सफल र असल शिक्षणमा शिक्षकको भूमिका


कलाका विभिन्न भेदमध्ये शिक्षण अत्यन्त सुन्दर कला हो । गुरूकूल परम्पराबाट प्रादुर्भाव भएको शिक्षण क्रियाकलाप विभिन्न चरण तथा घुम्तीहरू पार गर्दै वर्तमान समयसम्म आइपुगेको छ । गुरूबिना शिक्षण ताथा जीवन नै अपूर्ण र अधुरो हुने भएर नै होला दानवले शुक्राचार्य र देवताले वृहस्पतिलाई गुरू मानेका । तसर्थ प्रत्येक व्यक्तिका गुरू हुन्छन् । मेरा पनि गुरू हुनुहुन्छ र म पनि कसैका लागि गुरू हुँ । गुरू बनेर शिक्षण गर्दाका मेरा पनि केही अनुभवहरू छन् ।

विद्यालय सौन्दर्यमय एउटा फूलबारी हो । फूलबारी विभिन्न फूलहरू फुलेर शोभायमान भए झैँ विद्यालय पनि विभिन्न जात जाति धर्म संस्कृति भाषा आदिसँग सम्बन्धित विद्यार्थीहरूको सङ्गम स्थल हो । फूलबारीमा कुनै फूल मलजल गोडमेलबिना नै फलेर सुुन्दरता र सुबास छर्छ भने कुनै फूल पटक पटक गोडमेल, मलजल गरेपनि मुस्किलले फुल्छ । हो त्यस्तै कुनै विद्यार्थी अत्यन्त प्रतिभावान , अनुशासित परिश्रमी र लटरम्म फलेका फलका हाँगा झुके झैँ झुक्ने हुन्छन् ।

शिक्षकले आँ गर्दैमा तिनीहरूले अलङ्कार बुझ्दछन् । कोही स्वभावैले अल्छी गर्ने र बिर्सने प्रवृत्तिका हुन्छन् । त्यसैले कक्षाकोठामा यस्ता खालका विद्यार्थीहरूलाई बढी हेर विचार पु¥याउनु पर्ने हुन्छ । यिनीहरूको बौद्धिक क्षमता तिखार्नु पर्छ । उनीहरूले पत्तै नपाउने गरी उनीहरूको अल्छीपना घटाउने र क्षमताको अभिवृद्धि गर्नु जरूरी हुन्छ । त्यस्ता वर्गका विद्यार्थीको प्रगतिजन्य कामलाई प्रोत्साहन दिनुपर्छ जसबाट विद्यार्थीमा हौसला अभिवृद्धि होस् ।पूर्व तयारीका साथ शिक्षक कक्षाकोठामा प्रवेश गर्दा उक्त कक्षा तथा पिरियड रोचक, रमाइलो र प्रभावकारी बन्छ । समय तुरून्तै बित्दछ ।

विद्यार्थीले स्पष्टसँग बुझ्दछन् फलस्वरूप शिक्षकमा आत्मसन्तुष्टि हुन्छ । शिक्षकबाट नै विद्यार्थीले सद्गुण सिक्ने भएकाले शिक्षक स्वयम् अनुशासित, शिष्ट, नम्र, मृदुभाषी र हँसिलो हुनु आवश्यक छ । पाठ अनुसार आवश्यक पर्दा शिक्षकले विद्यार्थीलाई विभिन्न अभिनय गरेर देखाउन सक्नुपर्छ । कक्षाकोठामा प्रवेश गरी एकोहोरो व्याख्यान गर्नुभन्दा विद्यार्थीको मनोभावना बुझेर विद्यार्थी केन्द्रित विभिन्न विधिहरू अपनाई गरिएको शिक्षण सरलीकृत तथा प्रभावकारी बन्दछ । शिक्षक त कक्षाकोठामा विद्यार्थीहरूलाई पाठ्यक्रम अनुसारका समस्याहरू दिने र समाधान गर्न सहयोग गर्ने पात्र बन्ने हो वा सहजकर्ता मात्र बन्ने हो शुरूमा सामूहिक रूपमा पछि व्यक्तिगत रूपमा काम गर्ने बानीको विकास गराउने आफूलाई अगाडि ल्याउन निडरता अभिवृद्धि गराउने जस्ता गुणको विकास गराउने भूमिका पनि शिक्षकको नै हो ।

कक्षाकोठामा विभिन्न सक्षमताका विद्यार्थीहरू हुने भएकाले जान्ने विद्यार्थीहरूको एक समूह मध्यमखालका विद्यार्थीहरूको अर्को समूह र कमजोर विद्यार्थीहरूको अर्को समूह बनाई तेस्रो समूहलाई शिक्षकले बढी ध्यान पु¥याउने र सामान्य कुरा देखिनै सिकाउने हो भने कमजोर जस्तो देखिएको विद्यार्थीको व्यवहारगत रूपमा छिट्टै परिवर्तन हुन्छ । ऊ सिकाइमा पछि पर्दैन अगाडि आउँछ । जान्नेहरूको समूहलाई उच्च दक्षताको प्रश्न दिएर समाधानको उपाय खोज्न र लेख्न लगाउनुपर्छ । मध्यम खालका विद्यार्थीलाई हाम्रो समूह पनि कमजोर छैन भन्ने प्रमाणित गर्न अभ्यास गराइ नै रहनु पर्छ । कक्षाकोठामा नजान्ने विद्यार्थीको सङ्ख्या कम नै हुने भएकाले प्रत्येक समूहमा प्रतिभावान , मध्यम र कमजोरको अनुपात मिलाएर राख्दा प्रतिभावानले सहयोग गर्छ र कमजोरको पनि सिकाइ उपलब्धिमूलक हुन्छ ।

प्रत्येक दिन कक्षाकोठामा सिङ्गो पिरियडभर पढाउने मात्र होइन कि पढाइएका कुरा स्मरण गरेर लेख्ने सिप र बानीको विकास गराउनुपर्छ । बढी भन्दा बढी उदाहरण प्रसङ्ग कथा आदिद्वारा विषयवस्तु छर्लङ्ग पार्न सक्नुपर्छ । यो विषय त पढ्नै मन लाग्दैन भन्ने विद्यार्थीलाई पनि केही दिनको सिकाइ पश्चात् त्यो विषय र पिरियड अत्यन्त आकर्षक तथा मनोहारी बनाउन सक्नुपर्छ । विद्यार्थीलाई पठनपाठनमा मात्र सरिक राख्नुभन्दा खेलकुद हाजिरीजवाफ साहित्यिक जस्ता विभिन्न किसिमका अतिरिक्त क्रियाकलापम समान रूपमा सहभागी भई शारीरिक तथा बौद्धिक विकास हुने अवसर दिइरहनुपर्छ ।

वास्तवमा शिक्षण त शिक्षक डाक्टर राजनीतिज्ञ नेता नायक पत्रकार इन्जिनियर आदि तयार गर्ने महान पेसा हो । डुङ्गाभरि बसेका यात्रीहरूलाई सतर्क र यात्रा आरामदायी बनाउँदै बहानाले खियाएर नदीको गहिराइ, बहाब र छाल पार गरी ओल्लो किनारबाट पल्लो किनारसम्म सकुशल पु¥याउने माझी कला जस्तै उच्च छ शिक्षणकला । विद्यार्थीहरूको मनोभावना बुझी आवश्यक रूपमा उनीहरूको व्यवहारमा परिवर्तन गर्न सक्नु नै सिकाइ हो शिक्षण हो ।

Source:News of Nepal 


प्रकाशित : २०७९ भाद्र २३, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर