त्रिशूली जलविद्युतमा ७८ हजार शेयरधनीले जम्मा गरे १६ करोड, कहिलेसम्म दिने आवेदन ?


नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयरमा ७८ हजार ३३७ जना आवेदकले चुक्ता हुन बाँकी रकम जम्मा गरेका छन् ।

कम्पनीले शेयरमा चुक्ता हुन बाँकी रकम बुझाउन शेयरधनीहरूलाई अनुरोध गरेको थियो । सिडिएस क्लियरिङका अनुसार बिहीवार बिहान १० बजेसम्ममा ७८ हजार ३३७ जनाले आवेदकहरूबाट रू. १६ करोड १३ लाख १ हजार ३०६ बरारब रकम संकलन भएको छ ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी रू. २ अर्ब ४७ करोड कोे १५ प्रतिशत अर्थात् रू. ३७ करोड ५ लाख बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम रकम माग गरी २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो ।

सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरूलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको हो । शेयरधनीहरूले कात्तिक १७ गतेसम्ममा सो रकम भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ।

माग गरिएको ९० रुपैयाँमध्ये शेयरधनीहरूले प्रतिकित्ता ८७ रुपैयाँका दरले रकम भुक्तानी गर्नुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्ममा प्रतिकित्ता ३ रुपैयाँका दरले ब्याज भएकोले ८७ रुपैयाँ बुझाउन कम्पनीले आह्वान गरेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीबाट साविकका सर्वसाधारण शेयरधनीहरूलाई आह्वान गरेको चुक्ता हुन बाँकी रकम बुझाउनका लागि समयमा नै आफ्नो हितग्राही खाता र बैंक खाता अद्यावधिक गर्न र मेरो शेयर नवीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

शेयरधनीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त सी-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो शेयर’ सफ्टवेयरबाट समेत शेयरधनीहरूले रकम बुझाउन सक्नेछन् ।Source :Abhiyan 


प्रकाशित : २०७९ कार्तिक ३, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित