भारतविरुद्ध नेपालको अग्नि परीक्षा


नेपाली डिफेन्डर र गोलरक्षकको परीक्षण नै हुन पाएको छैन ।’ प्रशिक्षक कुमार थापाले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० ले हराएर समूह विजेता बनेपछि दिएको प्रतिक्रिया हो यो । हुन पनि नेपालले खेलेको समूह चरणको दुई खेलमा डिफेन्स लाइन केही व्यस्त हुँदा गोलकिपरले खासै मिहेनत नै गर्नुपरेको छैन । ‘प्रदर्शनलाई हेर्नेे हो भने हामी गोल गर्न हतार देखियौं । सिस्टममा खेल्नेछौं त्यसैलाई फलो गर्नेछौं । खेलाडीले ट्यालेन्ट पनि देखायो । यो राम्रो हो, तर यसरी खेले गाह्रो हामीलाई गाह्रो हुन्छ । हाम्रो डिफेन्स कस्तो र गोलकिपिङ कस्तो भनेर परीक्षण गर्नै पाएनौं । यो च्यालेन्जिङ हुन सक्छ । डिफेन्स लाइन र गोलकिपिङ बलियो छ भन्ने देखाउँछौं ।’ यो पनि प्रशिक्षक थापाले बोलेका शब्द हुन् ।

पहिलो खेलमा भुटानलाई ४–० ले तथा दोस्रो खेलमा श्रीलंकालाई ६–० ले हराउँदा नेपालले यी दुवै खेलमा विपक्षीबाट खासै चुनौतीको सामना गर्नुपरेन । सात साताको तयारीपछि साफ च्याम्पियनसिपमा होमिएको नेपालको लागि यो अभ्यास खेल जस्तै बनेको थियो । यही डिफेन्स लाइन र गोलकिपिङमा परीक्षण हुन नपाएको नेपालले शुक्रबार सर्वाधिक तथा सबै पाँचै संस्करणको च्याम्पियन भारतसँग खेल्दा यी दुवैको असली परीक्षण हुनेछ । फाइनल प्रवेशका लागि नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजेपछि हुनेछ । साफको इतिहासमै पहिलो हार बेहोर्ने क्रममा भारत बंगलादेशसँग ३–० ले स्तब्ध भएपछि सेमिफाइनलमा नेपालले भारत प्रतिद्वन्द्वी पाएको हो । भारत त्यही टोली हो, जसलाई साफ च्याम्पियनसिपमा नेपालले हराउन सकेको छैन ।

त्यसैले शुक्रबार भारतविरुद्ध हुने खेल साफ च्याम्पियनसिपमा नेपालको क्षमताको असली अग्नि परीक्षा हुनेछ । अघिल्ला ५ मध्ये ४ संस्करणमा फाइनल खेल्दा नेपाल भारतसँग पराजित भएको थियो । सन् २०१६ मा सेमिफाइनलमा पनि भारतसँगै पराजित भएर घर फर्किएको थियो । साफ च्याम्पियनसिपमा नेपाल हालसम्म भारतबाहेक कुनै पनि टोलीसँग हारेको छैन ।

त्यति बेला भारतीय भूमिका सेमिफाइनलमा हारेको नेपालले यसपटक घरेलु मैदानको फाइदा उठाउँदै भारतको चुनौती पार गर्नुपर्नेछ । प्रशिक्षक थापाले खेलको रणनीतिमा कुनै परिवर्तन नहुने प्रस्ट पारिसकेको छ । थापासँगको अर्को संयोग पनि छ । उनको प्रशिक्षणमा पछिल्लोपटक नेपाल भारतसँग सेमिफाइनलमै पराजित भएको थियो । यसपटक थापा त्यो छविलाई बदल्न प्रयासमा हुनेछन् । साफ च्याम्पियनसिपको त्यो हारको ६ वर्षपछि थापा उही स्थानमा छन् ।

थापासँग भारतविरुद्ध त्यही स्थानबाट बदला लिने मौका छ । अन्यथा फेरि एकपटक थापा सेमिफाइनलको जिंक तोड्न असफल बन्नेछ । त्यसैले थापा भन्छन्, ‘विगत सम्झिएर वर्तमानको तुलना गर्न मिल्दैन । हामी वर्तमानमा नतिजा आफ्नो पक्षमा पार्न भरपुर प्रयास गर्नेछौं’, थापाले थपे । बंगलादेशसँग अप्रत्यासित हार बेहोरेको भारतका लागि नेपालसँगको खेल प्रतिष्ठाको लडाइँ पनि हुनेछ ।

लगातारको च्याम्पियन भारत कुनै पनि हालतमा नेपालसँग हार नखाने लक्ष्यमा रहनेछ । बंगलादेशसँगको खेल उनीहरूका लागि एक पाठ हो । टोलीका प्रशिक्षक सुरेन क्षेत्रीले बंगलादेशसँगको हारलाई आफ्नो टोलीको खराब प्रदर्शन भनिसकेको छ । प्रशिक्षक क्षेत्रीले घरेलु समर्थकमाँझ नेपालविरुद्ध खेल्न कठिन हुने समेत बताएका छन् । ‘नेपालसँगको खेल सधैं कठिन हुने गर्दछ । अझ नेपालमै आएर खेल्न थप गाह्रो हुन्छ ’cause यहाँ समर्थक पनि साथमा हुन्छन् । हामीले यसअघि विराटनगरमा पनि खेलेका थियौं । काठमाडौंमा अझ धेरै समर्थक हुनेछन् ।’ उनले भनेका थिए, ‘तर हामीसँग पुरानो अनुभव छ । नेपाललाई नेपालमै हराएका खेलाडी पनि टोलीमा छन् । हाम्रो ध्यान नेपालविरुद्ध नै छ ।’ उपाधिका लागि एक कदम अघि बढ्न र भारतविरुद्ध ऐतिहासिक जित दर्ता गर्न नेपाललाई अवसर छ ।

प्रशिक्षक थापाले दुईपटक महिला टोली सम्हाल्दा १० खेलाडीलाई राष्ट्रिय टिममा डेब्यु गराएको मिठो अनुभव छ । सन् २०१६ मा ६ खेलाडीलाई डेब्यु गराएका थापाले अहिले ४ खेलाडीलाई डेब्यु गराएका छन् । डेब्यु खेलाडीले पनि थापालाई हौसला दिने प्रदर्शन गरेका छन् । भुटानविरुद्धको खेलमा समीक्षा घिमिरे, दीपा शाही र अमिशा कार्कीले डेब्यु गरे । दीपाले दोस्रो खेलमा गोल गर्न सफल भइन् ।

उनीसँगै रश्मि र अमिशा तथा डिफेन्डर अमृता जैशीले पनि पहिलो अन्तराष्ट्रिय गोल गरे । डिफेन्डर निशा थोकर राष्ट्रिय टोलीबाट डेब्यु गर्ने पछिल्लो खेलाडी हुन् । समूह चरणमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वीको सामना गरेको नेपाल सेमिफाइनलमा भारतविरुद्ध मैदान उत्रँदा अघिल्ला तमाम मानक भत्काउने चुनौती एकातिर रहँदा पहिलोपटक दशरथ रंगशालामा घरेलु दर्शकको फाइदा उठाउने चुनौती नेपाललाई छ ।

साफमा नेपाल र भारतको नतिजा
२०१० (०–१) फाइनल
२०१२ (१–३) फाइनल
२०१४ (०–६) फाइनल
२०१६ (१–३) सेमिफाइनल
२०१९ (०–३) फाइनल

Source :Rajdhani 


प्रकाशित : २०७९ भाद्र ३१, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर