आज दर खाने दिन, भोलि तिजको निराहार व्रत


हिन्दू महिलाहरूको महान पर्व तीजको पहिलो दिन आज दर खाएर मनाउँदै छन् । यो दिनलाई दर खाने दिन पनि भनिन्छ । सनातन हिन्दू धर्मावलम्बी

काठमाडौं । नेपाली महिलाहरूले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रममा पहिलो दिन दर खाने चलन छ ।

विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरूले सुयोग्य पतिको कामना गर्दै भोलिपल्ट निराहार व्रत बस्ने उद्देश्यले यो दिन दर खाने चलन रहेको छ ।

दरका लागि माइतीले आफ्ना चेलीलाई लिन जाने वा बोलाउने चलन छ। विशेषगरी दिदीबहिनी जम्मा भई रातिसम्म रमाइलो गर्ने र उपलब्ध भएसम्मका खानेकुरा खाने गर्छन्।

दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

हरितालिका तीजका बेला पानीसमेत नखाई ब्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने गर्दछ । त्यसैले दर खाने चलन बसेको बताइन्छ ।

विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदी बहिनीलाई बोलाई दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

महिलाहरूले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् । तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक-फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ ।

परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

पुराण अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

खासगरी पहाडीमूलका सनातन हिन्दू धर्मअन्तर्गतका महिलाहरूले लिने गरेको पर्व तीज भएपनि हिजोआज अरु समुदायका महिलाहरू पनि तीज मनाउन थालेका छन् ।
Source: himalayatimes.com


प्रकाशित : २०७९ भाद्र १३, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित