कर्णालीका तीन जिल्लामा भाेलिसम्ममा मतपेटिका सङ्कलन हुने


कर्णालीका तीन जिल्लामा मङ्गलवारसम्ममा मतपेटिका सङ्कलन हुने भएको छ । हुम्ला, मुगु र डोल्पामा भोलि मङ्गलवारसम्म मतपेटिका जिल्ला सदरमुकाममा आइपुग्ने भएको हो । मत सङ्कलन भएपछि मात्रै मतगणना सुरु हुनेछ ।

सुर्खेतको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जाजरकोटमा आज बेलुका र रुकुम पश्चिममा दिउँसोसम्म मतपेटिका सङ्कलन हुने जानकारी दिनुभयो ।

माथिल्लो कर्णालीका तीन जिल्लाबाट आजै मतपेटिका जिल्ला आउने अवस्था नरहेको उहाँले बताउनुभयो ‘भौगोलिक विकटताका कारण सबै जिल्लाका मतपेटिका जिल्लामा आइपुगेका छैनन्,’ प्रहरी नायब महानिरीक्षक पोखरेलले भन्नुभयो, ‘हुम्ला, मुगु, र डोल्पा जिल्लामा भोलिसम्म मतपेटिका जिल्लामा आइपुग्ने देखिन्छ । रुकुम पश्चिममा आज दिउँसोसम्म मतपेटिका आइपुग्दैछ ।’

उहाँका अनुसार कर्णालीका सुर्खेत, जुम्ला र सल्यान, दैलेख र कालीकोटमा मतगणनाका लागि सर्वदलीय बैठक बस्दैछ । हुम्लाको उत्तरी भेग र डोल्पाको माथिल्लो क्षेत्रको मतपेटिका सङ्लनका लागि हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ ।

हुम्ला जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी श्याम रानाले नाम्खा गाउँपालिको हल्दीदाङ, तिल, सर्केगाड, चङ्गेली, ताँजाकोट र अदानचुली गाउँपालिकाबाट मतपेटिका आइनपुगेकाले हेलिकप्टर माग गरिएको जानकारी दिनुभयो ।

डोल्पाका निर्वाचन अधिकारी रामबहादुर शाक्यले माथिल्लो डोल्पामा पर्ने छार्काताङ्सोङ से–फोक्सुन्डो, डोल्पोबुद्ध गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका हेलिकप्टरबाट ल्याउने भनिए पनि अहिलेसम्म हेलिकप्टर पुग्न नसकेको बताउनुभयो ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जिल्लाका सबै पालिकामा सडक नजोडिएकोले दुई दिनको बाटो हिँडेर मतपेटिका सदरमुकाम गमगढी ल्याउने काम भइरहेको उल्लेख गर्नुभयो । सबै पालिकाको मतपेटिका सदरमुकाम पुगेपछि भोलिदेखि मतगणना सुरु हुने उहाँले जनाउनुभयो । महतकाअनुसार हुम्ला, डोल्पा र मुगुमा भोलिदेखि मात्र मतगणना हुनेछ ।Source :Ujyaalo


प्रकाशित : २०७९ मंसिर ५, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित