नयाँ स्टक एक्सचेन्ज सञ्चालनको आवेदन खुल्यो


नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैपटक नयाँ स्टक एक्सचेन्ज, धितोपत्र ब्रोकर र कमोडिटी एक्सचेञ्जका लागि अनुमतिपत्र (लाइसेन्स) खुला गरेको छ । सेबोनले आइतबार सूचना सार्वजनिक गर्दै तिनै प्रकारका संस्थाका लागि लाइसेन्स लिन आवेदन माग गरेको हो । धितोपत्र बजारको विकास तथा विस्तार गर्दै यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाउन र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्नका लागि ब्रोकर र धितोपत्र व्यापारी थप गर्नुपर्ने आवश्यकताअनुसार नयाँ कम्पनीका लागि आवेदन माग गरेको बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

धितोपत्र बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ तथा सो अन्तर्गत बनेको विभिन्न नियमको अधिनमा रही ब्रोकरको रूपमा काम गर्न इच्छुक संस्थाले यसका लागि आवेदन दिन सक्ने बताएको छ । यस्तो आवेदन आइतबारदेखि ३० दिनभित्र निवेदन दस्तुर र कागजातसहित बोर्डमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।बोर्डले निजी क्षेत्रको लगानीमा एक नयाँ स्टक एक्सचेन्जका लागि खुला गरेको आवेदनमा ४५ दिनको समय राखिएको छ । यसका लागि आवेदन दिने सर्तहरू पनि ब्रोकर लाइसेन्सकै सरह नै रहेका छन । यसैगरी बोर्डले बस्तु विनिमय बजार सञ्चालनका लागि नयाँ कमोडिटी एक्सचेञ्जको लाइसेन्स पनि खुला गरेको हो । तत्कालका लागि बोर्डले बस्तु विनिमय सञ्चालनसम्बन्धी दुई ओटा संस्थालाई लाइसेन्स दिने जनाएको छ । तर बोर्डले ब्रोकर लाइसन्सका लागि भने संख्या निर्धारण गरेको छैन ।

नेप्से ३४ अंकले घट्यो

साताको पहिलो दिन नेप्से परिसूचक ३३ दशलमव ९७ अंकले घटेर १ हजार ८ सय ७६ दशमलव ४१ अंकमा खुम्चिएको छ । दिनभर २ सय २९ कम्पनीको ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर २७ हजार ७ सय ९० पटक खरिद बिक्री हुँदा १ अर्ब ६० करोड १८ लाख २२ हजार ९ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको हो । बैंक तथा वित्तीय संस्थाले व्याजदर बृद्धि गरेको कारण लगानीकर्ताको मनोबल खस्किन पुग्दा बजारमा सुधार आउन सकेको छैन । आमलगानीकर्तामा ब्याजदर वृद्धिको त्रास कायम रहेकाले बजार बढन नसकेको हो ।

पुँजी बजारका लागि ब्याजदरबाहेक अन्य कुरा हेर्दा निराशा हुनुपर्ने अवस्था नदेखिएको लगानीकर्ताहरूको भनाइ छ । बैंकमा निक्षेपमा सुधार हुँदै जाने संकेत देखिएको हुँदा निराश हुनपर्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूले लाभांश वितरण गर्ने समय र चाडपर्व नजिक आएका बेला सेयर बजार बढ्नुपर्नेमा पनि बजारमा सुधार आउन सकेको छैन । विगत १ वर्षदेखि वियरिस चक्रमा रहेको बनारमा सोही क्रम जारी रहेको छ । बजारमा लाभांशको सिजन सुरु भएको छ । सबल वित्तीय सूचक भएका राम्रो लाभांश क्षमता भएका कम्पनीहरूको सेयर मूल्य पनि निकै सस्तोमा आइसककोे बजारले देखाएको छ ।Source : Sourya Online 


प्रकाशित : २०७९ आश्विन ३, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित