भारतले श्रीलंकालाई २१ हजार टन मल दियो


भारतले आर्थिकपमा संकटग्रस्त छिमेकी मुलुक श्रीलंकालाई सोमबार २१ हजार मेट्रिक टन मल हस्तान्तरण गरेको छ । श्रीलंकाको कोलम्बोस्थित भारतीय उच्चायोगले गरेको ट्विटमा भनिएको छ, ‘भारतीय उच्चायुक्तले भारतको विशेष सहयोगमा आपूर्ति गरिएको २१ हजार टन मल औपचारिक रूपमा श्रीलंकाका जनतालाई हस्तान्तरण गरेका छन् । यसले दुई देशबीचको मित्रता र सहयोगमा थप टेवा पुगेको छ ।’

भारतको सहयोगमा गत महिना ४४ हजार टन खाद्यान्न आपूर्ति भएको थियो । मल हस्तान्तरणले खाद्य सुरक्षामा योगदान पु-याउनुका साथै किसानलाई सहयोग पु-याउनेछ । यसले भारत र श्रीलंकाबीचको घनिष्ठ सम्बन्ध, पारस्परिक विश्वास र सद्भाव सिर्जना गर्दै जनतालाई प्रत्यक्ष लाभ पु-याउने भारतीय उच्चायोगले जनाएको छ । श्रीलंकालाई उनीहरूको आवश्यकताअनुसार आर्थिक सहयोग प्रदान गर्न भारत अग्रपंक्तिमा रहँदै आएको छ र आवश्यक समयमा अधिकतम सहयोग प्रदान गर्ने देशहरूमध्ये एक हो ।

सन् २०२२ को सुरुदेखि नै श्रीलंकाले बढ्दो आर्थिक संकटको सामना गरिरहेको छ र सरकारले आफ्नो विदेशी ऋणमा डिफल्ट गरेको छ । संयुक्त राष्ट्रसंघले श्रीलंकामा ५७ लाख मानिसलाई तत्काल मानवीय सहायताको खाँचो रहेको चेतावनी दिएको छ । श्रीलंकावासीले खाद्यान्न र इन्धनलगायत अत्यावश्यक वस्तुहरूको चरम अभाव भोगेपछि मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन सुरु भएको थियो । श्रीलंकामा खाद्यान्न र इन्धनको अभावका कारण ठूलो संख्यामा मानिसहरू प्रभावित भएका कारण गम्भीर आर्थिक संकटसँग जुधिरहेको छ ।Source : Arthik 


प्रकाशित : २०७९ भाद्र ८, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित