निर्वाचनमा ३ लाख सुरक्षाकर्मी फिल्डमा


आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी करिब ३ लाख सुरक्षाकर्मी फिल्डमा पुगेका छन् ।

हाल, चारै सुरक्षा निकायले जिम्मेवारीअनुसार फिल्डमा अपरेसन सुरु गरिसकेका छन्् । उनीहरूले मतदान र केन्द्र रहने स्थान’round गस्तीसहित सूक्ष्म निगरानी थालिसकेका छन् । सरकारले निर्वाचनका लागि तीन तहको सुरक्षा घेरासहितको एकीकृत निर्वाचन सुरक्षा योजना बनाएर सुरक्षाकर्मी खटाएको हो ।

सरकारले बनाएको सुरक्षा योजनाअनुसार बाहिरी अर्थात् पहिलो घेरामा नेपाली सेना र दोस्रो तहको घेरामा सशस्त्र प्रहरीले सुरक्षा दिनेछ । सशस्त्रले जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृत कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको सुरक्षाको जिम्मा पनि पाएको छ । मतदान र मतदान केन्द्रको भित्री सुरक्षामा नेपाल प्रहरी र म्यादी प्रहरी रहने छन् ।

सरकारले गत स्थानीय तह निर्वाचन र त्यसअघि २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि यस्तै सुरक्षा रणनीति कायम गरी सुरक्षाकर्मी खटाएको थियो ।

गृह प्रवक्ता (सहसचिव) फणिन्द्रमणि पोखरेल अघिल्ला निर्वाचनमा जस्तै तीन तहको सुरक्षा घेरामा सुरक्षाकर्मी रहने जानकारी दिन्छन् । ‘प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तीन तहको सुरक्षा घेरा रहन्छ, सबैभन्दा बाहिर सेनाको सुरक्षा हुन्छ, त्यसपछि सशस्त्र प्रहरी र सबैभन्दा भित्र नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन्,’ गृह प्रवक्ता पोखरेलले राजधानीसँग भने, ‘राष्ट्रिय अनुसन्धान विभागबाट पनि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।’

अनुसन्धान विभागबाट परिचालित सुरक्षाकर्मी भने निर्वाचन सूक्ष्म निगरानी, अवस्था विश्लेषण र गोप्य सूचना संकलनमा केन्द्रीत रहने छन् ।
निर्वाचनका लागि ७५ हजार सेना परिचालन गरिएको छ । नेपाल प्रहरीबाट ७१ हजार ६ सय ९३ तथा सशस्त्र प्रहरीबाट ३५ हजार सुरक्षाकर्मी खटाइएको छ ।

त्यस्तै, १ लाख १५ हजार म्यादी प्रहरीसमेत फिल्डमा पुगिसकेका छन्् । अनुसन्धान विभागबाट २ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले सेनाले पाएको जिम्मेवारीअनुसार निर्वाचन सुरक्षाका लागि सेना फिल्डमा परिचालन भइसकेको जानकारी दिए । ‘सेनाले पाएको म्यान्डेटअनुसार फिल्डमा तैनाथ भइसकेको छ, ७७ वटै जिल्लामा सेना खटिसकेको छ,’ सैनिक प्रवक्ता सिलवालले राजधानीसँग भने ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले नेपाल प्रहरी पनि निर्वाचनको आवश्यक सुरक्षा तयारीसहित फिल्डमा पुगिसकेको जानकारी दिए । काठमाडौंबाट मात्रै ११ हजार सुरक्षाकर्मी बाहिरी जिल्ला पठाइएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता पुरुषोत्तम थापाका अनुसार सशस्त्र प्रहरी बलबाट निर्वाचनमा लागि आवश्यक जनशक्ति फिल्डमा परिचालन भइसकेको छ ।

‘१ सय ६५ वटै निर्वाचन क्षेत्रमा डीएसपीको कमाण्डमा टोली परिचालित भइसकेको छ, मोबाइल गस्ती, पिकेटिङ जारी छ, आवश्यक सबै तयारीसहित सशस्त्र फिल्डमा पुगिसकेको छ,’ सशस्त्र प्रहरी प्रवक्ता थापाले भने ।

गत ३१ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका लागिसमेत सरकारले तीन घेरामा नै सुरक्षाकर्मी परिचालन गरेको थियो । त्यसबखत नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी र म्यादी प्रहरी गरी २ लाख ६८ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

त्यसबखत नेपाल प्रहरीबाट ६२ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो भने सशस्त्र प्रहरीबाट ३२ हजार, नेपाली सेनाबाट ७१ हजार र अनुसन्धान विभागबाट ३ हजार तथा म्यादी प्रहरी १ लाख खटाइएको थियो ।

७७९ स्थानमा सेनाको फौज

आसन्न निर्वाचनका लागि देशका ७७ वटै जिल्लाका ७ सय ७९ स्थानमा सेनाको फौज परिचालन भएको छ । सेनाले निर्वाचनका लागि केन्द्र, प्रदेश र जिल्लागत रूपमा एकीकृत निर्वाचन सुरक्षाकक्ष स्थापना गरी निर्वाचन सुरक्षासम्बन्धी गतिविधि अघि बढाएको हो ।

सेनाबाट मतदानस्थल सुरक्षा, मतदान सामग्री ढुवानी, जगेडा, हवाई गस्तीलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सुरक्षाका लागि करिब ७५ हजार जनशक्ति खटिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाले मतदानस्थलमा बाहिरी घेरामा रही सुरक्षा प्रदान गर्ने छ । सेनाले निर्वाचन सुरक्षाका सन्दर्भमा हालसम्म ८ सय ३२ बम डिस्पोजन टोली परिचालन गरिसकेको छ भने बाँकी १ सय ४३ टोली तयारी अवस्थामा रहेको बताएको छ ।

सेनाले निर्वाचनका समय हुनसक्ने दुर्घटना लक्षित गर्दै पाँच स्थानमा हेलिकोप्टर तैनाथी अवस्थामा राख्दै छ । सेनाले इटहरी र सुर्खेतमा हेलिकोप्टर तयारी अवस्थामा राखिसकेको छ ।

२४ कात्तिकबाटै सुर्खेतमा एमआई १७ र ईसीयू हेलिकोप्टर तैनाथ छन् । सेनाले बर्दिवास र पोखरामा पनि हेलिकोप्टर राख्ने तयारी गरेको छ । आवश्यकताअनुसार काठमाडौंमा रहने सेनाको हेलिकोप्टर पनि अन्यत्र पठाउने तयारी छ ।

सेनाले हरेक मतदान केन्द्रमा बढीमा ३० मिनेटभित्र पुग्न सक्नेगरी तयारी गरेको हो । सेनाले हाल १ सय ६ महत्वपूर्ण संरचना कारागार, विमानस्थललगायत तैनाथ रहेर सुरक्षा प्रदान गर्दै आएको छ ।Source: Rajdhani


प्रकाशित : २०७९ कार्तिक २७, आईतवार

प्रतिक्रिया
भर्खरै प्रकाशित