१ लाख १५ हजार म्यादीका लागि भर्ना खुल्दै


 नेपाल प्रहरीले आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाउँदै छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आज आइतबार भर्नासम्बन्धी सूचना प्रकाशित हुँदै छ भने ३० भदौबाट आवेदन लिइनेछ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले २६ भदौमा म्यादी प्रहरी भर्नाका लागि सूचना प्रकाशित हुने र ३० भदौबाट दरखास्त लिइने जानकारी दिएका छन् ।

प्रधान कार्यालयले म्यादी प्रहरी भर्ना गर्दा गत स्थानीय तह निर्वाचनमा जिम्मेवारी पूरा गरी घर फर्किएका र पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकतामा राख्ने भएको छ ।

भर्ना प्रक्रियाका लागि गृह मन्त्रालयले म्यादी प्रहरी छनोट मापदण्ड स्वीकृत गरेपछि प्रधान कार्यालयले भर्ना खुलाउने भएको हो । जसअनुसार ६ असोजसम्म भर्नाका लागि दरखास्त लिइनेछ । त्यसपछि १० दिन तालिमको प्रक्रिया अघि बढ्नेछ ।

म्यादी प्रहरी भर्नाको अन्तिम नतिजा आगामी २५ असोजमा सार्वजनिक गर्ने तयारी छ । यसरी भर्ना भएकाको कार्यावधि भने स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुने प्रहरी प्रवक्ता राईले जानकारी दिए ।

प्रधान कार्यालयले निर्वाचनका लागि ‘१ लाख २० हजार म्यादी प्रहरी आवश्यक पर्ने’ भन्दै संख्या र बजेटसहितको विवरण गृह मन्त्रालयलाई बुझाएको थियो । यसपछि गृहले अर्थ मन्त्रालयसँग स्वीकृति मागेको थियो ।

अर्थ मन्त्रालयले प्रहरीबाट माग भएभन्दा ५ हजार संख्या कम गरेर १ लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि स्वीकृति दिएको थियो ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीमा भर्ना भएर जिम्मेवारी पूरा गरेका म्यादी प्रहरी आगामी छनोट प्रक्रियामा प्राथमिकतामा पर्नेछन् । पुरानाबाट अपुग भएको अवस्थामा नयाँले अवसर पाउनेछन् । स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो ।

‘पहिले जिम्मेवारी पूरा गरेकासँग अनुभव पनि छ, उनीहरूलाई ल्याउँदा तालिमको आर्थिक भार पनि कम पर्छ,’ प्रहरी प्रवक्ता राईले भने ।
नयाँ भर्ना हुने म्यादी प्रहरीका लागि भगौडामा परेका प्रहरी तथा पूर्वसुरक्षाकर्मी भने अयोग्य हुनेछन् । पहिले खटिएका तर अनुशासन कारबाहीमा परेका पूर्वम्यादीलाई पनि नयाँ भर्नाका लागि योग्य मानिनेछैन ।

प्रधान कार्यालयले जिल्लागत रूपमै संरचनागत तहबाट आवश्यक म्यादी प्रहरीको आँकडा तयार गरेकाले त्यसअनुसार आवेदन माग गर्नेछ ।Source : Rajdhani


प्रकाशित : २०७९ भाद्र २६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित