नियन्त्रणबाहिर जाँदै विश्वको तापक्रम


विश्वको तापक्रम वृद्धि २.८ डिग्री सेल्सियसतर्फ उन्मुख भएको छ। संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले एक्काइसौँ शताब्दीको अन्त्यसम्ममा विश्वको ताफक्रम २.८ डिग्री सेल्सियसले बढ्ने जनाएको हो।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (यूएनईपी)ले तयार गरेको इमिसन ग्याप रिपोर्ट २०२२ अनुसार विगतका अध्ययनले बताएकोजस्तो अब वैश्विक जलवायु परिवर्तनको परिस्थिति १.५ डिग्री सेल्सियसमा सीमित भएर पेरिस सम्झौताको लक्ष्य भेट्न सक्ने अवस्थामा छैन। अध्ययन प्रतिवेदनमा भनिएको छ, “वर्तमानमा रहेका नीतिहरूले शताब्दीको अन्त्यसम्ममा २.८ डिग्री सेल्सियसको तापक्रम वृद्धिलाई सङ्केत गर्छ। हाल विश्व समुदायले गरेका वाचा कार्यान्वयन ससर्त पालना गर्ने हो भने पनि यस शताब्दीको अन्त्यसम्म तापक्रम २.४–२.६ डिग्री सेल्सियससम्म मात्र घटाउन सकिनेछ।”

सन् २०१५ को पेरिस जलवायु सम्मेलनमा औसत तापक्रम १.५ डिग्री सेल्सियसभन्दा बढ्दै गएमा रोक्नका लागि बाध्यकारी प्रतिज्ञा तय गरिएको थियो। नयाँ प्रतिवेदनले विश्वको बढ्दो औद्योगिक वृद्धिले रोक्ने लक्ष्यमा पुग्ने कुनै विश्वसनीय बाटो नभएको घोषणा गरेको छ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अब विश्व समुदाय विश्वव्यापी तापक्रमको अर्थतन्त्रलाई नष्ट गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभएको छ। त्यसका लागि जलवायु कार्यगत एकताको तत्काल आवश्यकता रहेको उहाँले औँल्याउनुभएको छ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमका निर्देशक इङ्गर एन्डरसनका अनुसार वर्तमान अवस्थामा प्रकृतिले हरेक वर्षजसो घातक बाढी, आँधीबेहरी र आगलागीमार्फत तापक्रम बढ्दै गएको सङ्केत दिइरहेको छ। प्रतिवेदन सार्वजनिक गर्दै उहाँले तत्काल तापक्रम वृद्धि रोक्न वायुमण्डललाई हरित् गृह ग्यासले भरिनबाट रोक्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। त्यसका लागि द्रुत गतिमा नवीकरणीय ऊर्जाको प्रयोग कार्बन उपयोगमा न्यूनतालाई जोड दिनुपर्ने हुन्छ।

प्रतिवेदनका अनुसार विभिन्न मुलुकका सरकारले कार्बन प्रयोग घटाउन गरेको वाचाअनुसार काम गर्दा पनि सन् २०३० सम्म हरित् गृह ग्यास उत्सर्जनको मात्र एक प्रतिशतभन्दा कम कटौती हुनेछ। कुल ४५ प्रतिशत हरित् गृह ग्यास उत्सर्जन भएमात्र विश्वको तापक्रम १.५ डिग्री सेल्सियसमा खुम्चन सक्छ। हरेक देशले कडाइसाथ काम गरेमा जसोतसो १.८ डिग्री सेल्सियसमा सीमित गर्न सक्ने झिनो आशा रहे पनि र वर्तमान गतिविधिले त्यो बाटो स्पष्ट नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। Source: Gorkhapatra


प्रकाशित : २०७९ कार्तिक १३, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित