जुवा र चोरी–डकैति नियन्त्रमा विशेष जोड


यतिबेला उपत्यकावासीमा तिहारको रौनक छ । तिहारलाई यमपञ्चक पनि भनिन्छ । पाँच दिनसम्म मनाइने तिहारमा देउसी–भैलो खेल्ने, जुवातास खेलेर रमाइलो गर्ने परम्परा कायमै रहे पनि केही उऋंखल समुहका कारण वर्षेनी विभिन्न आपराधिक घटना हुँदै आएको छ । देउसी—भैलोको नाममा होहल्ला गर्ने, मादक पदार्थ सेवन गरेर झगडा गर्ने, जथभावी पटाका पड्काउने लगायतका गतिविधिले प्रहरीले आग्रह गर्दै आएको सुझाव पनि कार्यान्वयन हुन सकेको देखिँदैन । यसका अलावा राती घर छाडेर हिंड्ने र चाडपर्व मनाउन थुप्रै ब्यक्ति गृह जिल्ला फर्कने भएकाले उपत्यका प्रायः सुनसानजस्तै हुन्छ ।यसको फाइदा उठाएर चोरीका घटना बढ्ने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसैले प्रहरीले तिहारको बेला राती नौ बजेसम्म मात्र देउसी—भैलो खेल्न अनुरोध गरेको छ । तर, उचित अनुगमन नहुँदा विशेषगरि ग्रामीण भेगमा रातभर देउसी—भैलो हुँदै आएको छ ।

प्रहरीले मर्यादित एवं सभ्य तरिकाले देउसी—भैलो खेल्न अनुरोध गरेको छ । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले राती नौ बजेसम्म मात्र देउसीभैलो खेल्न उपत्यकावासीलाई अनुरोध गरिएको बताए ।

प्रहरीले आफु गाउँ जान लागेको तस्वीर समेत सामाजिक सञ्जालमा नराख्न, यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर÷छिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन पनि सर्वसाधरणलाई सूचित गरेको छ ।

उनले अवाञ्छित क्रियाकलाप भएको जस्तो लागेमा तत्कालै प्रहरीलाई खबर गर्न पनि आग्रह गरेका छन् । एसपी रिजालका अनुसार, उपत्यकामा तिहारमा करिब आठ हजारको हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् । तिहारमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी हाँक्ने चालकमाथि पनि विशेष निगरानी बढाएको छ ।यसैगरी प्रहरीले उपत्यका छिर्ने नाकाहरुमा पटाका भित्रिने आशंकामा निगरानी बढाएको छ । एसपी रिजालका अनुसार, आफ्नो टोल छरछिमेकमा जुवातास खेलेको देखेमा वा पटाका पड्काएमा पनि तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

मुलुकी अपराध संहिता—२०७४ ले विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवना हुनसक्ने व्यवस्था गरेको छ । टोलटोलमा कन्ट्रोल रुम भेइकल (सीआरभी) पठाएर मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न प्रहरीले उपत्कावासीलाई अनुरोध गरेको छ ।

तिहारमा लुटपाटका घटन बढ्न सक्नेतर्फ संकेत गर्दै प्रहरीले यात्रा गर्ने क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढकढक्याएमा नखोल्न, आफ्नो घर, छिमेक र टोलमा सिसी क्यामेरा जडान गर्न, लामो समय घरबाहिर जानुपरेमा विश्वासिलो छिमेकी र आफन्तलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीले आफु गाउँ जान लागेको तस्वीर समेत सामाजिक सञ्जालमा नराख्न सर्वसाधरणलाई सूचित गरेको छ । चाडवाडलाई लक्षित गरेर उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा बनाइएको जानकारी प्रवक्ता रिजालले दिए । उनले व्यक्ति तथा सम्पत्तिको सुरक्षा, आर्थिक कारोवार, बैंक तथा वित्तीय संस्थामा हुने चोरी लुटपाट, टिकटमा हुने ठगी बढ्न सक्ने हुनाले पैदल गस्ती, साइकल गस्ती, मोटरसाइकल गस्ती मोटर गस्ती सञ्चालन गरिएको बताए ।रिजालले बैंक तथा वित्तीय क्षेत्र, यातायात सञ्चालन हुने क्षेत्र, व्यापारिक कारोवार हुने क्षेत्र, होटल रेष्टुराँ, नाकालगायतका क्षेत्रमा विशेष गस्ती खटाइएको बताए । कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोंगबु, गौशाला, चाबहिल, कोटेश्वर र हल्चोक टिकट काउण्टरमा समेत प्रहरी खटाइएको जानकारी उनले दिएका छन् ।

तिहारमा लुटपाट र डकैती गरेर भाग्ने आपराधिक व्यक्ति तथा समूहलाई पक्राउ गर्न उपत्यकाका विभिन्न ठाउँमा कुकुरसहितको ‘धराप टोली’ (एम्बुस टीम) तैनाथ गरेको जानकारी पनि एसपी रिजालले दिए । चोरी, डकैती तथा लुटपाटका घटनापछि अभियुक्त फरार हुन नदिन काठमाडौं, ललितपुर र भक्तपुरमा डिएसपी र इन्सपेक्टरको कमान्डमा २५ टोलीलाई नाकाबन्दी र सर्च एन्ड अपरेसनमा परिचालन गरिएको छ ।

दसैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाडपर्वमा वित्तीय अपराधमा संलग्न गिरोह सक्रिय हुने भन्दै महानगरीय प्रहरीले त्यसलाई नियन्त्रण गर्न काठमाडौंका ३० ठाउँमा ‘धराप टोली’ खटाइएको छ । यसैगरी गाडी बिग्रेर हुने ट्राफिक जाम हटाउन सडक विभागले काठमाडौंको नागढुंगा र धादिङको झ्याप्लेखोलामा दुई वटा ¥याकरको व्यवस्था गरेको छ ।


प्रकाशित : २०७९ कार्तिक ६, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित