बागलुङ नगरपालिका पूर्व-जनप्रतिनिधिसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व-जनप्रतिनिधिसहित पाँच जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुंगा, गिट्टी तथा बालुवा बिक्रीबापत बागलुङ नगरपालिकालाई हानि नोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुनबमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगर-प्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष जीवन आचार्य, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवी उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य सचिव काशिराम शर्माविरुद्ध विशेष अदालतमा आरोप पत्र दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर संकलन गरी नेपाल सरकारलाई १७ लाख ४० हजार ६६ हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार जन्य कार्य गरेको पुष्टि हुन आएकाले पूर्व-जनप्रतिनिधि र कर्मचारहरूलाई विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो ।

पूर्व-जनप्रतिनिधि कर्मचारीहरूलाई हानि नोक्सानी पुर्‍याएको रकमको दोब्बर ३४ लाख ८० हजार १३२ जनप्रतिनिधि र कर्मचारीलाई प्रतिव्यक्ति बिगो दाबी गरी मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
Source: ehimalayatimes.com


प्रकाशित : २०७९ भाद्र २०, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित