निर्वाचनलाई असर गर्ने गतिविधि नियन्त्रण गर्न सरकार सक्षम छ : गृह मन्त्रालय


सरकारले निर्वाचनलाई असर गर्ने खालका गतिविधि नियन्त्रण गर्न सक्षम रहेको बताएको छ।  शुक्रबार निर्वाचन पूर्व तयारीको सम्बन्धमा जानकारी दिन गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनलाई असर गर्ने खालका क्रियाकलापलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएको हो।

पत्रकार सम्मेलनमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले अराजक र हिंसात्मक गतिविधि गर्ने व्यक्ति तथा समूहलाई कानुनी दायरामा ल्याइने बताउनुभयो। उहाँले मतदानलाई असर पर्ने खालका कुनै पनि गतिविधि हुन नदिने स्पष्ट पार्नुभयो।  उहाँले कर्मचारी, मतदाता, उम्मेदवार र मतपेटिकालगायत मतदान सामग्रीको सुरक्षामा खतरा पैदा हुने कुनै पनि क्रियाकलाप सह्य नहुने बताउनुभयो। त्यस प्रकारका गतिविधिलाई सरकारले कडाइपूर्वक नियन्त्रण गर्ने उहाँको भनाइ छ।

‘शान्तिपूर्ण रुपमा चुनाव बहिष्कार गर्नेसँग एग्रेसिभ रुपमा हामी थिएनौँ। तर केही दिन यता केही हिंसात्मक विषय देखिने सम्भावना देखिएको छ। त्यसैले अहिले एक किसिमले जिरो टोलेरेन्समा हामी छौँ। त्यस्ता खालका गतिविधि र क्रियाकलाप गर्ने समूह, व्यक्ति, संगठनलाई कानुनी दायरामा ल्याउने गरिरहेका छौँ’, उहाँले भन्नुभयो।

गृहसचिव सिंहले मतदानस्थलमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन निर्देशन दिइएको जानकारी गराउनुभयो। निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्नेगरी काम गर्ने कर्मचारीलाई कारबाही गरिने उहाँले स्पष्ट पार्नुभयो। उहाँले कर्मचारीलाई कुनै पार्टी, उम्मेदवार वा आस्थाप्रति झुकाव हुनेगरी क्रियाकलाप नगर्न निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो, ‘मतदानस्थलमा खटिने कर्मचारी, सुरक्षाकर्मी सम्पूर्णलाई स्पष्ट निर्देशन छ, हाम्रो दायित्त्व भनेको निष्पक्ष, भयरहित र शान्तिपूर्ण। निष्पक्षता भनेको सबैभन्दा पहिला हामीबाटै हुन्छ। त्यसमा म पूर्ण रुपमा विश्वस्त छु र विश्वास दिलाउन चाहन्छु त्यसमा हामी प्रतिबद्ध छौँ।’’ Source: Gorkhapatra 


प्रकाशित : २०७९ मंसिर २, शुक्रबार

प्रतिक्रिया
भर्खरै प्रकाशित