हतारमा कर्मचारी निकालेर पछुतायो ट्विटर


अमेरिकी माइक्रोब्लगिङ वेबसाइट ट्विटरले शुक्रवार कामबाट निकालेका दर्जनौं कर्मचारीहरूलाई कम्पनीमा पुनः फर्किन अनुरोध गरेकाे छ । ट्विटरका मालिक एलन मस्कले दैनिक रूपमा ४० लाख डलर घाटा बेहोरिरहेको भन्दै शुक्रवार तीन महीनाको तलब दिएर ट्विटरका ५० प्रतिशत कर्मचारीलाई कामबाट निकालेका थिए ।

धेरैजसो देशबाट आधाभन्दा धेरै कर्मचारीलाई निस्कन भनिएको थियो । तर, यीमध्ये केही दर्जन कर्मचारीहरूलाई झुक्किएर निकालिएको भन्दै कम्पनीले उनीहरूलाई फर्किन अनुरोध गरेको स्रोतलाई उद्धृत गर्दै समाचारहरू छापिएका छन् ।

मस्कले कम्पनीमा परिकल्पना गरेका नयाँ फिचरका लागि आवश्यक काम र अनुभव भएका कर्मचारीहरूलाई समेत निकालिएका कम्पनी व्यवस्थापनले महसुस गरेको नाम गोप्य राख्ने शर्तमा स्रोतले बताएका छन् । कम्पनीले शुक्रवार झन्डै ३ हजार ७०० कर्मचारीलाई मेलमार्फत जागिरबाट निकालिएको पत्र पठाएको थियो । यसरी निकालिएका कर्मचारीहरूको कम्पनीको इमेल र स्ल्याकमा पहुँच बन्द गरिएको थियो ।

दुई दिन नबित्दै कर्मचारीलाई फर्किन गरिएको यस अनुरोधले मस्कले कति हतार र अव्यवस्थित रूपमा कर्मचारी कटौती गरेछन् भन्ने उजागर गरेको छ । निकालिएका केही कर्मचारीलाई पुनः नियुक्त गरिने खबर सबैभन्दा पहिला प्लेटफर्मरले दिएको थियो ।

कम्पनीले दिनहुँ ४० लाख डलर घाटा बेहोरिरहेको भन्दै मस्कले कर्मचारी आधामा झार्नुबाहेक अन्य कुनै विकल्प नभएको भन्दै शुक्रवार एक ट्विटमा भनेका थिए । ट्विटरमा अब करीब ३ हजार ७०० कर्मचारी बाँकी भएको स्रोतले बताएको छ ।

कम्पनीमा रहेका कर्मचारीहरूलाई मस्कले तत्कालै नयाँ फिचर ल्याउन दबाब दिइरहेका छन् । मस्कले दिएको समयसीमामा काम पूरा गर्न केही कर्मचारीहरू रातिसमेत कार्यालयमै सुतेर काम गरिरहेका छन् । सप्ताहन्तमा ट्विटरले ट्विटर ब्लु योजना शुरु गरेको थियो । कम्पनीले छिट्टै अन्य फिचरहरू ल्याउने बताइएकाे छ । Source: Abhiyan 


प्रकाशित : २०७९ कार्तिक २१, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित