सर्लाहीमा निर्वाचन तयारी पूरा, करिब ५ हजार जनशक्ति परिचालन


मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निार्वचनका लागि सर्लाहीमा कर्मचारी व्यवस्थापनको काम सम्पन्न भएको छ । जिल्लाका सबै मतदानस्थल र मतदान केन्द्रका लागि करिब ५ हजार जना जनशक्ति परिचालन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।

 

निर्वाचनका लागि सर्लाहीमा ४ हजार ८ सय २० जना कर्मचारी मतदान केन्द्रमा खटिने सर्लाहीका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिए ।

 

जिल्लाका ६ सय वटा स्थायी मतदान केन्द्र तथा ३ वटा अस्थायी मतदान केन्द्र गरी जम्मा ६ सय ३ मतदान केन्द्रमा ११ जना जगेडा कर्मचारीसहित ४ हजार ८ सय २० जना कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताए । उनका अनुसार १ जना कर्माचारीहरु जगेडा मतदान अधिकृत राखिएको छ ।

 

जिल्लामा ३ सय १२ वटा स्थायी मतदानस्थल तथा ३ वटा अस्थायी मतदानस्थल गरी जम्मा ३ सय १५ मतदानस्थल रहेका छन् । ४ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र र ८ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीमा ६ सय १४ मतदान अधिकृत, ६ सय जना सहायक मतदान अधिकृत, ३ हजार ३ जना सहायक कर्मचारी र ६ सय ३ जना  सहयोगी कर्मचारी मतदान गराउन खटाउन लागिएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

 

‘जिल्लाका २ सय ५८ मतदानस्थलका ४ सय ९९ मतदान केन्द्र र २ अस्थायी मतदान केन्द्रसहित ५ सय १ वटा केन्द्रका लागि मतदान अधिकृतसहितका आवश्यक जनशक्ति व्यवस्थापन गरिएको छ,’ मुख्य निर्वाचन अधिकृत न्यौपानेले भने, ‘उनीहरुलाई धमाधम अभिमुखीकरण तालिम दिएर नियुक्ति दिँदै सम्बन्धित केन्द्रमा पठाइँदै छ ।’

 

जिल्लाभरिमा तोकिएका मतदान केन्द्र र दुई अस्थायी केन्द्र सैनिक ब्यारेकसहितमा सुरक्षाको समेत सम्पूर्ण काम सकिएको छ । मतदान कार्यका लागि दक्ष जनशक्ति व्यवस्थापन भएको छ । मतदान केन्द्रको मतदाता संख्या र संवेदनशीलतालाई मध्यनजर गर्दै ३ देखि ८ जनासम्मको जनशक्ति खटाइएको मुख्य निर्वाचन अधिकृत न्यौपानेको भनाइ छ ।

 

यस्तै सबै मतदान केन्द्रमा मतदान सामग्री, मतपत्र र अन्य बन्दोबस्तीका समानहरु पुगिसकेको जनाइएको छ । सबै मतदान केन्द्रका लागि आवश्यक जनशक्ति र सामग्री बन्दोबस्तको काम सकिएपछि अब मतदान पूर्वतयारीको काम, मतपत्र प्याकिङ, सर्टिङ, रुजु र शिलबन्दीको काम शुरु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका निर्वाचन अधिकृत निर्मल पोख्रेलले बताए ।

 

चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्र रहेको जिल्लामा निर्वाचनका लागि ४ लाख ९७ हजार ३८ जना मतदाता रहेका छन् । तीमध्ये सबैभन्दा बढी क्षेत्र नं ३ मा १ लाख २७ हजार ८ सय ३४ जना मतदाता रहेका छन् । सबैभन्दा कम क्षेत्र नम्बर ४ मा १ लाख १२ हजार ४ सय ९४ जना मतदाता रहेका छन् । यसैगरी सर्लाही क्षेत्र नम्बर १ मा १ लाख २२ हजार ४ सय ८७ जना र क्षेत्र नं २ मा १ लाख १६ हजार २ सय २३ जना मतदाता रहेका छन् ।


प्रकाशित : २०७९ कार्तिक २८, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित