गठबन्धप्रति काँग्रेसमा असन्तुष्टि, रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै देउवालाई ज्ञापनपत्र


नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले रुखमा भोट हाल्न पाउनु पर्ने माग गर्दै केन्द्रीय सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन् । बिहीबार वागमती प्रदेशका १३ जिल्ला सभापतिका तर्फबाट धादिङका सभापति रामनाथ अधिकारीले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा कांग्रेसका नेता–कार्यकर्ताहरूले रुख चिह्नमा भोट हाल्न पाउनुपर्ने उल्लेख गरिएको अधिकारीले जानकारी दिए । वागमतीका चितवन निर्वाचन क्षेत्र नम्बर–३, धादिङ–१, सिन्धुपाल्चोक–१, काभ्रे–१, काठमाडौं–८, काठमाडौं–२, रामेछाप, मकवानपुर–१, नुवाकोट–१ र ललितपुर–१ को सिट कांग्रेसले गठबन्धनका अरू दलहरूलाई छाड्नुपर्नेछ । सिट बाँडफाँटको अन्तिम टुंगो लगाउने तयारी भइरहेका बेला जिल्ला सभापतिहरूले रुखभन्दा अन्यत्र भोट माग्न समस्या हुने जानकारी गराएका हुन् । कांग्रेसले आसन्न निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने भन्दै रुखभन्दा अन्यत्र भोट माग्न र हाल्न नसक्ने पार्टी सभापतिलाई जानकारी गराएको अधिकारीले बताए । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले ‘भइहाल्छ भइहाल्छ’ मात्र भनेको अधिकारीले जानकारी दिए ।

गठबन्धनका कारण कांग्रेस अप्ठ्यारोमा नपरोस् ः नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनभित्र पार्टीले प्रत्यक्षतर्फ कम्तीमा एक सय सिट पाउनुपर्ने धारणा राखेका छन् । नेपाल प्रेस युनियनद्वारा १०९औँ विपी जयन्तीका अवसरमा जनकपुरधाममा बिहीबार आयोजित विपी विचार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र अबका चुनौती विषयक विचार गोष्ठीमा नेता डा कोइरालाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धनभित्र प्रत्यक्षतर्फ एक सय सिट पाउनुपर्ने जिकिर गर्दै गठबन्धनका कारण नेपाली कांग्रेसलाई कुनै अप्ठ्यारो पर्न नहुने बताए ।
नेता कोइरालाले पाँचदलीय गठबन्धन बिचित्रको रहेको, विचार र सिद्धान्त नमिल्ने दलहरूसँग गठबन्धन भएको भन्दै गठबन्धनका कारण अहिले नेपाली कांग्रेस अप्ठ्यारो अवस्थामा रहेको बताए । एमालेले संविधानलाई प्रहार गरेपछि त्यसलाई बचाउन गठबन्धन गरिएको उनले स्पष्ट गरे । नेता डा कोइरालाले भने, “यो गठबन्धन पवित्र हो कि अपवित्र त्यो निर्वाचनपछि मात्र थाहा हुन्छ ।” कांग्रेसमा उम्मेदवारका आकाङ्क्षी नेताको व्यवस्थापन गर्न पनि कांग्रेस पार्टीलाई प्रत्यक्षतर्फ मात्र एक सय सिट आवश्यक पर्ने उनको तर्क थियो ।


प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित