पुस्तकमा ल्याए अमृत दोर्जेले आफ्नै कथा


मजदुर हुँदै ट्रेड युनियनको नेतृत्व तहमा पुगेर सफलता हाँसिल गरेका अमृत दोर्जेले आत्म कथालाई पुस्तकको रुपमा बजारमा ल्याएका छन् । उनले लेखेको आत्मकथा ‘पर्खाइ’को सोमबार काठमाडौंमा लोकार्पण गरियो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेलले चुनावी चटारोलाई केही क्षण बिर्सँदै सो कार्यक्रममा दोर्जेको यो पुस्तक बिमोचन गरे ।

काभ्रेको तेमाल गाउँबाट पाँच दशकअघि राजधानी पसेका दोर्जेले बसाइँ सराईदेखि उतिबेलाको काठमाडौंको अवस्था, श्रमिकहरुको कथा व्यथा, पेशागत संघर्ष र ट्रेड युनियन राजनीतिसम्मलाई पुस्तकमा समेटेका छन् । आफुले देखेका र भोगका कुराहरुलाई उनले निकै रोचकसँग पुस्तकमा उतारेका छन् ।

बिमोचन समारोहमा बोल्दै एमाले नेता इश्वर पोख्रेलले यो पुस्तक पढेर आफु निकै प्रभावित भएको बताए । पुस्तकमा दोर्जेको संघर्ष र सफलताको कथा समेटिएको औंल्याउँदै उक्त कथाले नयाँ पुस्तालाई उत्प्रेरणा दिलाउने उनले कार्यक्रममा जिकिर गरे ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै महिला नेतृ राधिका शाक्यले दोर्जेको दुःख र संघर्षका कथाबाट समाजले पाठ सिक्नुपर्ने भनाई राखिन् । यस्ता कथा अहिलेको पुस्ताले पढेको खण्डमा उनीहरुमा सँघर्ष गर्ने क्षमता बढ्ने उनको कथन थियो ।

बुढानीलकण्ठ नगरपालिका उप–मेयर तथा लेखककी छोरी अनिता लामाले पुरानो पुस्ताको अनुभव र समयलाई लिपिबद्ध गर्ने उदेष्यसाथ पुस्तक प्रकाशन गरिएको जनाइन् । यस्तै अग्रज साहित्यकार स्नेह सायमीले राम्रो पुस्तक लेखेकोमा दोर्जेलाई शुभकामना दिँदै आममान्छेले भोग्ने दुःख, पीडा र संघर्षको कथा यो पुस्तकमा समेटिएको छ भने ।Source : Rajdhani


प्रकाशित : २०७९ कार्तिक २२, मंगलवार

प्रतिक्रिया
भर्खरै प्रकाशित