यूरोपेली घरायसी उपकरण ब्रान्ड ‘बोश’ नेपाली बजारमा


यूरोपको प्रसिद्ध घरेलु उपकरण निर्माता कम्पनी बीएसएच होम अप्लायन्सेसको ब्रान्ड ‘बोश’ नेपाली बजारमा भित्रिएको छ । लक्ष्मी ग्रूपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको सहकार्यमा उक्त ब्रान्ड नेपालमा भित्र्याइएको हो ।

बीएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणलाई बजारमा विस्तार गर्ने योजना राखेको छ ।

कम्पनीले काठमाडौंस्थित कमलादीमा बोशको अत्याधुनिक स्टोरको स्थापना समेत गरेको छ । स्टोरमा बोशका उच्च गुणस्तरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्स्चर/ग्राइन्डर र अन्य उपकरण प्रदर्शनी एवं विक्रीका लागि राखिएका छन् । सबै उपकरण जर्मन प्रविधिमा आधारित रहेको कम्पनीको भनाइ छ ।

भारत र सार्क राष्ट्रका लागि बीएसएच होम अप्लायन्सेसका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत निरज बहलले नेपालमा बोशका उपकरण सार्वजनिक गर्न पाउँदा आफूहरू उत्साहित बनेको बताए ।

‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौं,’ उनले भने, ‘सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिका लागि यो एक महत्त्वपूर्ण कदम समेत सावित भएको छ ।’ बीएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाउनु गर्वको विषय रहेको समेत उनले बताए ।

‘लक्ष्मी ग्रूपसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौं,’ उनले भने । नेपालमा घरेलु उपकरणको बजार द्रुुत रूपमा बढिरहेको भन्दै उनले जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणले राम्रो बजार लिने विश्वास व्यक्त गरे ।Source: Abhiyan


प्रकाशित : २०७९ कार्तिक १, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित