नेपालमा वार्षिक ४० लाख टन तरकारी उत्पादन, नपुग्दा भुटानदेखि जापानसम्मको आयात


नेपालमा वार्षिक करीब ४० लाख मेट्रिक टन तरकारी उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाएको छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा सातओटै प्रदेशका सबै जिल्लाको गरी २ लाख ८४ हजार हेक्टरमा उक्त परिमाणमा तरकारी उत्पादन भएको हो ।

केन्द्रको तथ्यांकमा काउली, बन्दा, ब्रोकाउली, गोलभेंडा, मुला, तितेकरेला, घिरौंला, भिण्डी, सागपातलगायत ५६ किसिमका तरकारी बालीको कुल उत्पादन समावेश गरिएको छ । पछिल्लो १० वर्षको तथ्यांक हेर्दा आव २०६८/६९ मा सबैभन्दा कम (३२ लाख ९८ हजार मेट्रिक टन) र आव २०७५/७६ मा सबैभन्दा बढी (४२ लाख ७१ हजार टन) तरकारी उत्पादन भएको छ ।

पछिल्ला वर्षमा तरकारी उत्पादन केही मात्रामा बढेको देखिए पनि त्यसले स्वदेशी बजारको मागलाई पूर्ण रूपमा धान्न नसकेको देखिन्छ । यसो हुँदा वर्षेनि ठूलो परिमाणमा भारत, चीन, भुटान, जापानलगायत देशबाट तरकारी आयात भइरहेको छ ।

उत्पादन बढाएर तरकारीमा आत्मनिर्भर हुन स्थानीय कृषि बजारको विकास गर्नु नै सबैभन्दा उत्तम उपाय भएको कृषि अभियन्ता तथा खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी बताउँछन् । उनका अनुसार उत्पादित तरकारीले बजार नपाउँदा किसानले उत्पादन गर्न छाडेका छन्, जसले गर्दा विदेशबाट तरकारी आयात गर्नुपर्ने बाध्यता छ । ‘किसानको उत्पादनले बजार पाएमात्रै उत्पादन बढ्ने गर्छ,’ उनले भने ।

आव २०७७/७८ मा मात्रै विभिन्न मुलुकबाट २ लाख ३१ हजार मेट्रिक टन तरकारी आयात भएको देखिन्छ । सोही वर्ष नेपालले ६ हजार मेट्रिक टन तरकारी निर्यात गरेको तथ्यांक छ । उक्त वर्ष सबैभन्दा बढी तरकारी मधेश प्रदेशमा उत्पादन भएको पाइएको छ । मधेशमा ८३ हजार ३ सय हेक्टर जमीनमा १२ लाख ४५ हजार टन तरकारी उत्पादन भएको छ । सबैभन्दा कम तरकारी कर्णाली प्रदेशमा उत्पादन भएको छ । कर्णालीमा १३ हजार २ सय हेक्टरमा १ लाख ४९ हजार ५ सय टन तरकारी उत्पादन भएको छ । प्रदेश नम्बर १ मा ५० हजार ३ सय हेक्टरमा ७ लाख ९८ हजार ३ सय टन र बागमती प्रदेशमा ५० हजार ४ सय हेक्टर जमीनमा ७ लाख २७ हजार टन तरकारी फलेको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा २२ हजार ७ सय हेक्टरमा २ लाख ८२ हजार टन र लुम्बिनी प्रदेशमा ४१ हजार ९ सय हेक्टरमा ५ लाख ४४ हजार ६ सय टन तरकारी उत्पादन भएको छ । सुदूरपश्चिम प्रदेशमा २२ हजार हेक्टरमा २ लाख ८५ हजार टन तरकारी उत्पादन भएको तथ्यांक छ ।

राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका बागवानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार गुणस्तरीय बीउ र मल अभावका कारण किसानले आफ्नो मेहनतअनुसार तरकारी फलाउन नसक्नु, माटोको गुणस्तर राम्रो नहुँदा उत्पादकत्वमा सुधार गर्न नसक्नुजस्ता कारणले तरकारी उत्पादनको परिमाण उल्लेख्य रूपमा बढाउन सकिएको छैन ।

उनले भने जस्तै पछिल्लो १० वर्षको अन्तरालमा हाम्रो उत्पादकत्वमा खासै सुधार हुन नसकेको तथ्यांकले समेत पुष्टि गरेको छ । आव २०६८/६९ मा उत्पादकत्व १३ दशमलव ४६ मेट्रिक टन रहेकामा आव २०७७/७८ मा १४ दशमलव ५ मेट्रिक टनमात्रै छ ।

Source: Abhiyan 


प्रकाशित : २०७९ कार्तिक ४, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित