आज काग तिहार र धनवन्तरी जयन्ती


नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार सुरु भएको हो । यस्तै, आज धनवन्तरी जयन्ती पनि मनाइँदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ भएको हो ।

काग तिहारमा कागलाई यमराजको सन्देश बाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खाने कुरा दिने चलन रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मिठो मिठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत रहेको छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वाससमेत गर्ने गरिन्छ ।

आयुर्वेदका प्रवर्तक धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाइँदैछ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिनुभएका धनवन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
विक्रम संवत् १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत रूपमा धनवन्तरी जयन्ती मनाउन थालिएको हो । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको छ । आज देशभरका आयुर्वेद अस्पताल तथा क्याम्पस र वैद्यखानामा धनवन्तरी जयन्ती विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।
झिलीमिली उज्यालोको चाड तिहारका अवसरमा राजधानीलगायत प्रमुख सहरमा थरीथरीका बत्ती बाल्न सुरु भइसकेको छ ।
यस्तै, कात्तिक ७ गते सोमबार कुकुर तिहार पर्व रहेको छ । त्यसैदिन नरक चतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ ।

यस वर्ष दीपमालिका एवं लक्ष्मीपूजा पर्व पनि कात्तिक ७ गते सोमबार नै रहेको छ । लक्ष्मीपूजाको रात्रिलाई सुखरात्रि पनि भनिन्छ । कात्तिक ८ गते मंगलबार गाईपूजा गरिन्छ । यस दिन सूर्यग्रहण पनि परेको छ ।

कात्तिक ९ गते बुधबार गोवद्र्धनपूजा, बलिपूजा, हली तिहार, गोरुपूजा, आत्मपूजा म्हपूजाका साथै नेपाल सम्वत्को नयाँ वर्ष आरम्भ पनि यसैदिन परेको छ । कात्तिक ९ गते बुधबारदेखि नेपाल संवत् ११४३ आरम्भ हुँदैछ ।

कात्तिक १० गते बिहीबार साइत खोज्नेले बिहान ११ : ३७ बजे उत्तर फर्केर टीका लगाउनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिका बताएको छ । यस दिन दिनभर टीका लगाउनु शुभ रहेको उल्लेख गरिएको छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १० गते नै गरिन्छ ।
Source: ehimalayatimes.com


प्रकाशित : २०७९ कार्तिक ६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित