मलेसियामा चुनावी मुद्दा बन्यो विदेशी कामदार ल्याउने विषय


नेपालमा जस्तै मलेसियामा पनि आगामी नोभेम्बरमा आम निर्वाचन हुँदैछ । त्यहाँ हुने आम निर्वाचनमा विदेशी कामदारको आपूर्ति चुनावी मुद्दाका रूपमा अगाडि आएको छ । मलेसियाका निवर्तमान मानव संशाधनमन्त्री एम कुला सेगरनले वर्तमान मानव संशाधन मन्त्री एम सागरननको अव्यवहारिक नीतिका कारण देशमा विदेशी कामदारको अभाव भएको र त्यसले अर्थतन्त्रमा असर गरेको सार्वजनिक टिप्पणी गरेका छन् ।

 

मन्त्री एम सागरननले भने चुनावी उद्देश्यका कारणले विपक्षीहरूले विदेशी कामदारको आपूर्तिका विषयमा देशलाई भ्रमित गरेको दाबी गरेका छन् । उनले मलेसियामा हाल २१ लाख २७ हजार ७ सय २२ जना विदेशी कामदार कार्यरत रहेकोे र अघिल्लो वर्ष उक्त संख्या ११ लाख मात्रै रहेकोले सरकारमाथि आरोप लगाउनु आधारहिन भएको बताए ।

 

मलेसियामा कोभिडका कारणले तीनवर्ष भन्दाबढी समय विदेशी कामदार रोकिएका थिए । कोरोना विरूद्धको खोप उपलब्ध भएपछि विदेशी कामदार प्रवेश खुला गरिएको थियोे । केहीदिन अघि वर्तमान मन्त्री साराभानन्ले मलेसियाली संसदमा जवाफ दिँदै तत्कालीन मन्त्री एम कुला शेगरननले सन् २०१८ मा बंगलादेशी कामदारमाथि प्रतिबन्ध लगाएका कारणले अहिलेसम्म त्यसको नकारात्मक प्रभाव मलेसियाको श्रम बजारमा रहेको बताएका थिए ।

 

मलेसियाको संसदमा विदेशी कामदारको आपूर्तिमा सही तरिकाले काम गर्न नसकेको भन्दै केही सांसदहरूले वर्तमान मन्त्री साराभाननको राजीनामासमेत मागेका छन् ।

 

तर मन्त्री साराभाननले माग अनुसार विदेशी कामदारको कमी हुन नदिने भन्दै श्रोत मुलुकबाट मलेसिया आउन ६ लाख ४४ हजार ३ सय ७९ कामदारको बायोमेट्रिक र स्वास्थ्य परीक्षण सकिएको र उनीहरू आएपछि कामदार अभावबाट सिर्जित समस्याको समाधान हुने बताएका छन् । मानव संशाधन मन्त्रालयले विभिन्न सेक्टरमा १२ लाख ४४ हजार ४ सय कामदारको एप्रुभल दिएको र गृहमन्त्रालयले २ लाख ३८ हजार ९ सय ४३ जनाको भिसा जारी गरेकोेले उनीहरू छिटोभन्दा छिटो मलेसिया आउनेसमेत उनले बताए ।Source : Madhyanaha 


प्रकाशित : २०७९ आश्विन २५, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित