डिजिटल रूपान्तरणले नेपालले आर्थिक फड्को मार्न सक्छ


विश्व बैंकले नेपालसँग डिजिटल प्रविधि विकासका लागि वर्षौंदेखि सहकार्य गरिरहेको छ । विश्व बैंकको सबैभन्दा पहिलो प्राविधिक योजना भनेको दूरसंचारको विकास थियो । यो करिब ५ दशक पहिला सुरु भएको थियो । अहिले भने हामी नेपालमा प्रविधिको प्रयोग गरेर कसरी आर्थिक विकास गर्न सकिन्छ भन्नेमा केन्द्रित भएर काम गरिरहेका छौं ।

जसमा सरकार र नागरिकलाई प्रविधिको माध्यमबाट कसरी जोड्न सकिन्छ भन्ने हिसाबले योजनाहरू बनिरहेका छन् ।

अहिले नेपालमा भएको प्रविधिको विकासले गर्दा सबैसँग डिजिटल रुपमा जोडिन सक्ने क्षमता छ । तर यसको प्रयोग कसरी गर्ने भन्ने विषय नै अहिले बहसको प्रमुख केन्द्र हो । यदि सबै प्रविधिसँग जोडिने अवस्था रह्यो भने त्यो ट्रान्जेक्सनमा पनि देखिन्छ ।

पछिल्लो केही दशकमा नेपालले प्राविधिक विकासमा ठूलो फड्को मारेको छ । त्यो सकारात्मक कुरा हो । नेपालमा अहिले नेपालको सबै कुनामा मोबाइल नेटवर्क पुगेको भनेर सुनिन्छ । तर को केका लागि अनलाइन छ भन्ने पनि महत्त्वपूर्ण विषय हो । साथै अहिले फोर जी नेटवर्कमा व्यापक विस्तार भएको छ । भविष्यमा फाइभ जी पनि आउँछ । यति हुँदाहुँदै पनि क्षेत्र, आम्दानी र आवश्यकताका हिसाबमा कसले के प्रयोग गर्छन् भन्ने पनि हुन्छ । यसका साथै प्रयोगमा आउने नेटवर्कको गुणस्तर कस्तो छ भन्ने प्रश्न पनि आउँछ । किनभने सहरी क्षेत्रमै हुँदै पनि केही स्थानमा नेटवर्क राम्रोसँग नआने समस्या पनि छ । त्यसप्रकारको भिन्नतालाई भने हटाउन जरुरी छ ।

नेपालमा अहिले २० प्रतिशत घरमा मात्रै फिक्स बोर्ड ब्यान्ड इन्टरनेट पुगेको छ । विश्वसँग त्यसको तुलना गर्दा अधिकांश अन्य मुलुकमा त्यो ५० प्रतिशतभन्दा माथि छ । त्यसमा केही काम गर्नुपर्ने देखिन्छ । साथै बोर्ड ब्यान्ड इन्टरनेटको पहुँच अहिले पनि सहरकेन्द्रित नै छ । यद्यपि इन्टरनेट सेवा प्रदान गर्ने संस्थाहरुले पूर्वाधार विकास गरेर ९० प्रतिशतलाई फाइबर कनेक्सन नै उपलब्ध गराउने धेरै राम्रो कुरा हो । यस अर्थमा आधारभूत कनेक्सन भने यहाँ उपलब्ध छ ।

अब भनेको उपलब्ध पूर्वाधारको प्रयोग गरेर भविष्यमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बहस महत्त्वपूर्ण हुन जान्छ । जहाँ सबैजना गुणस्तरीय नेटवर्कसँग जोडिन सकुन् जुन सस्तो र भरपर्दो पनि होस् । जसले गर्दा गाउँगाउँका स–साना व्यवसाय पनि इन्टरनेटका माध्यमबाट सबैसँग जोडिन सक्छन् । कृषि, पर्यटन जस्ता क्षेत्रमा त्यसपछि डिजिटल रुपमा नै पैसाको लेनदेन गर्न सहज हुन्छ ।

अर्थतन्त्रमा प्रविधिको विकासको कुरा गर्ने हो भने नेपालले प्रशंसनीय काम गरेको छ । किनभने अहिले पैसा नबोके पनि मोबाइलबाट पैसा तिरेर हिँड्न सकिने अवस्था छ । मैले एकपटक घरमा पर्स छोडेर हिँड्दाको अनुभव हो त्यो । मैले कुन–कुन माध्यमलाई इंगित गर्न खोजेको हुँ भन्ने कुरा बयान गरिरहनु नपर्ला ।

अब भनेको त्यो प्राविधिक विकासलाई अन्तर्राष्ट्रिय रुपमा जोडेर कसरी लेनदेन सुरु गर्न सकिन्छ भन्ने हो । जुन समावेशी हुनुका साथै सुरक्षित र भरपर्दो हुनु जरुरी छ ।

यति हुँदाहुँदै पनि यहाँ कामगर्ने दक्ष जनशक्तिको भने कमि छ भन्ने मैले तारन्तार सुनिरहेको हुन्छु । जसका लागि गुणस्तर र परिमाणमा केही काम गर्नुपर्ने देखिन्छ । नभए युवाहरु त्यसको खोजीमा नेपाल बाहिर जाने विषयलाई नियन्त्रण गर्न सकिन्न ।

महामारीको समयमा जब धेरैभन्दा धेरै प्रविधिको प्रयोग भयो तब विश्वासको कुरा पनि मूलभूत रुपमा अगाडि आएको छ । के हाम्रो व्यक्तिगत विवरण वा तथ्यांक सुरक्षित छ त भन्ने प्रश्न सबैले उठाएका छन् । साइबर सेक्युरिटीमा पनि केही काम गर्नुपर्छ किनकि आफ्नो व्यक्तिगत विवरण कसरी प्रयोग हुन्छ भन्ने विषयमा धेरैलाई चिन्ता हुन्छ । यसतर्फ धेरै बहस भइरहेका छन् ।

साथै, नेपालको भौगोलिक अवस्थाले पनि धेरै चुनौती सिर्जना गरेको छ । नेपालमा २५० किलोमिटरभित्र तल्लो भूभागदेखि हिमालको चुचुरासम्म पर्छ । सबै स्थानमा नेटवर्क विस्तार गर्नु आफैंमा चुनौती हो । जसका लागि धेरै पैसा आवश्यक पर्छ र त्यो जटिल पनि छ । त्यसैले गर्दा पनि सूचना र बजारमाथिको पहुँचमा भेदभाव छ । त्यसैले प्रविधिको प्रयोग गरेर जो जहाँ भएपनि भौगोलिक अवस्थितिलाई पन्छाएर कसरी सबैलाई जोड्न सकिन्छ भन्ने विषय नै चुनौतीपूर्ण छ ।

साथै, अहिले भएको प्राविधिक विकासका कारण विश्वभर नै डेटा फ्लो कस्तो हुनुपर्छ भन्ने विषयमा ठूलो चर्चा परिचर्चा हुने गरेको छ । डेटा फ्लो जुनरुपमा भइरहेको छ त्यसले एकातर्फ आइडिया, व्यापार तथा ईकमर्सका साथै फरक क्षमता भएका व्यक्तिहरुलाई पनि जोडिन मद्दत गरेको छ । त्यसले अवसरहरुको सिर्जना गरेको छ । अर्कोतर्फ भने अवसरहरुका लागि हामीले नि:शुल्क उपभोग गरिरहेका माध्यमहरुले प्राप्त गर्ने हाम्रो व्यक्तिगत विवरणहरुको प्रयोग र सुरक्षाको चिन्ता पनि प्रमुख रुपमा उठिरहेको छ ।

आफ्नो व्यक्तिगत सूचना कुन रूपमा प्रयोग गर्न दिने भन्ने ‘कन्सेन्ट आर्टिटेक्चर’को पनि विकास नभएको होइन । उदाहरणका लागि युरोपमा प्रयोग हुने हरेक वेबसाइटले तपाईंसँग हरेकपटक कन्सेन्ट मागिरहेका हुन्छन् । सरकारी र सार्वजनिक संस्थानहरुसँग पनि व्यक्तिका धेरै संवेदनशील डेटाहरु उपलब्ध छन् । केही व्यापारिक संस्थाहरुमा पनि त्यस प्रकारका नियमहरु छन् ।

त्योसँगै डेटा कसले कहिले कसरी प्रयोग गर्छन् भन्ने विषय पनि महत्त्वपूर्ण छ । किनभने डेटाको राम्रो विश्लेषण र प्रयोग गरियो भने त्यसबाट सबै लाभान्वित पनि हुनसक्छन् । उपलब्ध डेटाकै मद्दतबाट ट्राफिक योजनाहरु बनाउन सकिन्छ । विद्यालयको व्यवस्था गर्न सकिन्छ, प्रकोपको समयमा खानेकुरा व्यवस्थापन सहज हुन्छ । यी सामान्य उदाहरणहरु हुन् । अझ कोभिड महामारीले डेटाको महत्त्वलाई धेरै हदसम्म सार्वजनिक बहसको विषय बनाउन मद्दत गर्यो । खासगरी खोप कसरी बन्छ कहिले बन्छ कहिले पाइन्छ भन्ने विषयका डेटाहरु सार्वजनिक भएकैले पनि त्यसबारे धेरै कुराहरु आममानिसले थाहा पाए ।

धेरैभन्दा धेरै डेटा सिर्जना गर्ने भनेको आममानिसले नै हो र त्यो उनीहरुकै लाभका लागि प्रयोग गरिनुपर्छ । त्यो निकै जटिल छ । तर यसमा घनिभूत रूपमा बहस भइरहेको छ ।

-विश्व बैंकका वरिष्ठ डिजिटल विकास विज्ञ सिद्धार्थ राजाले कान्तिपुर कन्क्लेभ-२०२२ को ‘डिजिटल रूपान्तरणको लाभ’ सत्रमा व्यक्त गरेको विचारको सम्पादित अंश ।Source : Kantipur 


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित