मलेसियामा तेलीको मृत्युदण्डको सजाय परिवर्तन


मलेसियाको उच्च अदालतले वैदेशिक रोजगारीमा मलेसिया पुगेका धनुषाका सुरजदेव साह तेलीको मृत्युदण्ड सजाय परिवर्तन गरेकोे छ । कर्तव्य ज्यान अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका तेलीको मृत्युदण्डको सजाय परिवर्तन गरी मलेसियाको पुत्राजयस्थित उच्च अदालतले १२ वर्षको जेल सजाय कायम गरेको हो ।

 

मलेसियास्थित नेपाली दूतावासले बिहीबार तेलीको सजाय परिवर्तन भएको जनाएको छ । मलेसियन फौजदारी संहिताको दफा (३०२) बाट दफा (३०४) क मा परिवर्तन गरी उनको सजाय परिवर्तन भएको दूतावासको भनाइ छ ।

 

परिवर्तन भएको सजाय अनुसार तेली सन् २०२८ सम्म कैदमा बस्नुपर्ने छ । तेलीलाई मलेसियास्थित इपो उच्च अदालतले सन् २०२० अगष्टमा त्यहाँको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो । उनीमाथि मलेसियन नागरिकको हत्याको अभियोग छ ।

 

तेली धनुषा गोविन्दपुर २ का स्थायी बासिन्दा हुन् । मलेसियामा रोजगारी गरिरहेका तेली सन् २०१६ मा कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका थिए । उनले आफू हत्यामा संलग्न नभएको तर शव व्यवस्थापनमा सहभागी रहेको बताउँदै आएका छन् ।Source : Madhyanha 


प्रकाशित : २०७९ भाद्र २४, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित