इन्धनबाट चल्ने गाडीमाथि प्रतिवन्ध लगाउँदै सरकार


सरकारले कम्व्युसन इन्जिनयुक्त गाडी प्रतिबन्ध लगाउने योजना बनाइरहेको छ । विश्वका अधिकांश देशले कम्बस्चन इन्जिनयुक्त गाडीको प्रयोग क्रमिक रुपमा घटाउँदै सन् २०५० सम्ममा पूर्ण विद्युतीय गाडी मात्रै चलाउने घोषणा गरिरहेको समयमा नेपाल सरकारले पनि कार्यान्वयनको मिति घोषणा गर्न लागेको हो ।गाडी निर्माताहरुले नै सन् २०३० देखि ४० भित्र आफ्ना सम्पूर्ण कम्बस्चन यूनिट उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन् । अझ केही उत्पादकले भने सन् २०३० भित्रै पूर्ण इलेक्ट्रीक कार मात्रै बनाउने घोषणा गरेका छन् । नेपाल सरकारले अहिले उच्च ब्यापार घाटा र विदेशी मुद्राको संचितिमा परेको असर देखाउँदै कम्बस्चन इन्जिनबाट चल्ने प्यासेन्जर गाडी आयातमा प्रतिबन्ध लगाइरहेको छ ।

यो प्रतिबन्ध अबको केही दिनपछि खुल्ला गर्ने र त्यो खुल्ला गर्ने समयमा नै कम्बस्चन इन्जिन युक्त गाडीको आयात पूर्णरुपमा रोक्ने मिति घोषणा पनि गर्ने तयारी भइरहेको वाणिज्य मन्त्रालय स्रोतले जनाएको छ । सरकारले नेपाल राष्ट्र बैंकका गर्भनर, योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, बाणिज्य सचिब लगायतलाई सदस्य बनाएर आयात खुल्ला गर्ने वा नगर्ने, कहिलेबाट कसरी गर्ने भन्ने निर्णय लिन बनाएको कमिटिले नेपालमा पूर्ण विद्युतीय गाडी मात्रै विक्री गर्ने समय सिमा तोक्ने तयारी गरेको हो ।

‘अहिले आयात खोल्ने विषयमा छलफल सुरु भएको छ । विश्वमै विद्युतीय साधन कहिलेसम्ममा पूर्ण प्रयोगमा ल्याउन सकिन्छ भन्ने बहस चलिरहेको समयमा नेपालमा पनि एउटा मिति तय गरेर जानु पर्ने कुरा उठेको छ । तर, कुन मितिलाई आधार मानेर जाने भन्ने विषयमा निर्णय भइसकेको छैन’, कमिटिमा रहेका एक सदस्यले भने ।ती सदस्यका अनुसार एउटा निश्चित मिति दिएर त्यो मिति पछाडि कम्बस्चन इन्जिन भएका गाडी नेपाल ल्याएर विक्री गर्न नपाउनेगरी ब्यवस्था गर्न लागिएको हो ।

सवारीसाधनको संख्या बढ्दै जाने निश्चित छ । नेपालको तुलनात्मक लाभको बस्तु विद्युत हो । नेपाली कच्चा पदार्थबाट उत्पादन हुने भएकाले बाहिर पैसा पनि नजाने, वातावरण पनि राम्रो हुने, सञ्चालन लागत पनि कम हुने भएकाले विद्युतीय गाडीको प्रयोग बढाउन सरकारले यो नीति लिन लागेको हो ।

अहिले नै कुल आयातको झण्डै २५ प्रतिशतभन्दा माथि रकम पेट्रोलियम पदार्थसँग सम्बन्धीत छ । त्यसैले नेपाल चाँडै इलेक्ट्रीकल भेहिकलमा जानुपर्ने स्रोतको दाबी छ ।‘सन् २०३० पछि नेपालमा विद्युतीय गाडी मात्रै ल्याउन र उत्पादन गर्न पाइनेगरी व्यवस्था हुनेछ । अहिल्यै यो ब्यवस्था कार्यान्वयन गर्नुपर्छ भनेर जाने हो भने सरोकारवाला सबैले त्यसमा ध्यान दिनेछन् र कार्यान्वयन गर्न सहज हुनेछ,’ ती सदस्यले भने ।

३२ स्थानमा चार्जिङ्ग सेन्टर जडान हुँदै

प्राधिकरणले निर्माण गर्ने चार्जिङ स्टेशन काठमाडौंको नयाँ बसपार्क, त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय र साझा सेवा बल्खुमा बन्ने छ । यी मध्ये रत्नपार्कको तयार भएर सञ्चालनमा आइसकेको छ भने बल्खुको निर्माण कार्य अन्तिम चरणमा छ । बल्खुको चार्जिङ सेन्टर पनि अबको केही दिन भित्रै संचालनमा आउने प्राधिकरणको चार्जिङ इन्फाष्टक्चर डेभलपमेन्ट प्रोजेक्टले जनाएको छ ।

त्यसैगरी काभ्रेको बनेपा, कन्चपुरको महेन्द्रनगर बसपार्क, प्राधिकरणको कार्यालय अत्तेरीया कैलाली, लम्की बसपार्क कैलाली, कोहलपुर स्मार्ट रिफ्रेश सेन्टर र बाँके बस पार्क छनोट भएर काम अगाडि बढेको छ ।

सुर्खेत बसपार्क, लमही रिफ्रेश सेन्टर दाङ, लमही बसपार्क दाङ, चन्द्रौटा रिफ्रेश सेन्टर कपिलबस्तु, सैनामैना रिफ्रेश सेन्टर रुपन्देही र भैरहवा बसपार्कमा पनि चार्जिङ स्टेशनको काम अगाडि बढेको छ ।

बर्दघाट रिफ्रेश सेन्टर नवलपरासी, लेकसाइड पोखरा, टुरिष्ट बसपार्क पोखरा, पारस बसपार्क भरतपुर, मुग्लिन पुल, हेटौंडा बसपार्क र सिन्धुली बसपार्क सिन्धुलीमा निर्माण हुनेछ ।

त्यस्तै खुर्कोट रिफ्रेश सेन्टर सिन्धुली, बिरगंज बसपार्क पर्सा, हरिऔंन रिफ्रेश सेन्टर सर्लाही, निजगढ बारा, लाहान बसपार्क, बेलका रिफ्रेश सेन्टर उदयपुर, इटहरी बजार र बिराटनगर ईभी चार्ज केन्द्रगरी कुल ३२ स्थान छनोट भएर काम अगाडि बढेको हो ।

अहिले चार्जर जडान भएका स्थानमा चार्जिङ स्टेशन निर्माणको काम चीनको वाङबाङ डिजिटल इनर्जीले पाएको थियो । वाङबाङ डिजिटल इनर्जीको नेपाल प्रतिनिधिको रुपमा दिगो ग्रुपले काम गर्दै आएको छ ।

प्राधिकरणले निर्माण सुरु गरेको चार्जिङ स्टेशनमा ६० किलोवाट क्षमताको सीसीएस २.० गन भएको डिसी फास्ट चार्जर रहने छ । तर अहिले कम्पनीले सीसीएस गन जडान गरेको छैन । रत्नपार्कमा संचालनमा आएको चार्जर जिबी÷टी गन भएको ६० किलोवाट क्षमताको डिसी र २२ किलोवाट क्षमताको एसी हो । रत्नपार्क लगायत बनेका चार्जिङ नेटवर्कमा चाँडै सीसीएस २ गन पनि जडान हुने दिगो ग्रुपले जनाएको छ ।Source : Sourya Online 


प्रकाशित : २०७९ भाद्र २६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित