उपाधिमा नेपालको अर्जुनदृष्टि


महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको उपाधिका लागि सोमबार घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेपछि सुरु हुनेछ । सोमबार दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिपको इतिहासमा एउटा अध्याय थपिँदै छ ।

नेपालले पाँचौंपटक तथा बंगलादेशले दोस्रोपटक फाइनल खेल्दा महिला साफले १२ वर्षे इतिहासमा नयाँ च्याम्पियन पाउनेछ । बंगलादेश र नेपाल दुवै उपाधि जित्दै ऐतिहासिक सफलता पाउने लक्ष्यमा हुनेछन् । नेपालसँग १–० ले पराजित भएपछि यसअघिको पाँचंै संस्करणको च्याम्पियन भारत सेमिफाइनलबाटै बाहिरिएपछि साफले यसपटक नयाँ च्याम्पियन पाउने पक्का भएको हो ।

यो अवधिमा नेपालले चारपटक तथा बंगलादेशले एकपटक फाइनल खेले पनि भारतको दबदबा तोड्न सकेन । यति मात्र होइन, भारत छैटौं संस्करणमा निकै कमजोर देखियो । पाँच संस्करणसम्म अपराजित रहेर च्याम्पियन बनेको भारत यसपटक दुईपटक पराजित भएपछि महिला साफमा भारतको दबदबा तोडिएको छ ।

भारत बंगलादेशसँग समूह चरणमा ३–० ले पराजित भएको थियो । नेपाली महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापा उपाधि जित्नेमा ढुक्क छन् । ‘साफमा नयाँ इतिहास कायम हुँदै छ । म खुसी छु । सेमिफाइनलमा खेलाडीले उत्कृष्ट खेलेका छन् । आत्मविश्वास बढेको छ । हामी उपाधि जित्छौं । प्रतियोगितासहित ९ साताको समय पाएका छौं । हामी सबैको एउटै अर्जुनदृष्टि उपाधि हो । ट्रफी जित्नेबाहेक केही पनि सोचेका छैनौं,’ फाइनलअघिको प्रि–म्याच पत्रकार सम्मेलनमा प्रशिक्षक थापाले भने, ‘मैले दिने भनेको टेक्निकल र ट्याक्टिकल कुरा हो ।

इनर्जी भनेको उहाँहरू (खेलाडी)को कुरा हो । त्यो माहोल दर्शकको साथले सिर्जना गर्छ । त्यो वातावरण आवश्यक छ । हामी एक इन्च पनि चुक्ने छैनौं । कुनै कम्प्रोमाइज हुनेछैन । यसका लागि बिरामी खेलाडीलाई रिकभर गरेर ल्याएर होस् या युवा खेलाडीलाई खेलाएर ट्रफीबाहिर जान दिनेछैनौं,’ सन् २०१६ मा सेमिफाइनलबाटै बाहिरिँदा नेपालको मुख्य प्रशिक्षक कुमार थापा नै थिए । योपटक भने उनले टिमलाई फाइनलसम्म पु-याएका छन् ।

ऐतिहासिक उपाधि जित्ने उनका लागि यो राम्रो अवसर पनि हो । ‘हाम्रो अर्जुनदृष्टि भनेकै उपाधि हो । दर्शकले हामीलाई ऊर्जा दिनुहुन्छ । हामी उहाँहरूलाई ट्रफी दिनेछौं,’ प्रशिक्षक थापाले भारत जहिले पनि फाइनल पुगेको टोली भए पनि यसपटक नेपाल र बंगलादेशले हराएको बताउँदै फाइनल रोमाञ्चक हुने बताएका छन् ।

‘हामीले खेलेका ३ खेलमा क्लिट चिट राखेका छौं । बंगलादेशले पनि चार खेलमा क्लिन चिट राखेको छ । यो अवस्थामा फाइनल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा छ,’ प्रशिक्षक थापाले भने, ‘हामी एक इन्च पनि गल्ती गर्ने छैनौं । गोल नखाने रणनीति बुन्नेछौं । गोल हान्नेले जित्छ । नहान्नेले जित्दैन, हामी गोल हानेर जित्छौं,’ यस्तै प्रशिक्षक थापाले डेंगु सक्रमणबाट निको हुने क्रममा रहेका मिडफिल्डर मञ्जलीकुमारी योन्जन र फरवार्ड सावित्रा भण्डारीले फाइनल खेल्ने सम्भावना रहेको बताए ।

उनले यही साफबाट नै तीन खेलाडी पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले सन्यास लिन सक्ने संकेत गरे । पहिलोपटक कप्तानको जिम्मेवारी सम्हालिरहेकी कप्तान एन्जिला तुम्बापो सुब्बा उपाधि जितेरै छाड्ने बताउँछिन् । ‘एकदमै खुसी लागेको छ । भारतलाई जितेर नयाँ इतिहास कायम गरेका छौं । फाइनल जित्दै उपाधि जित्ने लक्ष्य छ । बोलेरभन्दा पनि गरेर देखाउनेछौं,’ उनले भनिन् ।

बंगलादेशले ४ खेलमा २० गोल गर्दा कुनै गोल खाएको छैन । नेपालले जारी साफ च्याम्पियनसिपमा ११ गोल गर्दा कुनै गोल खाएको छैन । यही विरासतलाई जोगाउँदै उपाधि जित्ने नेपालको रणनीति छ । बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रोब्बानी छोटोन पनि नेपालका मुख्य प्रशिक्षक थापाजस्तै आत्मविश्वासमा छन् । ‘दशरथ रंगशालामा हजारौं समर्थक उपस्थित हुने अपेक्षा रहेको छ । सेमिफाइनलमा भारतविरुद्ध झन्डै साढे ७ हजारको उपस्थिति रहेको थियो ।

‘हामीलाई घरेलु समर्थकअघि खेलेको अनुभव छ । कहिलेकाहीँ समस्या दिन्छ तर हामी तयार छौं । नेपालमै सन् २०१५ मा घरेलु समर्थकको अगाडि उपाधि जितेका हौं । त्यसपछि यू–१८ मा भुटानमा पनि घरेलु समर्थकको अगाडि जित्यौं । म्यानमारमा यू–१९ खेल्दा पनि ठूलो संख्यामा समर्थकले हल्ला गरेका थिए, त्यहाँ पनि जितेका थियौं । यो अनुभवले हामीलाई भोलि सहज हुनेछ,’ उनले भने ।

उमेर समूहमा बंगलादेशले नेपालमाथि लगातार जित दर्ता गर्दै आएको छ । तर, सिनियर टोलीमा भने नेपाल अपराजित छ । प्रशिक्षक छोटोन पछिल्ला वर्षमा बंगलादेशको टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभव बोकेका कारण नतिजा आफ्नो पक्षमा पार्न सक्षम रहेको बताउँछन् ।

साफमा हेड टु हेड
साफ च्याम्पियनसिपको छैटौं संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालको जम्मा तीनपटक भेट भएको छ । दुईपटक सेमिफाइनलमा र एकपटक समूह चरणमा । सन् २०१० को पहिलो संस्करणको साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो । सन् २०१४ को साफमा पनि नेपालले सेमिफाइनलमै १–० को जित निकालेको थियो । सन् २०१९ मा विराटनगरमा भएको साफमा भने नेपालले समूह चरणमा ३–० को जित निकालेको थियो ।

योपटक पनि बंगलादेशलाई पराजित गर्ने संकल्पमा नेपाल रहेको छ । तर, यो साफलाई मात्रै हेर्ने हो भने तुलनात्मक रूपमा नेपालले भन्दा बंगलादेशले स्तरीय खेल खेलेको छ । सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जन पनि टिममा फर्किने सम्भावना बढेको छ । फाइनलमा सावित्रा र मञ्जली फर्किए नेपाली टिम अझ बलियो हुनेछ । साफ च्याम्पियनसिप सुरु हुनुअघि नै मञ्जली बिरामी भएकी थिइन् । यता, सावित्रा भने भुटानसँग खेलेपछि बिरामी परेकी थिइन् । सावित्रालाई डेंगु भएको थियो ।Source : Rajdhani 


प्रकाशित : २०७९ आश्विन ३, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर