८ महिनामा ३ लाख २३ हजार पर्यटक


सन् २०२२ को पछिल्लो ८ महिना (जनवरीदेखि अगस्टसम्म) ३ लाख २३ हजार ५ सय ७९ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत महिना अगस्टमा भने ४१ हजार ३ सय ४ पर्यटक नेपाल आएका छन् । त्यसैगरी जुलाईमा ४४ हजार ४ सय ६२ पर्यटक आएका थिए ।
जुनमा ४६ हजार ९ सय ५७, मेमा ५३ हजार ६ सय ८ र अप्रिलमा ५८ हजार २ सय ४८ पर्यटक नेपाल आएका थिए । अफसिजनमा पनि पर्यटक आगमनदरमा क्रमश: वृद्धि हँुदै जानु सकारात्मक भएको होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए । उनले भने, “कोभिड–१९ पछिको पर्यटक आगमन दरमा क्रमश: सुधार हुँदै लयमा फिर्ता हुने क्रममा रहेको छ । सेप्टेम्बर, अक्टोबर, नोभेम्बर र डिसेम्बरको लागि प्रि–बुकिङ पनि राम्रो नै रहेको छ ।” नेपाल भ्रमणका लागि खुला छ भन्ने सन्देश प्रवाह हुन नसकेकोले गर्दा आगमन दरमा जति सुधार हुनुपर्ने हो त्यति भने नरहेको वरिष्ठ उपाध्यक्ष शाहको भनाइ छ ।
अफसिजनमा पनि मासिक ४० हजारभन्दा बढी आगमन हुनु भनेको अबको सिजनमा सन् २०१९कै लयमा फिर्ता हुने क्रममा रहेको संकेत भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताए । उनले भने, “पछिल्लो समय बंगलादेश र अमेरिका तथा युरोपियन पर्यटकहरुमा पनि क्रमश: वृद्धि हुँदै गएको छ । यसले गर्दा विश्वमा पर्यटन पुनरुत्थान गर्ने मुलुकको सूचीमा नेपाल परेको छ ।”
बोर्डले पर्यटक आगमनदरमा वृद्धि गर्नको लागि स्रोत बजारमा नियमित प्रचारप्रसार गरिरहेको र चालू आर्थिक वर्षमा पनि मूलत: भारतका प्रमुख सहरमा प्रचारप्रसार गर्नेगरी कार्यतालिका बनाएर जोड दिने प्रमुख रेग्मीको भनाइ छ ।
सन् २०२२ को पहिलो महिनाबाट नै पर्यटक आगमनदरमा सुधार हुँदै गएको थियो । सन् २०२२ को पहिलो महिना जनवरीमा करिब १७ हजार पर्यटक घुम्नका लागि नेपाल आएका थिए । दोश्रो महिना फेब्रुअरीमा २० हजार, तेश्रो मार्चमा ४२ हजारले नेपाल भ्रमण गरेका थिए । सन् २०२० को अन्त्यमा फैलिएको कोभिड–१९ कारण पछिल्लो समय पर्यटक आगमनमा गिरावट आएको थियो ।
गत अगस्टमा भारतबाट १६ हजार, अमेरिकाबाट ४ हजार, बेलायतबाट २ हजार ८ सय, बंगलादेशबाट १ हजार ७ सय, चीन र अष्ट्रेलियाबाट २–२ हजारको हाराहारीमा पर्यटक आएका छन् । नेपाल भ्रमणको लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । हवाई मार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगमनदर संख्यामा भने कम देखिएको बोर्डले जनाएको छ ।

जनवरी – १६ हजार ९ सय ७५
फेब्रुअरी – १९ हजार ७ सय ६६
मार्च – ४२ हजार ६
अप्रिल – ५८ हजार २ सय ४८
मे – ५३ हजार ६ सय ८
जुन – ४६ हजार ९ सय ५७
जुलाई – ४४ हजार ४ सय ६२
अगस्ट – ४१ हजार ३ सय ४

Source: Karobar 


प्रकाशित : २०७९ भाद्र १७, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर