ‘केटा थुनिएपछि उनी आएर छोड्दिन अनुरोध गरिरहेकी थिइन् ।’ प्रहरीले किशोरको उद्धार गरेर मनोपरामर्शका लागि स्थानीय सामाजिक संस्थामा पठाएको जनायो । ‘सम्झाउँदा ठिक हुन्छिन्,’ कुँवरले भने, ‘केही दिनमा फेरि यस्तै जिद्दी गर्न थाल्छिन् ।’ किशोरीका अनुसार घरमा बुबा र सौतेनी आमा छन् । उनकी आमा अन्तै बसिरहेकी छन् । ‘घर जानै मन लाग्दैन,’ उनले भनिन् । प्रहरी निरीक्षक कुँवरका अनुसार तोकिएको भन्दा कम उमेरमा भएको बिहेलाई कानुनले बलात्कार मानेको छ । त्यही अभियोगमा किशोरलाई मुद्दा चलाइएको छ । ‘अहिले पुर्पक्षका लागि कारागार पठाइएको छ,’ कुँवरले भने, ‘किशोरी माइती नेपालको आश्रयमा छन् ।

रूपन्देहीको सिद्धार्थनगर–५ मिलनचोककी १९ वर्षीया एक किशोरीलाई बाबुले स्थानीय सुनचाँदी पसलमा काम गर्ने एक भारतीयसँग विवाह गरिदिए । आमाले छाडेर गएपछि बालिका बुबा र सौतेनी आमासँगै थिइन् । जबरजस्ती विवाह गरिदिएको भन्दै गत असार २२ मा जिल्ला प्रहरीमा जाहेरी परेपछि किशोरीका बाबु र श्रीमान् पक्राउ परी बालविवाह कसुरमा हिरासतमा छन् । किशोरी आमासँग छिन् ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका युवकसित १५ वर्षीया किशोरीले प्रेम गरिन् । त्यसपछि दुवै गाउँबाट भागेर अन्यत्र गए । अहिले किशोरी गर्भवती छिन् । किशोरीकी आमाको मृत्यु भइसकेको छ । बाबु भारतमा छन् । हजुरबुबाको घरमा बस्दै आएकी थिइन् । नातिनी भागेपछि खोजतलास गरिपाउँ भनेर हजुरबुबाले प्रहरीमा उजुरी गरे । प्रहरीका अनुसार ६ महिनापछि उनीहरूको पत्तो लाग्यो । अहिले युवक हिरासत छन् । उनीमाथि जबरजस्ती करणी मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको छ । यता किशोरी समस्यामा पर्न थालेकी छन् । ‘अब कसको सन्तान भन्ने ?’ उनले भनिन्, ‘हजुरबुबाको घरमा बसे, केटा पक्षबाट खतरा छ ।’ स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । अहिले उनी एक पुनःस्थापना गृहमा आश्रित छन् ।

बाँकेको नेपालगन्जकी १५ वर्षीया एक किशोरीले गाउँकै १८ वर्षीय युवकसँग बिहे गरिन् । किशोर सम्पर्कविहीन छन् । आमा कमाउन विदेश गएकी छन् । घरमा एक्लै रहेकी किशोरीको प्रेममा परेसँगै युवक सम्पर्कविहीन भएका हुन् । सँगै बाँच्ने जिउने कसम खाएर भागेर बिहे गरे । किशोरका परिवारले किशोरीलाई स्वीकारेनन् । विदेश जान्छु भन्दै किशोर सम्पर्कविहीन भएको र उनको परिवारले गाउँबाट बसाइँ सरिसकेका छन् । किशोरी चार महिनाकी गर्भवती छन् । उनी अहिले अलपत्र अवस्थामा छन् । न सहयोग माग्न सक्छिन्, न त न्याय । कानुनी रूपमा उनको बिहे वैधानिक छैन ।

सुर्खेत घर भएकी एक दलित समुदायकी किशोरी गैरदलित किशोरको प्रेममा परिन् । सुर्खेतबाट कोहलपुर पढ्न आएकी १६ वर्षीया युवती कोहलपुरका युवाको प्रेममा थिइन् । लामो समयदेखि एकअर्कालाई चिनेका उनीहरू बिहे गर्ने तयारीमा थिए । यसबारे पत्तो पाएपछि किशोरका परिवारले युवतीका अभिभावकलाई कोहलपुर झिकाए । कुरा प्रहरीसम्म पुग्यो । प्रहरीले दुवैको उमेर नपुगेको भन्दै केटाकेटीलाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगायो । लामो समयको प्रेमलाई विवाहको रूप दिन नपाउँदा किशोरी तनावमा परिन् । किशोरीले किशोरलाई छोड्न नसक्ने भन्दै आत्महत्याको प्रयास समेत गरेको बताइन् । बल्लतल्ल परिवारले सम्झाएर किशोरीलाई घर लगेका छन् ।

नेपालगन्जकै १८ वर्षीया किशोरीले परिवारकै दबाबमा दुई वर्षअघि बालविवाह गरिन् । मुस्लिम समुदायकी उनी परिवारको आर्थिक अवस्था राम्रो नभएकाले बिहे गर्न राजी भएको बताइन् । ‘वैवाहिक जीवन सोचेजस्तो भएन,’ उनले भनिन्, ‘पतिले नियमित कुटपिट गर्न थाले ।’ यातना सहन नसकेर माइतीमा गएर बसेको उनले सुनाइन् । ‘सानैमा बिहे गरें, पढ्न पनि पाइनँ, अब कसरी बाँच्ने ?’ उनले भनिन्, ‘पतिले मौखिक रूपमा तलाक दियो । न बिहे दर्ता छ, न उमेर पुगेको छ । अब कहाँ गएर न्याय खोजू ?’

बालविवाहका घटनामा कानुनी रूपले न्याय पाउन गाह्रो छ । उमेर नपुगी गरेको विवाहलाई कानुनी मान्यता नभएपछि न्यायका लागि प्रक्रिया अगाडि बढाउन सम्भव छैन । ‘सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाउने बाहेक विकल्प छैन,’ नेपालगन्जस्थित महिला तथा बालबालिका सेवा केन्द्रकी दिलसरा रानाले भनिन्, ‘अभिभावकको स्वीकृतिबिना किशोरीको मेडिकलसमेत गर्न पाइँदैन, किशोरीहरूलाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा दिन्छौं ।’ गत आर्थिक वर्षमा बाँकेमा १० वटा बालविवाहका घटना प्रहरीसम्म पुगे पनि तीनवटा मुद्दा मात्र दर्ता भएका छन् ।

बालविवाह अन्त्यका लागि अभिभावकको भूमिका मुख्य हुने माइती नेपाल रूपन्देहीकी कार्यक्रम संयोजक माया क्षत्रीले बताइन् । उमेर नपुगी विवाह गर्ने प्रचलनमा बालिका नै अग्रसर देखिने र यसको कारण अशिक्षा रहेको उनले बताइन् । ‘सानै उमेरमा अन्यत्र मन डुलाउँदा बालिकाको पढाइ छुटाउँछ,’ उनले भनिन्, ‘पढाइ नभएपछि दिमाग अन्तै मोडिन्छ, यसले बालविवाह निम्त्याउँछ ।’ बुबाआमाले छोरीको शिक्षाका लागि अग्रसरता नदेखाउनु समस्याको जरो भएको उनले जनाइन् । कानुन र समाजबीच रहेको अन्तर सम्बन्धमा समाजले अपराधलाई अपराध नदेख्नु विडम्बना भएको अधिवक्ता महेन्द्र पाण्डेको भनाइ छ । जिल्लाको सीमावर्ती क्षेत्रमा बालविवाहले प्रथाकै रूपमा जरा गाडेर रहेको उनले बताए । अदालतमा बालविवाहका मुद्दा झट्ट नआउने उनले बताए । ‘किशोरीले असह्य पीडा पाएपछि मात्रै यस्ता मुद्दा अदालत आउँछन्,’ उनले भने, ‘यस्ता मुद्दा स्वतः जबरजस्तीकरणी वा अपहरण हुन् ।’

उमेर नपुगी विवाह गर्ने अधिकांश बालबालिकालाई सम्झाइबुझाइ अभिभावकको जिम्मा लगाउने गरिएको छ । सानैमा मायाप्रेम गरी विवाह गर्ने जोडीलाई मुद्दा चलाएर थप समस्यामा पार्नेभन्दा कुरा बुझाएर घर पठाउने कुरालाई नै प्राथमिकता दिने गरिएको प्रहरीले बताएको छ । जसका कारण दाङमा एक वर्षमा एउटा पनि बालविवाहको मुद्दा दर्ता भएको छैन । ‘धेरैजसो बालबालिकाले लहलहैमा विवाह गरेका हुन्छन् । उनीहरूलाई सम्झाइबुझाइ परिवारको जिम्मा लगाउने गरिन्छ,’ जिल्ला प्रहरी कार्यालय दाङकी महिला तथा बालबालिका सेल प्रमुख प्रहरी सहायकनिरीक्षक निमा डीसीले भनिन्, ‘कतिपय बालबालिका फेरि पछि भाग्ने गरेका पनि छन् । मुद्दा चल्ने गरी कुनै पनि घटना भएका छैनन् ।’

उमेर पुगेपछि विवाह गर्ने गरी सम्झाएर आ–आफ्नो घरमा पठाए पनि पछि आफैं भाग्ने गरेको डीसीले बताइन् । त्यस्ता घटनामा पनि फेरि बालविवाहको मुद्दाभन्दा हराएको भनेर निवेदन आउने गरेको उनले बताइन् । ‘बालविवाह गरेर घरपरिवारमा बस्न नपाएको, परिवारले स्विकार नगरेर दुःख पाएका घटना आएका छैनन्,’ उनले भनिन्, ‘प्रहरीमा आएका घटना अभिभावककै उपस्थितिमा छलफल गराएर समाधान गर्ने गरिएको छ ।’ सानै उमेरमा विवाह गर्ने प्रचलन रहे पनि मुद्दा दर्ता हुने क्रम भने नरहेको जिल्ला प्रहरी दाङका प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले बताए । ‘पछिल्लो डेढ वर्षमा बालविवाहको मुद्दा एउटा पनि आएको छैन,’ उनले भने, ‘आठ वर्ष उमेरसम्मका बालिकाहरू बलात्कार भएका घटना छन् तर बालविवाहकै शीर्षकमा मुद्दा दर्ता भएका छैनन् ।’

कतिपय बालिकाका परिवारले बालविवाहपछि प्रतिशोधस्वरूप बलात्कारका मुद्दा पनि लगाएको हुन सक्ने उनले बताए । दाङ जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षबाट सरी आएका पाँचवटा बालविवाहका मुद्दा यस वर्ष टुंगिएका छन् । एक वर्षमा १ सय २९ बलात्कारका मुद्दा दर्ता हुँदा बालविवाहका मुद्दा शून्य रहेको अदालतका श्रेस्तेदार हिरण्यलाल भण्डारीले बताए । बलात्कारका घटनामा नाबालक अभियुक्त भएका मुद्दा भने रहेको उनले बताए । २६ वटा जबर्जस्ती करणी मुद्दामा नाबालक अभियुक्त रहेको उनले जानकारी दिए ।Source ; Kantipur 


प्रकाशित : २०७९ भाद्र ६, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित