दसैँमा २२ लाख सर्वसाधारण बाहिरिँदै


नेपालीहरूको महान पर्व वडादसैँ, तिहार र छठ तथा आगामी मंसिरमा हुन लागेको निर्वाचनलाई लक्षित गरी काठमाडौं उपत्यकाबाट २२ लाख यात्रु बाहिरिने भएका छन् । खासै काम नभएर राजधानीमा बस्दै आएका सर्वसाधारण पनि ठुला चाडपर्व सकिएलगत्तै हुन लागेको निर्वाचनलाई ध्यानमा राखी घर फर्कन लागेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ गते हुँदै छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार दसैँ र निर्वाचनको लागि २२ लाखको संख्यामा यात्रुहरू घर फर्किंदै छन् । अघिल्लो दुई वर्षको दसैँमा भने कोभिड–१९ को प्रकोपका कारण आठदेखि नौ लाखको संख्यामा यात्रुहरू घर फर्किएका थिए ।

अघिल्लो वर्षको दसैँमा ३ हजार ५ सयको संख्यामा गाडी उपत्यकाबाट बाहिरिए पनि यो वर्ष यात्रुको चापका कारण झण्डै आठ हजार साना÷ठूला बस सञ्चालनमा ल्याउन लागिएको छ । अपुग हुने रुटमा पुराना बसहरूलाई पनि मर्मत सम्भार गरी सञ्चालन गरिने महासंघले जनाएको छ । यात्रुको अत्यधिक चाप घटस्थापनादेखि नवमीसम्म हुने गर्छ ।

‘अन्य वर्षको तुलनामा यो वर्ष झण्डै दोब्बरको संख्यामा सर्वसाधारण घर फर्किंदैछन्’ महासंघका अध्यक्ष विजय स्वाँरले भने, ‘यो वर्ष कोभिडको प्रभाव पनि निकै कम देखिएको छ, यसले गर्दा उपत्यकामा बसोबास गर्ने सर्वसाधारण घर फर्किन हर्षित भएका छन् । त्यसलगत्तै निर्वाचन पनि परेकाले उपत्यकामा खासै काम नभएकाहरू पनि यहिबेला फर्किन लागेकाले यो वर्ष अत्यधिक चाप बढेको छ ।’

घर फर्किनेको संख्या बढेसँगै आइतबार साँझसम्म मात्रै अग्रिम टिकट काट्ने सर्वसाधारणको संख्या १७ लाख पुगिसकेको छ । यो संख्या लामो दुरीमा चल्ने सवारी साधनको मात्रै हो । यसबाहेक सिन्धुलीमार्फत गन्तव्यमा जाने करिब डेढ लाख सर्वसाधारणले पनि अग्रिम टिकट काटिसकेका छन् ।

यसरी हेर्दा आइतबार साँझसम्म १८ लाख ५० हजार सर्वसाधारणले अग्रिम टिकट काटिसकेका छन् । टिकट काट्न गोंगबुस्थित बसपार्क, गौशाला, कलंकी, कोटेश्वर, जडिबुटी, बालाजु, सानेपा, सुन्धारा लगायतका स्थानमा बिहानैदेखि सर्वसाधारणको घुइँचो लागिरहेको अध्यक्ष स्वाँरले बताए ।

उनका अनुसार अनलाइनमार्फत र जिपको पनि अग्रिम टिकट ठूलो संख्यामा काटिएको छ । ‘हामीसँग लामो दुरीमा चल्ने सवारी साधनको मात्रै यकिन तथ्यांक हुन्छ’, उनले भने, ‘हाइस, जिप, अनलाइनमार्फत पनि ठूलो संख्यामा टिकट काटिएको छ । यकिन तथ्यांक यसै भन्न सकिन्न ।’

यात्रुहरू घटस्थापना अर्थात सोमबारदेखि घर फर्किन लागेका छन् । मुख्यगरी विद्यार्थी, काम नहुनेहरू र फुटपाथमा व्यापार गर्नेहरू घटस्थापनादेखि घर फर्किंर्दैछन् । सरकारले महासंघको सहकार्यमा १ असोजदेखि नवमीसम्मका लागि अग्रिम टिकट काट्ने सुविधा खुलाएको छ ।

अग्रिम टिकटको सुविधा खुलाइए पनि आइतबारदेखि टिकटको अभाव हुन थालेको यात्रुहरूले गुनासो गर्न थालेका छन् । धरानको टिकट काट्न गौंगबु बसपार्क पुगेकी सुनिता राईले आइतबासम्म टिकट पाएकी छैनन् । उनी दुई दिनदेखि गौशाला, कलंकी, कोटेश्वर र गौंगबु बसपार्क धाइरहेकी छन् ।

यसैगरी सुर्खेतका अस्मित सापकोटाले पनि टिकट पाउन सकेका छैनन् । सापकोटा पनि पछिल्लो तीन दिनदेखि गोंगबु बसपार्कबाट रित्तो हात फर्किंदैछन् । सापकोटाले बसपार्कमा पुग्दा काउन्टरबाट टिकट सकिएको जवाफ पाउने गरेका छन् ।

‘सबै बसको टिकट सकिएको जवाफ पाएँ’, सापकोटाले भने, ‘एउटाले नाम र मोबाइल नम्बर टिपेर राखेका छन् । उनले यात्रुको संख्या बढी भयो भने बस थप्ने र मलाई पनि सुर्खेतसम्म लैजाने आश्वासन दिएका छन् । हेरौँ के हुन्छ ।’

यातायात व्यवसायी केन्द्रीय महासंघका महासचिव भरत नेपालले नियमित रूपमा गुड्ने गाडीको टिकट सकिए पनि यात्रुहरूको चाप हेरेर गाडी थपिने जानकारी दिए । नेपालका अनुसार अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष टिकटमा केही असहजता भने भएको छ ।

‘यो वर्ष तेलको मूल्य अत्यधिक बढेको, सडकहरू खाल्डाखुल्डीमा परिणत भएको र गाडीको सञ्चालन खर्च अत्यधिक बढेको छ’, नेपालले भने, ‘त्यसमाथि बस व्यवसायीहरूले एकतर्फी यात्रु मात्रै पाउने भएपछि अप्ठ्यारो भएको छ । टिकटै नपाएर घर जान नपाउने समस्या भने हुँदैन ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष स्वाँरका अनुसार अन्य वर्षको दसैँमा सात सयको संख्यामा नयाँ गाडी थपिएपछि पछिल्लो दुई वर्षको कोभिडले थला परेको यातायात क्षेत्रलाई बैंकले समेत ऋण दिन नमान्दा यो वर्ष लामो छोटो दुरीमा गुड्नेगरी करिब तीन सयको संख्यामा मात्रै सवारी साधन थपिएका छन् ।

जोखिम मोलेर गन्तव्यतर्फ

महासंघका अध्यक्ष स्वाँरले बसधनीले जोखिम मोलेर यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउँदै आएको दाबी गरे । बाढीपहिरोका कारण अधिकांश रुटका सडकहरू ध्वस्त भएका छन् । खाल्डाखुल्डी अत्यधिक भएका कारण चालकहरूले जोखिम मोलेर यात्रुलाई गन्तव्यसम्म पु¥याउन बाध्य भएको उनको भनाइ छ ।

‘सडकमा गाडी कुदाएवापत र इन्धनबाट राजस्व उठाउने सरकारले कम्तिमा राजधानीबाट बाहिर जाने मुख्य सडकहरू नियमित रूपमा मर्मतसम्भार गरी भरपर्दो बनाइदिनुपर्छ’, स्वाँरले भने, ‘बढी बाढीपहिरो जाने सडकलाई व्यवस्थित बनाउनुपर्छ । बाटो राम्रो नहुँदा गाडी बिग्रेर मर्मतसम्भार खर्च पनि निकै बढेको छ ।’

उनका अनुसार १ सय १३ किलोमिटर दुरीको नारायणघाट—बुटवल सडक खण्डमा अहिले दिनदिनै पहिरो गएर र सडक बिग्रिएर तीन घण्टाको साटो १२ घण्टासम्म लाग्ने गरेको छ । नारायणघाट–मुग्लिङ सडक खण्डमा पनि पहिरोले सडक बिग्रेर गाडी कुदाउनै कठिनाइ भएको छ ।

यसैगरी नागढुंगादेखि नौबिसे सुरुङ मार्गसम्मको बाटो पनि निकै दयनीय अवस्थामा छ । ‘सडक विभागलाई सडकको विषयमा ध्यानाकर्षण गराएका छौँ’, स्वाँरले भने, ‘सरकारले बर्सेनि झारा टार्नेगरी सडक मर्मतसम्भार गरिदिँदा फेरि उस्तै समस्या निम्तिन्छ ।’

यान्त्रिक परीक्षण अनिवार्य

चाडपर्वमा हुने दुर्घटनालाई मध्यनजर गर्दै सरकारले आइतबारदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनले अनिवार्य रूपमा यान्त्रिक परीक्षण गराउनुपर्ने व्यवस्था गरेको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरूमा सवारी साधनको चेकजाँचको व्यवस्था मिलाइएको छ ।

दसैँको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको हो । लामो दुरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, यात्रुको बिमा गरिएको हुनुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुन्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । यो नियम सबै प्रकारका सार्वजनिक र भाडामा प्रयोग गरिएका निजी गाडीहरूमा पनि लागू हुने जानकारी उनले दिए ।

यसैगरी सरकारले सोमबारदेखि सार्वजनिक यात्रुवाहक गाडीको हकमा रुट पर्मिट (जुन रुटमा सवारी चलाउने हो, त्यो रुटको लागि अग्रिम रूपमा सरकारी निकायबाट लिइने अनुमति) नचाहिने व्यवस्था पनि गरेको छ ।

हरेक वर्षको दसैँजस्तै यो वर्ष पनि सरकारले दसैँ अवधिभरका लागि रुट पर्मिट व्यवस्थालाई स्थगित गरेको हो । यसले गर्दा यातायात व्यवसायीले आफ्नो सहजताअनुसार गाडीको व्यवस्थापन गर्न र आवश्यक परेको रुटमा सवारी चलाउन पाउनेछन् ।

खानामा विशेष अनुगमन

चाडपर्वको समयमा घर फर्किनेहरूको सबैभन्दा ठुलो गुनासो हुन्छ, बाटोका होटेल र रेस्टुँराले महँगो मूल्य असुल गरी गुणस्तरहीन, सडेको र बासी खानेकुरा खुवाउने । यो वर्ष महासंघले यस विषयमा गम्भीर रूपमा ध्यानाकर्षण भएको जनाउँदै बाटोमा रहेका होटेलहरूको अनुगमनको व्यवस्था गरिएको जानकारी दिएको छ ।

‘करिब ८० प्रतिशत यात्रुको गुनासो एउटै हुन्छ, बाटोमा निकै बढी पैसा लिएर पनि गुणस्तरहीन खाना खुवायो भनेर । यो विषयलाई महासंघले गम्भीर रूपमा लिएर सरोकारवाला संघीय मन्त्रालयको सहयोगमा होटेलहरूको विशेष अनुगमन गर्न लगाउने निर्णय गराएका छौँ,’ स्वाँरले भने ।

उनले यात्रुसँग बढी मूल्य लिए वा गुणस्तरहीन खाना खुवाए कारबाही गरिने जानकारी पनि दिए । ‘हरेक रूटमा रहेका होटेलको कार्यक्षेत्र पर्ने स्थानीय तहले होटेल तथा रेस्टँुराको अनुगमन गर्ने र बढी मूल्य लिएर गुणस्तर खाना खुवाइएको पाइएमा कारबाही गर्ने निर्णय भएको छ’, उनले भने । यो निर्णयअनुसार अनुगमन भए यात्रुहरू अन्य वर्षजस्तो खाना वा खाजामा ठगिने सम्भावना रहेको दाबी पनि उनले गरे ।

टिकटको कालोबजारी

यात्रुलाई ठगिन नदिन सरकारले यात्रु सहायता डेक्स सञ्चालनमा ल्याए पनि यात्रु ठगिने क्रम भने रोकिएको छैन । काठमाडौंबाट बुधबारे जान टिकटका लागि धाइरहेका सोमप्रसाद लामिछानेले सरकारले तोकेको मूल्यमा टिकट खरिद गर्न पाएनन् ।

तीन दिन अघिदेखि टिकट काट्न विभिन्न स्थानको काउन्टरमा धाए पनि उनलाई टिकट छैन भनेर जवाफ दिइयो । काठमाडौंबाट बुधबारेको भाडा १ हजार ७ सय ३५ रुपैयाँ सरकारले तोकेको छ । टिकट काउन्टरका कर्मचारीले टिकट सकिएको बताएर उनलाई तेस्रो दिन दुई हजार रुपैयाँ लिएर बल्ल टिकट उपलब्ध गराए ।

सल्यानका हेम बुढाले पनि तोकिएको भाडादरमा टिकट खरिद गर्न पाएनन् । अन्त्यमा २ हजार २ सय रुपैयाँ तिर्दा उनले टिकट पाउन सफल भए । काठमाडौंबाट सल्यानसम्मको भाडा १ हजार ७ सय ८४ रुपैयाँ छ । उपभोक्तावादी प्रेमलाल महर्जनले दसैँको समयमा टिकट काट्ने कर्मचारीले टिकट सकिएको भन्दै लुकाउने र बढी रकम असुल गरी बिक्री गर्ने प्रवृत्ति अत्यधिक रहेको बताए ।Source : Sourya Daily 


प्रकाशित : २०७९ आश्विन ११, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित
सम्बन्धित खवर