सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार


सत्ता गठबन्धनको कार्यदलले सिट बाँडफाँट सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । कार्यदलका सदस्य एवम सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन तयार भएको र यसलाई भोलिको बैठकमा अन्तिम रुप दिइने जानकारी दिनुभयो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘‘अत्यन्त संक्षिप्त कुरा तपाईंहरुमार्फत जानकारी गराउछुँ । जुन दिएको जिम्मेवारी छ, त्यस अनुसार प्रतिवेदन तयार गरेका छौं । अन्तिम रुप दिनका निमित्त भोलि बिहान ९ बजे बैठक बस्छ ।’’

अन्तिम रुप दिएपछि प्रतिवेदन शीर्षस्थ नेतृत्वमा भोलि नै बुझाइने उहाँको भनाइ छ । यद्यपि सिट संख्याबारे भने थप छलफल गरेर औपचारिकरुपमा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिट संख्या करिब–करिब मिलेको छ । त्यसका निमित्त छलफलको आवश्यकता छ । प्रतिवेदन बनाउने काम प्रारम्भ गरिसकेका छौं ।’’

कुल ११ सदस्यीय कार्यदलको संयोजक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ । कांग्रेसबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, महामन्त्री गगन कुमार थापा सदस्य हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र)बाट देव गुरुङ, वर्षमान पुन, एकीकृत समाजवादीबाट वेदुराम भुषाल, प्रमेश हमाल हुनुहुन्छ ।

यसैगरी, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोेर्चाबाट हिमलाल पुरी, आनन्द शर्मा सदस्य हुनुहुन्छ ।Source: Gorkhapatra 


प्रकाशित : २०७९ भाद्र २३, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित