प्रतिनिधिसभा निर्वाचनः मैदानमा २५ सय ३१ उम्मेदवार


४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका १ सय ६५ वटा निर्वाचन क्षेत्रमा २५ सय ३१ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले मंगलबार साँझ सार्वजनिक गरेको नामावलीअनुसार देशका १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ २५ सय ३१ जनाको उम्मेदवारी दर्ता भएको जनाएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १ सय ६५ निर्वाचन क्षेत्रमा ५७ राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । यसैगरी, ९ सय ४३ जना स्वतन्त्र उम्मेदवार बनेका छन् ।

आयोगले मंगलबार सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार प्रदेशसभातर्फ भने ३४ सय ८१ जनाको उम्मेदवारी दर्ता भएको छ । प्रत्यक्षतर्फ ३ सय ३० सिटका लागि सो उम्मेदवारी परेको हो ।

प्रतिनिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेवारले बुधबार नाम फिर्ता लिन सक्नेछन् । आयोगको कार्यतालिका अनुसार बुधबार बिहान १० देखि १ बजेसम्म मुख्य निर्वाचन अधिृकत वा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले नाम फिर्ता लिन सक्नेछन् ।

कार्यतालिकाअनुसार आयोगले बुधबार नै १ देखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

निर्वाचनका लागि २३ असोजमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो । सोही दिन बेलुका आयोगले मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरेको थियो ।

रेशम चौधरीको उम्मेदवारी खारेज
नागरिक उन्मुक्ति पार्टीको तर्फबाट बर्दिया २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ ।

टीकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका चौधरीको उम्मेदवारी खारेज भएको हो । उनीविरुद्ध सोमबार उजुरी परेको थियो ।

कैलालीका निर्वाचन अधिकृत नगेन्द्र लम्सालले चौधरीको उम्मेदवारीमाथि परेको उजुरीउपर जाँचबुझ गर्दा आवश्यक प्रमाण भेटिएपछि उनको उम्मेदवारी खारेज भएको बताए ।

चौधरी जिल्ला अदालत कैलाली र उच्च अदालत डोटीबाट दोषी ठहर भएको र १४ फागुन २०७४ देखि निरन्तर कैदमा रहेको पुष्टि भएकाले उम्मेदवारी खारेज भएको उनले जानकारी दिएका हुन् ।

‘रेशमलाल चौधरीकोे उम्मेदवारीविरुद्ध परेको उजुरी जाँचबुझ गर्दा प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १३ (झ) अनुसार उम्मेदवार हुन अयोग्य हुनुभयो,’ लम्सालले भने । सो ऐनको व्यवस्थाअनुसार कैदमा बसेको व्यक्ति कैदमा रहेको अवधिभर उम्मेदवार बन्न अयोग्य हुनेछन् ।

निर्वाचन कार्यालयले चौधरीको उम्मेदवारीविरुद्ध उजुरी परेपछि उनी रहेको कारागारबाट प्रमाण झिकाएको थियो । यसैगरी उच्च अदालत डोटीबाट पनि दोषी ठहर भएको पत्र आयोगले झिकाएको थियो ।

यसैगरी, सो पार्टीबाट कैलाली ५ का लागि प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका थरुहट नेता लक्ष्मण चौधरी (थारू)को पनि उम्मेदवारी खारेज भएको छ । उनको उम्मेदवारी खारेज गरिएको मुख्य निर्वाचन अधिकृत ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् ।

उनीसमेत टीकापुर घटनामा अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । उनीविरुद्ध धनगढी उपमहागरपालिका १५ निवासी प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएका थिए ।

कांग्रेसका वलीको उम्मेदवारी पनि खारेज
नेपाली कांग्रेसकातर्फबाट रुकुम पश्चिमको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’मा उम्मेदवारी दिएका प्रेमप्रकाश वलीको पनि उम्मेदवारी खारेज भएको छ ।

बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भएर सजाय पाएका वलीविरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

माओवादी केन्द्रका प्रदेशसभा ‘ख’का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दाबी विरोधमा उजुरी परेकोे थियो । वलीलाई बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिमाना हुने ठहरी फैसला भएको थियो । तर, उनले सजाय भुक्तान नगरेकाले अयोग्य रहेको दाबी गरिएको हो ।Source : Rajdhani


प्रकाशित : २०७९ आश्विन २६, बुधबार

प्रतिक्रिया
भर्खरै प्रकाशित