विश्वकप फुटबलको भव्य उद्घाटनः आयोजक कतार पराजित


दोहा । आयोजक कतार विश्वकप फुटबलको उद्घाटन खेलमा पराजित भएको छ । ऊ इक्वेडरसँग २–० ले पराजित भएको हो । इक्वेडरलाई जिताउन दुवै गोल इनर भ्यालेन्सियाले गरे । १६ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका उनले ३१ औं मिनेटमा अग्रता दोब्बर पारे । अफ्रिकी कप अफ नेसन्स च्याम्पियन सेनेगेल र युरोपको शत्तिशाली नेदरल्याण्ड्स रहेको समूहमा परेको कतारलाई इक्वेडरसँगको खेल सहज मानिएको थियो । तर कतारले आशा गरे अनुसार खेल्न सकेन ।

फिफा विश्वकप कतार २०२२ को आइतबार राति एक समारोहीच भव्य उद्घाटन भएको थियो । कतार र इक्वेडर भिड्नुअघि ३० मिनेट चलेको उद्घाटन सत्रमा विभिन्न ७ प्रस्तुति देखाइएको थियो । कतारको अलखोरस्थित अल बेयत रंगशालामा हुने समारोहमा विश्व प्रसिद्ध दक्षिण कोरियाली ब्यान्ड बिटीएसका जुङ कुक र कतारी गायक फाहाद अल–कुबाइसीले प्रस्तुति दिनेछन् ।

उद्घाटन समारोहमा एकताको संदेश दिने प्रस्तुति देखाइएको थियो । प्रस्तुतिमा विश्वकपमा सहभागी ३२ राष्ट्रको संस्कृति, विगतका आयोजक राष्ट्र र प्रतियोगिताका स्वयंसेवकको प्रतिनिधित्व रहेको थियो । सयौंको संख्यामा रहेका कलाकारले प्रस्तुति दिएका थिए ।

यसपटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउनेछन् । फाइनल ३ पुसमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपटक जाडो मौसममा विश्वकप हुँदै छ ।

अहिलेसम्म विश्वकप फुटबलको २१ संस्करण भइसक्दा जम्मा ८ राष्ट्रले उपाधि जितेका छन् । अहिलेसम्म ब्राजिलले सर्वाधिक ५ पटक, इटाली र जर्मनी (पश्चिम जर्मनीसहित) समान ४ पटक तथा उरुग्वे, अर्जेन्टिना र फ्रान्सले समान पटक विश्वकप जितिसकेका छन् । इंग्ल्यान्ड र स्पेनले समान १ पटक विश्वकप जितेका छन् । अहिलेसम्म १३ राष्ट्रले विश्वकप फाइनल खेलेका छन् । पाँच राष्ट्र फाइनलमा पुगेर असफल भएका छन् ।

चेकोस्लोभाकिया, हंगेरी, स्विडेन, नेदरल्यान्ड्स क्रोएसियाले विश्वकप फाइनलमा पुगेर पनि उपाधि जित्न सकेका छैनन् । आयोजकको हैसियतले सोझै विश्वकप खेल्न लागेको खाडी मुलुक कतारले चुनौतीका बावजुत विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरिसकेको छ । विश्वकपको इतिहासमा पहिलोपल्ट जाडोको मौसममा विश्वकप हुँदै छ । कतारमा अत्यधिक गर्मी हुने भएकाले यसपटक विन्टरमा विश्वकप हुन लागेको हो ।

सबै रंगशालामा सोलार प्यानल फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ । विश्वकप खेलिने आठवटै रंगशाला दोहाबाट २१ माइल (३३.७९ किलोमिटर) दूरीमा अवस्थित छन् । सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । यसले गर्दा समर्थकले धेरैभन्दा धेरै खेल हेर्न पाउनेछन् । कतार विश्वकपमा यसपटक पनि अघिल्लो संस्करणमा जस्तै ६४ खेलमा प्रतिस्पर्धा हुँदै छ ।

बेन्जेमा विश्वकपबाट बाहिर
फ्रान्सका स्टार फरवार्ड करिम बेन्जेमा आज (आइतबार) देखि सुरु हुने फिफा विश्वकप कतार २०२२ बाट बाहिरिएका छन् । प्रशिक्षण दौरान तिघ्रामा चोट लागेपछि बेन्जेमा विश्वकप गुमाउने अर्काे ठूलो नाम हो । क्रिस्टोफर एनकुन्कु पनि बाहिरिएका छन् । उनको स्थानमा रान्डल कोलो मुआनीलाई टोलीमा समावेश गरिएको छ । चोटकै कारण मिडफिल्डर पउल पोग्बा र एङ्गोलो कान्टे पनि टोलीमा छैनन् । डिफेन्डर राफायल भरान पुनरागमनको प्रयासमा छन् ।

फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ)ले उनलाई तिघ्रामा समस्या भएको र प्रतियोगितामा सहभागी हुन नसक्ने बताएको छ । ‘सम्पूर्ण टोलीले करिमको दुःख साझा हो, उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । एमआरआई स्क्यानले तिघ्राको मांसपेशीमा चोट लागेको पुष्टि गरेको छ । यो पूर्ण रूपमा ठीक हुन कम्तीमा तीन साता लाग्नेछ । फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका ३४ वर्षीय बेन्जेमाको चोट विश्वकपका लागि अर्को झट्का हो ।

चोटकै कारण बेन्जेमाले यो सिजन धेरै खेल खेलेका छैनन् । गत सातादेखि टोलीसँगै प्रशिक्षणमा रहेका बेन्जेमाले शनिबार प्रशिक्षणमा चोट बोकेका थिए । त्यसपछि बेन्जेमाले चिकित्सा परीक्षण गराएका थिए । ‘म करिमका लागि धेरै दुःखी छु जसले यो विश्वकप गुमाउनेछन्,’ डेसच्याम्प्सले भने, यस नयाँ झट्काको बाबजुद पनि, मलाई मेरो समूहमा पूर्ण विश्वास छ । हामीले पर्खिरहेको ठूलो चुनौतीलाई सामना गर्न हामी सबै गर्नेछौं ।’

गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग र ला लिगा जिताएका बेन्जेमाले २०२२ को बालोन डी’ओर र वर्षको उत्कृष्ट खेलाडी बनेका थिए । समूह ‘डी’मा फ्रान्सले नोभेम्बर २२ मा अस्ट्रेलिया, २६ नोभेम्बरमा डेनमार्क र ३० नोभेम्बरमा ट्युनिसियासँग खेल्नेछ ।

माने पनि बाहिरिए
सेनेगलका कप्तान साडियो मानेले विश्वकप २०२२ गुमाउने भएका छन् । चोटका कारण टिममा परे पनि साडियो मानेले विश्वकप गुमाउने भएका हुन् । दुई साताअघि जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखका फरवार्ड मानेले वेर्डर ब्रेमेनविरुद्धको खेलमा चोट लागेको थियो । तर, उनलाई समेट्दै सेनेगलले विश्वकप खेल्ने टिमको घोषणा गरेको थियो ।

बिहीबार खुट्टाको शल्यक्रियापछि उनले विश्वकपका सबै खेल गुमाउने भएका हुन् । योसँगै समूह ‘ए’मा रहेको सेनेगललाई ठूलो झड्का लागेको छ । मानेकै उत्कृष्ट प्रदर्शनमा सेनेगललाई विश्वकपमा पु-याएका थिए । तर, उनै मानेबिनै सेनेगलले विश्वकप फुटबल खेल्ने भएको हो ।

समूह ‘ए’मा सेनेगलसँगै आयोजक राष्ट्र कतार, इक्वेडर र नेदरल्यान्ड्स छन् । सेनेगलले आफ्नो पहिलो खेल मंसिर ५ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । त्यस्तै, ९ गते कतारसँग खेल्ने सेनेगलले मंसिर १३ गते इक्वेडरसँग खेल्नेछ


प्रकाशित : २०७९ मंसिर ५, सोमबार

प्रतिक्रिया
भर्खरै प्रकाशित