गठबन्धनको निर्णायक बैठक आज


मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरका सत्तारुढ दलहरुलाई सिट बाँडफाँट टुंगो लगाउन सकस परिरहेको छ । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल निष्कर्षमा पुग्न सकेको छैन । मंगलबार बेलुकी कुनै निष्कर्ष बिना बैठक सकिएको थियो । निर्वाचनका लागि समानुपातिक सदस्यहरुको सूची बुझाएसँगै दलहरु प्रत्यक्षतर्फको उम्मेदवारी टुंगो लगाउन जुटेका छन् । मंगलबार विभिन्न चरणमा छलफल गरेका गठबन्धनका दलहरुले सिट बाँडफाँट टुंगोमा पुग्न लागेको दाबी गरेका छन् ।
सत्तारुढ गठबन्धनका नेताहरुले बुधबारसम्ममा सिट बाँडफाँट टुंग्याउने दाबी गरेका हुन् । बैठकमा सहभागी एक नेताले बुधबारसम्ममा सिट बाँडफाँट टुग्याउने दाबी गरे । ‘छलफल जारी छ । बुधबारसम्म टुंग्याउने भन्ने सहमति भएको छ’ उनले भने । १ सय आसपासका निर्वाचन क्षेत्रमा कुरा मिलिसकेको र केही क्षेत्रमा दुई र केहीमा तीन दलले दाबी गरिरहेकोले त्यसबारे छलफल केन्द्रीत भएको उनको भनाइ थियो । यसैविच मंगलबार बेलुकी कुनै निष्कर्ष बीन सकिएको बैठक बुधबार टुङ्ग्याउने बताएका छन् । मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । बुधबार बिहानैबाट पुनः छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको एक नेताले बताए ।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनमा सहमतिको नजिक पुगेको बताएका छन् । उनले १६५ मध्ये ८० प्रतिशतमा सहमतिको नजिक पुगेको बताए । उनले बैठक बुधबार बिहान ८ बजे फेरी बैठक बस्ने जानकारी दिए ।
पाँच दलीय गठबन्धन टुट्ने खतरा
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सत्तासाझेदार पाँच दलीय गठबन्धन कुनै पनि बेला टुट्नसक्ने बताएका छन् । ‘एकातिर सत्तागठवन्धनमा रहेका दलहरूले हैसियतभन्दा बढी माग गरेका कारण असमझदारी भई गठबन्धन भत्कन सक्छ,’ नेता सिंहले भने, ‘अर्कोतिर नेपाली काँग्रेसको एउटा पक्ष गठबन्धनको विपक्षमा छ ।’ गत स्थानीय निर्वाचनमा आफूहरूले इमानदारिता प्रस्तुत गरेको उनले बताए ।’ बरु जनमोर्चा हार्न तयार भयो तर एमालेसँग तालमेल गरेन, तर कांग्रेस माओवादीले ठाउँठाउँमा एमालेसँग तालमेल गरे,’ उनले भने ।
यद्यपि आफूहरूको जोड गठबन्धन बचाउन केन्द्रित भएको नेता सिंहको भनाई छ । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले एमाले राजा ल्याउने बाटोमा अगाडि बढेको भन्दै आगामी निर्वाचनबाट एमाले सहितका प्रतिगमनकारीलाई हराउनुपर्ने बताएका छन् । ‘हिन्दु राज्यको बाटोमा एमाले हिँडेको र हिन्दु राष्ट्रको लागी हिन्दु राजा चाहिन्छ भनेर राजा फर्काउने बाटोमा एमाले छ,’ सिंहले भने, ‘त्यसैले परिवर्तन जोगाउन हामीले एमालेलाई हराउनुपर्छ ।’
संघमा ४८ र प्रदेशमा २३८ दल
आउँदो ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फल भाग लिने दलहरुले आफ्ना उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगलाई बुझाएका छन् । सोमबार दलका प्रतिनिधिहरु आयोग पुगेर बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका समानुपातिक निर्वाचन प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार प्रतिनिधिभसा निर्वाचनका लागि ४८ दलले समानुपातिक सूची बुझाएका छन् । समानुपातिकतर्फको निर्वाचमा भाग लिनका लागि ६८ दलले दलले निवेदन दिएका थिए । तीमध्येबाट ४८ दलले आयोगमा पुगेर बन्दसूची पेस गरेको वाग्लेले जानकारी दिएका छन् । ४८ दलबाट आएका नामबाट ११० जना उम्मेदवारहरु समानुपातिक सांसद बन्ने छन् ।
त्यस्तै, प्रदेशसभातर्फ २३८ दलले बन्दसूची पेस गरेका छन् । सात प्रदेशबाट २३८ दलले समानुपातिकर्फतको बन्दसूची पेश गरेको वाग्लेले जानकारी दिए । प्रदेश–१ मा ३६ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । प्रदेश १ बाट ५५ वटा दलले समानुपातिकर्फतको निर्वाचनमा भाग लिनका लागि निवेदन दिएका थिए। प्रदेश १ मा बन्दसूची बुझाएका ३६ दलबाट ३७ जना समानुपातिक सांसद बन्ने छन् ।
त्यस्तै, मधेश प्रदेशमा पनि ३६ वटै दलले बन्दसूची बुझाएका छन् । मधेशमा ५५ दलले समानुपातिकर्फत निर्वाचनमा भाग लिने भन्दै आयोगमा निवेदन दिएका थिए । मधेश प्रदेशमा बन्दसूची बुझाएका ३६ दलबाट ४३ जना समानुपातिक सांसद बन्ने छन् । बागमती प्रदेशमा ४१ वटा दलले समानुपातिकर्फतको बन्दसूची बुझाएका छन् । यहाँ ५८ वटा दलले समानुपातिकतर्फको निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका ४१ दलबाट मधेश प्रदेशमा ४४ जना समानुपातिक सांसद बन्ने छन् ।
गण्डकी प्रदेशमा ३१ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । गण्डकीबाट समानुपातिक निर्वाचनमा भाग लिनका लागि ५२ वटा दलले निवेदन दिएका थिए । बन्दसूची बुझाएका ३१ मध्येबाट गण्डकीमा २४ जना समानुपातिक सांसद बन्ने छन् । लुम्बिनी प्रदेशमा ३२ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ५४ वटा दलले समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका ३२ दलबाट ३५ जना समानुपातिक उम्मेदवार लुम्बिनी प्रदेशबाट छानिने छन् । त्यस्तै, कर्णाली प्रदेशबाट २८ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ४८ वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन निवेदन दिएका थिए । बन्दसूची बुझाएका २८ दलबाट कर्णालीमा १६ जना समाुनपातिक सांसद बन्ने छन् । सुदूरपश्चिम प्रदेशबाट ३४ वटा दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । यहाँ ५० वटा दलले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि निवेदन दिएका थिए । बन्दसूची पेश भएका ३४ दलबाट २१ जना समानुपातिक सांसद बन्ने छन् ।Source : Janasawal 


प्रकाशित : २०७९ आश्विन ५, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित