संसारभर कति छन् कमिला ? वैज्ञानिक भन्छन् : २ लाख खर्ब


पृथ्वीमा यतयत्र कमिला देखिन्छन् । आखिर संसारमा कमिलाको संख्या कति होला, के तपाइँले कहिल्यै सोँच्नुभएको छ ? पृथ्वीमा रहेका असंख्य कमिलाको गणना गर्न नै असम्भव छ भन्नुहोला । तर वैज्ञानिकहरुले संसारमा कमिलाको कूल संख्या पत्ता लगाएका छन् ।

वैज्ञानिकहरुले पत्ता लगाएको कमिलाको संख्या यतिधेरै छ कि गिन्ती गर्दा नै हालत खराब हुनसक्छ । किनकी धर्तीमा रहेका हरेक मानिसका लागि कमिला भाग लगाउने हो भने एउटा मानिसको भागमा २५ लाख कमिला पर्न आउँछ । अर्थात् पृथ्वीमा कूल कमिलाको संख्या २ लाख खर्ब रहेको छ ।

वैज्ञानिकहरुले गरेको अध्ययनले पृथ्वीमा २० क्वाड्रिलियन कमिला भएको निष्कर्ष निकालेको हो । यो भनेको २० अंकको पछाडि पन्ध्रवटा सून्य अर्थात् २०,००,००,००,००,००,००,००० हो ।

यी सबै कमिला मिलेर १.२० करोड टन ड्राइ कार्वन बनाउँदछन् । यतिधेरै कार्वन त पृथ्वीमा रहेका सबै पंक्षी तथा स्तनधारी जनावर मिलेर पनि बनाउन सक्दैनन् । ड्राइ कार्वनको वजन पृथ्वीमा रहेका मानिसको वजनको पाँचौँ हिस्सा हुन्छ ।

तपाइँलाई लाग्न सक्दछ पृथ्वीलाई मानिसले चलाउँदछ र मानिसले नै प्रकृतिलाई सन्तुलित गर्दछ । धेरैवर्ष पहिले कमिला मान्छे समेत भनेर चिनिने प्रसिद्ध जिव वैज्ञानिक एडवर्ड ओ विल्सनले कमिलाको विषयमा भनेका थिए कि यहीँ सानो जीवले नै पूरै धर्तीलाई सञ्चालित गर्दछ ।

उनका अनुसार कमिला प्रकृतिको महत्वपूर्ण हिस्सा हो । यसले माटो र हावाको गुणस्तर कायम गर्दछ र वनस्पतीका बिउहरुलाई प्रसार गर्दछ । त्यस्तै अर्गानिक पदार्थलाई विच्छेद गर्दछ र धर्तीलाई जिवहरुका लागि बस्नलायक बनाउँदछ । यसका साथै कमिला खाद्य चक्रको पनि महत्वपूर्ण हिस्सा हो । कमिलाले पृथ्वीको पर्यावरणलाई सन्तुलन गर्नमा मद्धत गर्दछ ।

कमिलाको संख्यार उनीहरुले निकालेको ड्राइ कार्वनको मात्राको परीक्षणबाट पृथ्वीमा कति जलवायु परिवर्तन भएको छ भन्ने थाहा हुन्छ । पृथ्वीमा कमिलाका १५ हजार ७ सय प्रजाति तथा उप प्रजाति छन् ।

कतिपय त यस्ता छन् जसको प्रजातिको अहिलेसम्म पनि नामाकरण हुन सकको छैन । कमिलाको सामाजिक संरचनाले आपसी तालमेल, लयबद्ध तरिकाबाट काम सम्पन्न गर्ने तथा एक अर्काको सहयोग गर्ने विषय सिकाउँदछ ।

पृथ्वीमा कमिलाको संख्या पत्ता लगाउने क्रममा वैज्ञानिकहरुले विभिन्न गैर अंग्रेजी साहित्यको पनि अध्ययन गरेका थिए । उनीहरुले स्पेनिस, फ्रेन्च, जर्मन, रुसी, मन्डारिन तथा पोर्चुगिस भाषाका दस्तावेज पनि अध्ययन गरे । कमिलाको संख्याको विषयमा कूल ४ सय ९८ वटा अध्ययनको वैज्ञानिकहरुले विश्लेषण गरेर कमिलाको कूल संख्या आँकलन गरेका थिए ।

यो अध्ययनका लागि विश्वभरका आधा दर्जन विश्वविद्यालय तथा वैज्ञानिक संस्थाहरुका वैज्ञानिक जुटेका थिए । उनीहरुका अनुसार पृथ्वीमा मानिसको जनसंख्याको अस्तित्व कायम राख्नका लागि कमिलाको संख्या जान्नु आवश्यक हुन्छ । किनकी कमिलाको गणनाबाट पृथ्वीमा भैरहेको जलवायु परिवर्तनको गम्भीर अवस्था थाहा पाउन सजिलो हुन्छ ।

विश्वमा मानवीय क्रियाकलापका कारण किराहरुको संख्यामा कमी आइरहेको छ । किराहरुको वासस्थान विनास भैरहेको छ । यसको कारण जमिनको सही उपयोग नहुनु, रसायनहरुको धेरै प्रयोग हुनु, मिचाहा प्रजातिको प्रवेश र जलवायु परिवर्तन हो । एजेन्सीको सहयोगमा- Online Khabar 


प्रकाशित : २०७९ आश्विन ७, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित