
विवाहको लगन नजिकिएसँगै सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यही कात्तिक १८ गतेयता सुनको भाउ तोलामा ५ हजार १०० रूपैयाँ बढेको छ ।
गत कात्तिक १८ गते तोलाको ९३ हजार १०० रूपैयाँ रहेको सुन मंगलवार (आज) तोलाको ९८ हजार २०० रूपैयाँ छ । त्यस अवधिमा सुनको भाउमा उतारचढावसमेत देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य अन्तरराष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको बताउँछन् । उनका अनुसार अहिले अन्तरराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंश ११० डलरसम्म बढेको छ । ‘केही दिनअघि प्रतिऔंश १६६० अमेरिकी डलर रहेको सुनको भाउ अहिले १७७० पुगेको छ,’ उनले भने ।
विवाहको लगन (मंसिर) नजिकिँदा सुनको माग बढेकाले मूल्यमा प्रभाव परेको उनको भनाइ छ । ‘विवाहका लागि मान्छेहरू अहिलेदेखि नै सुन किन्न थालेका छन्,’ उनी भन्छन् ।
सुन किन्नेहरू बढेसँगै खपत पनि बढेको उनको भनाइ छ । उनका अनुसार सामान्य अवस्थाभन्दा अहिले सुनको खपत दोब्बर छ । ‘सामान्य अवस्थामा दैनिक २०–२५ किलो सुन खपत हुन्थ्यो । अहिले कुनै दिन त ५० किलो सुन खपत हुने गरेको छ,’ उनले भने ।
सुनको भाउ बढेपछि उपभोक्ता मर्कामा छन् । काठमाडौं, अनामनगर बस्ने ३४ वर्षीया प्रतिक्षा साउद सुनकाे भाउ बढ्दा विवाहकाे समयमा महँगाेमा किन्नुपरेकाे गुनासाे गर्छिन् ।
एकै दिन बढ्याे ताेलामा १ हजार रूपैयाँ
नेपाली बजारमा सुनको मूल्य एकै दिन हजार रूपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार (आज) सुनको मूल्य ९८ हजार २०० रूपैयाँ कायम भएको छ । गत सोमबार सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकिएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँ बढेर १ हजार ३२५ रूपैयाँ पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।