आजदेखि मतदाता नामावली अध्यावधिक गर्दै निर्वाचन आयोग


निर्वाचन आयोगले आजदेखि मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गर्ने भएको छ। जुन एक सातासम्म चल्नेछ ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भएको दिन २०७९ साउन १९ गतेसम्म संकलन भएको र मतदान हुने मिति भन्दा अघिल्लो दिन २०७९ मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया सुरु गरिने आयोगले जनाएको छ।

नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम राख्न भदौ १३ देखि १५ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

मृत्यु भएका एवं नागरिकता त्याग गरेका मतदाताको नाम सूचीबाट हटाउनका लागि यही भदौ १३ देखि १६ गतेसम्म निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ ।

यसअघिको निर्वाचनमा मृत्यु भएका तथा विदेशमा भएका व्यक्तिको नाम मतदाता सूचीमा रहेको भन्दै आयोगको आलोचना भएको थियो ।

नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइनसमेतबाट निवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ। मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भएपछि प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि मिति २०७९ भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
Source : ehimalayatimes.com


प्रकाशित : २०७९ भाद्र १२, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित