कांग्रेसले २०७४ मा निर्वाचितलाई समानुपातिकमा नराख्ने


नेपाली कांग्रेसले २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएकालाई पुनः उम्मेदवार बन्न बन्देज गरेको छ ।

कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न तल्ला तहलाई परिपत्र गरेको हो ।

कांग्रेस महामन्त्री गगन थापाको हस्ताक्षरसहित पठाइएको परिपत्रमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मातहतका निकायलाई २० भदौसम्म सिफारिस सूची केन्द्रमा पठाइसक्न निर्देशन दिइएको छ ।

सो परिपत्रमा २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचितलाई ‘पुनः समानुपातिकतर्फ नै सिफारिस नगर्न’ भनिएको छ ।

‘२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य पदको समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्ने,’ परिपत्रमा भनिएको छ ।

यसैगरी, एकभन्दा बढी निर्वाचन क्षेत्र भएको क्षेत्रीय समितिलाई पठाइएको निर्देशनअनुसार प्रत्यक्षतर्फ उम्मेदवार विषयमा बढीमा तीन र समानुपातिकतर्फका लागि कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम निर्णय गरी १६ भदौभित्र जिल्ला कार्यसमितिमा पठाउन भनिएको छ ।

त्यस्तै, जिल्ला कार्यसमितिले क्षेत्रबाट आएको सिफारिसमा आफ्नाे राय समेटेर १८ भदौभित्र प्रदेश कार्यसमितिमा नाम पठाउन भनिएको छ ।

एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा १८ भदौमा जिल्लाले प्रदेश र २० भदौमा प्रदेशले केन्द्रमा उम्मेदवार सिफारिस गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

प्रदेशतर्फ भने प्रदेशसभा क्षेत्रीय समितिले प्रत्यक्षतर्फका लागि बढीमा तीन र समानुपातिकतर्फका लागि कम्तीमा एक महिलासहित बढीमा दुई जनाको नाम १४ भदौभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा पठाउन भनिएको छ । यो एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाका लागि पठाइएको निर्देशन हो ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट आएको सिफारिसमा आप्mनो रायसहित प्रतिनिधिसभा क्षेत्रीय समितिले १६ भदौभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने हुन्छ । जिल्ला कार्यसमितिले आप्mनो रायसमेत उल्लेख गरी १८ भदौभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने परिपत्रमा उल्लेख गरिएको छ ।

प्रदेश कार्यसमितिलाई प्राप्त नाममा आप्mनो रायसमेत उल्लेख गरी २० भदौभित्र केन्द्रमा नाम पठाउन भनिएको छ । परिपत्रमा तालमेल गर्दा अन्य दललाई छुट्याइएको स्थानमा कांग्रेसको उम्मेदवार खडा नगर्ने पनि स्पष्ट पारिएको छ ।
सो अवस्थामा गठबन्धन सम्बद्ध दललाई सहयोग गर्ने प्रतिबद्धतासहितको पत्र पनि सँगै पठाउन कांग्रेसले पठाएको परिपत्रमा उल्लेख गरेको छ ।Source : Rajdhani


प्रकाशित : २०७९ भाद्र १२, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित