कांग्रेस नेता घिमिरेकाे निधन, प्रधानमन्त्री देउवाद्वारा दु:ख व्यक्त


नेपाली कांग्रेसका नेता विजयराज घिमिरेको निधन भएको छ । उनको गए राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको आजै अपराह्न १ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएकाे छ । यसैबीच नेपाली कांग्रेसले घिमिरेको निधनप्रति दुःख व्यक्त गरेको छ ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज शोक विज्ञप्ति जारी गर्दै घिमिरेको निधनप्रति गहिरो दुःख व्यक्त गरेकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सभापति देउवाले घिमिरेको निधनमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चीरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

घिमिरे क्यान्सर रोगबाट पीडित थिए । विसं २०५६ र २०७४ को आम निर्वाचनमा पाल्पा क्षेत्र नम्बर १ बाट कांग्रेसको उम्मेदवार बनेका घिमिरे कांग्रेस केन्द्रीय लेखासमितिको पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य थिए ।

विसं २०२५ मा जन्मेका घिमिरेले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पार्टीको तर्फबाट सक्रिय भूमिका खेलेका थिए ।Source: Sourya Online 


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित