घरमा मतदाता नभेटिँदा घरमा पर्चा छोडेर हिँड्दै उम्मेदवार


यतिबेला जिल्लाका किसान खेतखेतमा छन् । उनीहरू धान थन्क्याउन, खेत खनजोत गर्न र तरकारी लगाउनमा व्यस्त छन् । यही समयमा परेको निर्वाचनको किसानलाई चासो छैन । मत माग्न पुगेका उम्मेदवार पर्चा घरमा छाडेर हिँड्ने गरेका छन् । कतिपय उम्मेदवार खेतबारीमै पुग्ने गरेका छन् ।

भोट माग्न खेतमा पुगेका उम्मेदवारलाई समय नमिलाई निर्वाचन तोकेको भन्दै कतिपयले गालीसमेत गर्ने गरेका छन् । कतिपयले समयमा मल नपाएको गुनासो उम्मेदवारलाई गर्ने गरेका छन् । चितवनको मध्य र पश्चिम क्षेत्रमा धान थन्क्याउने चटारो छ भने पूर्वी क्षेत्रमा धानपछिको बाली र तरकारी लगाउनमा किसानको व्यस्तता छ ।

भरतपुर महानगरपालिका-१५ का चन्द्रप्रसाद अधिकारी यतिबेला खेतमा व्यस्त छन् । आफूले लगाएको चार बिघा १० कठ्ठाको धान थन्क्याउने र नयाँबाली लगाउन उनलाई भ्याइनभ्याई छ । अधिकारीले भने, ‘चुनावको कुरा गर्ने फुर्सद पनि छैन ।’ कुन उम्मेदवारलाई भोट दिने भन्ने विषय खेतबारीमै चर्चा हुने गरेको छ ।

अर्मपर्म गरेर खेतीपाती थन्क्याउने क्रममा उम्मेदवारबारे छलफल हुने गरेको भए पनि धेरै किसानले उम्मेदवार छान्न नभ्याएको अधिकारी बताउँछन् । निर्वाचनको मिति तोक्नेले किसानका लागि समय नमिलाएको उनको गुनासो छ । गुञ्जानगरका विष्णु ढकालले सबै खेतबारीमा भएकाले उम्मेदवारले मतदाता भेट्न नसकेको बताए । उनले भने, ‘खेतखेतमा पुग्न उम्मेदवारलाई पनि गाह्रै भयो, किसानले पनि यो बेला काम नगरी हुँदैन ।’

गाउँका स्थानीय नेतासमेत किसान हुने भएकाले चुनावी प्रचारप्रसार र घरदैलोसमेत प्रभावित हुने गरेको छ । यस अघिका निर्वाचनमा ठूलो संख्यामा उपस्थिति देखिने गरेको भए पनि यतिबेला कम मात्रै मानिसको उपस्थिति रहने गरेको छ । ढकालले भने, ‘यो त धान थन्क्याउने र बाली लगाउने बेला हो, किसानका लागि उपयुक्त समय होइन ।’ केही अघि वा पछि गरिदिएको भए सजिलो हुने उनको सुझाव छ ।

माडी नगरपालिका-७ का नारायणप्रसाद काफ्ले यो खेती थन्क्याउने र लगाउने समय भएकाले निर्वाचनबारे सोच्न नभ्याएको बताउँछन् । किसानहरू आफ्नै कामको माचोका कारण चुनावी कार्यक्रममा निस्किन नभ्याएको उनको भनाइ छ । काफ्लेले भने, ‘थान थन्क्याउन र तोरी लगाउने चटारो छ, दुई–चार दिन अझै चुनावबारे सोच्ने फुर्सद छैन ।’

पूर्वी चितवनमा यतिबेला किसान तोरी र तरकारी लगाउन बढी व्यस्त छन् । भोट माग्न पुगेका उम्मेदवारलाई उनीहरूले समयमा मल नपाएको भन्दै गुनासो गर्ने गरेका छन् । आउँदो वर्षबाट मलको अभाव नहुने गरी काम गर्न उनीहरूले सुझाव दिने गरेका छन् ।

मतदाता घरमा नभेटिएपछि उम्मेदवारलाई पनि निकै कठिन हुने गरेको छ । केही दिनअघि भरतपुरमा पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ का उम्मेदवार डा. भोजराज अधिकारीले किसान घरमा नभेटिँदा घरदैलो अभियानमा उपस्थिति सोचे जस्तो नभएको गुनासो गरेका थिए ।

प्रत्यक्ष रूपमा मतदाता भेट्न नपाउँदा उम्मेदवारलाई सन्तुष्टि नमिलेको उनले बताए । कृषि ज्ञान केन्द्र भरतपुरका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यो समय धान थन्क्याउने र नयाँ बाली लगाउने बेला भएको बताए । किसान सबै समय व्यस्त हुने भए पनि यो समय बढी नै परिश्रम गर्नुपर्ने समय भएको उनले बताए । किसानले धान थन्क्याएपछि खेतमा जोतेर हिउँदे बाली लगाउने समय भएको उनको भनाइ छ । Source : Abhiyan 


प्रकाशित : २०७९ कार्तिक २४, बिहीबार

प्रतिक्रिया
भर्खरै प्रकाशित